सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्र शाहको स्वागतमा बनाइएको गेटमा बागमतीका गृहमन्त्रीको हस्तक्षेप

आइतबार, ०७ माघ २०८०, १३ : ३८
आइतबार, ०७ माघ २०८०

काठमाडौँ । मकवानपुरको हेटौँडा भ्रमणमा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहसम्बन्धी स्वागत/प्रचार सामग्रीमा सरकारले आपत्ति जनाएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको निर्देशनमा संविधान विपरीत पूर्वराजाको स्वागतमा ब्यानर र गेट बनाइएको भन्दै प्रहरीले सच्याउन लगाएको हो । 

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित भुटनदेवी मन्दिर नजिक राजावादीहरूले ‘राजा ज्ञानेन्द्र विरविक्रम शाहदेव’ उल्लेखित स्वागतद्वार निर्माण गरेका थिए । तर, मन्त्री श्रेष्ठले यसबारे जानकारी पाएपछि गेट हटाउन लगाएका थिए । सो क्रममा विवाद भएपछि राजावादीहरू ब्यानरमा उल्लेखित ‘राजा’ शब्दअघि पूर्व’ शब्द थप्न राजी भएका थिए । सोही सच्याइएको बोर्ड पछि राख्न दिइएको प्रहरीले जनाएको छ । 

श्रेष्ठले नेपाल गणतान्त्रिक मुलुक भएकाले  यहाँ कुनै राजा नभएको बताए । ‘कसैलाई राजा भनेर लेख्नु संविधान विपरीत हो । त्यसैले राजा लेखेको ब्यानर हटाउन प्रहरीलाई निर्देशन दिएको हुँ । राजा लेखेको ब्यानर सच्याएर पूर्वराजा लेखिएछ, राम्रो भयो’, उनले भने । 

पछिल्लो समय देशभर विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका पूर्वराजा आइतबार हेटौँडा पुगेका हुन् । शाह हेटौँडाको विभिन्न धार्मिक क्षेत्रहरुको अवलोकन भ्रमण तथा पूजा आराधनाको सहभागी हुने भएपछि स्वागतको लागि प्रतिनिधिसभा सदस्य तथा राप्रपाका केन्द्रीय सदस्य दीपक बहादुर सिंहको संयोजकत्वमा ११११ सदस्यीय मूल समिति गठन गठन भएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप