शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकको निक्षेप एकैदिन २६ अर्बले बढ्यो, कूल निक्षेप ६१ खर्ब ३० अर्ब पुग्यो

बिहीबार, ०४ माघ २०८०, २३ : ०९
बिहीबार, ०४ माघ २०८०

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा संकलित निक्षेपको आकार ६१ खर्ब ३० अर्ब पुगेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म अर्थात् १४ जनवरी, २०२४ सम्ममा बैंकहरुको निक्षेप ६१ खर्ब ३० अर्ब रुपैयाँ पुगेको हो । 

पुस २८ गते ६१ खर्ब ४ अर्ब रुपैयाँ बराबर निक्षेप रहेकोमा भोलिपल्ट अर्थात् एकैदिन २६ अर्ब रुपैयाँले बढेको छ । 

यस्तै समीक्षा अवधिमा यता बैंकहरुको कर्जा लगानी समेत बढेर ५० खर्ब ८६ अर्ब रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । पुस २८ गतेसम्म कूल ५० खर्ब ५९ अर्ब कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरुले पुस २९ गते नै २७ अर्ब रुपैयाँले कर्जा लगानी विस्तार गरेका हुन् । 

कूल लगानीमध्ये ४४ खर्ब ९९ अर्ब रुपैयाँ २० वटा वाणिज्य बैंकहरुले लगानी गरेका छन् भने बाँकी ५ खर्ब ८७ अर्ब रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाहरुले गरेका छन् । 

पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले जम्मा ८०.२६ प्रतिशत सीडी रेसियो (कर्जा निक्षेप अनुपात) कायम गरेका छन् । मौद्रिक नीति अनुसार केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ९० प्रतिशतको सीमा दिएको छ । 

तथ्यांक हेर्दा अझैँ बैंक तथा वित्तीय संस्थाहरुसँग ६ खर्बमाथि लगानीयोग्य पुँजी (तरलता) रहेको बुझिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप