सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य प्रणाली समयानुकूल गर्दै लैजानुपर्छ : कावा प्रधानमन्त्री खड्का

शुक्रबार, ०५ माघ २०८०, १७ : ५९
शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वास्थ्यकर्मी उत्पादनमा जोड दिएका छन् । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान निरीक्षण गर्दै उनले सरकारी र सामुदायिक स्तरका स्वास्थ्य केन्द्र तथा अस्पतालहरूको विकास गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था मिलाउनु राज्यको प्राथमिक दायित्व भएको बताए ।

स्वास्थ्य सेवामा नागरिकको सहज र सर्वसुलभ पहुँच स्थापित गर्न वर्तमान सरकारले विभिन्न कार्यक्रमहरू अघि बढाइरहेको उनको भनाइ थियो । खड्काले सार्वजनिक स्वास्थ्य संस्थाहरू सबल र सुदृढ भए मात्र सर्वसाधारणले सर्वसुलभ स्वास्थ्योपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड १९ तथा डेङ्गी सङ्क्रमणको समयमा स्पष्ट भइसकेको बताए ।

यस कुरालाई हृदयङ्गम गरी सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको उनले उल्लेख गरे । ‘यस संस्थानबाट उत्पादन हुँदै गरेका सक्षम चिकित्सा जनशक्तिलाई अझ बढी प्रभावकारी रूपमा अगाडि बढाउन चिकित्सा जनशक्तिको राष्ट्रिय आवश्यकतालाई मनन गरी आगामी दिनहरूमा पाठ्यक्रम अनुसारको शैक्षिक कार्यक्रम, समयानुकूल दक्ष जनशक्तिको विकास, सुदृढीकरण र आधुनिकीकरणलाई प्राथमिकतामा राखी थप शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै  अघि बढ्न म सम्पूर्ण संस्थान परिवारलाई आग्रह गर्न चाहन्छु,’ उनले भने ।

संस्थानमा शिक्षण तथा व्यवस्थापनमा लागि अहोरात्र खटिनुहुने शिक्षक वर्ग, सकल दर्जालगायत कर्मचारीहरूको समर्पण र सामूहिक प्रयासले नै आज यो संस्थानले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको  उनको भनाइ थियो ।

‘तपाईँहरूको निरन्तर परिश्रमकै कारण यहाँ अध्ययनरत विद्यार्थीहरूले गुणस्तरीय चिकित्सा शिक्षा प्राप्त गरिरहेका छन् । तसर्थ, यहाँहरू सबैले पुर्‍याउनु भएको योगदान ज्यादै नै प्रशंसनीय छ र यसको लागि म सबैलाई हार्दिक धन्यवाद दिँदै यो टिम स्प्रिटलाई आगामी दिनमा पनि निरन्तरता दिन हार्दिक आग्रह गर्न चाहन्छु,’ उनले भने ।

द्रुतगतिमा बदलिँदो विश्व परिवेश तथा त्यससँगै देखा परेका स्वास्थ्य चुनौतीहरू सामना गर्न सक्षम चिकित्सा जनशक्ति उत्पादन गर्नेतर्फ यस संस्थान निरन्तर अग्रसर रहिरहन सकोस् भन्ने उनले कामना गरे ।

यस संस्थानलाई चिकित्सा शिक्षा अध्ययनको लागि देशकै उत्कृष्ट मेडिकल कलेजको रूपमा स्थापित गर्न आगामी दिनमा यहाँका प्राध्यापक कर्मचारी तथा सकल दर्जाले थप प्रयास गर्नेमा उनले विश्वास व्यक्त गरे । उनले संस्थामा आफू पहिलो पटक आए पनि यसबारे परिचित रहेको भन्दै नेपाली सेनाको एक महत्त्वपूर्ण अङ्गको रूपमा रहेको यस संस्थानले नेपाली सेनालाई मात्र नभई समग्र राष्ट्रलाई नै आवश्यक गुणस्तरीय चिकित्सा जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान गरिरहेको बताए ।

मुलुकमा स्वास्थ्य प्रतिष्ठान तथा चिकित्सा अध्ययन संस्थानहरूको सङ्ख्यामा सङ्ख्यात्मक वृद्धि सँगसँगै तिनको अध्ययन, अध्यापन र स्वास्थ्य सेवा प्रवाहलाई चुस्त र गुणस्तरीय बनाउने कार्य चुनौतीपूर्ण रहेको भन्दै उनले  यस क्रममा सम्बन्धित स्वास्थ्य प्रतिष्ठान तथा अध्ययन संस्थानहरूले आफ्नो गुणस्तरमा कुनै सम्झौता नगरी गुणस्तरीय अध्ययन, अध्यापन, अनुसन्धान र स्वास्थ्य सेवा प्रवाहमा निरन्तर ध्यान दिन आवश्यक रहेको धारणा राखे ।

‘स्वास्थ्य क्षेत्र एउटा गतिशील क्षेत्र हो । दिनहुँ यस क्षेत्रमा नयाँ नयाँ अनुसन्धानहरू भई नयाँ-नयाँ उपचार पद्धति, प्रविधि र औषधीहरूको आविष्कार भइरहेको छ । त्यसलाई हामीले हाम्रो स्वास्थ्य प्रणालीभित्र समायोजन र अनुकूलन गर्दै जानुपर्ने खाँचो छ। यसका लागि यस संस्थानले पनि एकातिर थप पूर्वाधारहरूको विकास गर्दै जान र अर्कोतर्फ नयाँ प्रविधि र पद्धतिलाई क्रमशः आत्मसात् गर्दै अघि बढ्न आवश्यक देखिन्छ,’ उनले भने ।

सो अवसरमा नेपाली सेनाका प्रधानसेनापति, रक्षा मन्त्रालयका निमित्त सचिव तथा नेपाली सेनाका अन्य अधिकारीहरू समेत उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप