शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरका विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद

बिहीबार, ०४ माघ २०८०, १५ : १५
बिहीबार, ०४ माघ २०८०

चितवन । भरतपुर महानगरपालिकाले विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद गरेर नष्ट गरेको छ । बुधबार भरतपुरका विभिन्न विद्यालय क्षेत्रमा अनुगमन गरेर सुर्तीजन्य पदार्थ बरामद गरी नष्ट गरिएको हो । 

नागरिकको गुनासो र उजुरीका आधारमा विद्यालय क्षेत्रका पसलमा अनुगमन गरिएको भरतपुर महानगरपालिका उपभोक्ताहित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत थानेश्वर सापकोटाले बताए । विद्यालय र स्वास्थ्य कार्यालयको वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने भएकाले अनुगमन गर्दै कडाइका साथ कार्यान्वयन गराइने उनले बताए ।

अनुगमन टोलीले भरतपुर–१ पोखराबसपार्कस्थित आदिकवि भानु मावि, रामनगरस्थित रामनगर मावि र भरतपुर–२९ स्थित जुगेडी मावि वरपरका पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा विद्यालय क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्ने गरेको भेटिएपछि चुरोट, सुर्ती, गुड्खा जफत गरी नष्ट गरिएको अधिकृत सापकोटाले जानकारी दिए । 

उनले विद्यालय क्षेत्रबाट एक सय मिटरभित्र पर्ने किराना र होटलमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाइने बताए । सुर्तीजन्य पदार्थ बरामद गरेपछि पसल सञ्चालकलाई सचेत पनि गराइएको सापकोटाले बताए । 

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ को दफा ११ को उपदफा ३ मा शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथलय र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिकस्थलबाट कम्तीमा सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाइने व्यवस्था छ । विद्यालय नजिकको पसलमा विद्यार्थीको पहुँच हुने भएकाले विद्यालयबाट सय मिटर आसपासका पसलमा सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाइएको हो । 

यस्तै अनुगमन टोलीले नारायणगढको लायन्सचोकस्थित भैँसी र राँगाको मासु बिक्री गर्ने दुई पसल पनि बन्द गराएको छ । सडक नजिकै बिक्रीका लागि खुलारुपमा मासु राखिएकाले बन्द गराइएको भरतपुर महानगरको कार्यपालिका सदस्य गोपाल दराईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप