बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाललाई मेडिकल शिक्षाको गन्तव्य बनाउन सकिन्छ’

शनिबार, ०६ माघ २०८०, २१ : ५९
शनिबार, ०६ माघ २०८०

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाललाई मेडिकल शिक्षाको गन्तव्य मुलुकका रूपमा स्थापित गर्न सकिने बताएका छन् । शनिवार  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ मेन्ज्ये गाउँमा ओग्र्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बाको प्राण प्रतिष्ठा तथा उद्घाटन कार्यक्रममा बोल्दै बस्नेतले एक सयदेखि तीन सय शय्यासम्मको अस्पतालमा नर्स र पारामेडिक्स पढाउने तथा तीन सयभन्दा बढी शय्याका अस्पतालमा डाक्टर पढाउने गरी योजना बनाइरहेको बताए ।

कक्षा १२ सम्मको पढाइलाई  निःशुल्क गर्ने तथा आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट कुनै पनि नागरिकलाई बञ्चित नगरिने उनको भनाइ छ । स्वास्थ्य क्षेत्रमा ३२ हजारको सङ्ख्यामा नयाँ दरबन्दी आवश्यक रहेको उल्लेख गर्दै बस्नेतले उक्त जनशक्ति व्यवस्थापनका लागि सरकारले आन्तरिक तयारी गरिरहेको बताए ।

सिन्धुपाल्चोकवासीलाई आफूले चुनावका क्रममा गरेको प्रतिबद्धता पूरा गर्ने पनि उनले स्पष्ट पारे। “चुनावका बेलामा जे–जे गर्छौँ भनेका थियौँ, त्यो पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । पाँच वर्षमा बोलेको भन्दा बढी काम गर्छौँ”, मन्त्री बस्नेतले भने, “मेलम्चीबाट हेलम्बु जाने बाटो निर्माणलाई र हेलम्बुमा वडास्तरका चारवटा अस्पताल बनाउने कार्यलाई प्राथमिकतामा राखिएको छ ।

वडामा बन्ने अस्पताललाई अत्याधुनिक ल्याबयुक्त बनाउने र सोहीअनुसार जनशक्ति पनि व्यवस्थापन हुनेछ ।” त्यसैगरी मेलम्ची अस्पताललाई १५ शय्याको अस्पताल बनाउने पनि बस्नेतको भनाइ छ ।

कार्यक्रममा पूर्वमन्त्री शेरबहादुर तामाङले मेलम्चीबाट हेलम्बुसम्म जाने बाटोको कहालीलाग्दो अवस्थामा रहेको उल्लेख गर्दै उक्त सडकखण्ड निर्माणका लागि सङ्घ र प्रदेश सरकारबाट आवश्यक समन्वय र सहयोग हुन नसकेको बताए । सडकको दूरावस्थाका कारण यहाँको उत्पादन बजारसम्म पुर्याउन कठिन भइरहेको उनको भनाइ थियो ।

बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले सिन्धुपाल्चोकका जनतासँग चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्न सुरुआत गरिसकेको र त्यसले विस्तारै नतिजा देखाउने बताए । प्रदेश सरकारले स्थानीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

ओर्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा २०६७ सालबाट निर्माण थालिएको थियो । स्थानीयको श्रमदान र विभिन्न व्यक्ति तथा संस्थाबाट भएको सहयोगबाट निर्मित उक्त गुम्बाको आज उद्घाटन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप