बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

११ वर्षपछि सर्लाही कारागार सञ्चालनमा

कारागारलाई सुधार गृहको रूपमा विकास गर्नुपर्छः गृहमन्त्री
आइतबार, ०७ माघ २०८०, १५ : २०
आइतबार, ०७ माघ २०८०

वीरगन्ज । सर्लाहीको मलंगवामा लामो समयदेखि बन्द जिल्ला कारागार आजदेखि सञ्चालनमा आएको छ । जीर्ण जिल्ला कारागारको मर्मत सम्भारको कार्य सकिएपछि आजदेखि सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिलालेखको अनावरण तथा रिबन काटेर उद्घाटन गरेपछि जिल्ला कारागार सञ्चालनमा आएको हो । कारागारको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले कारागारको जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने जरुरी रहेको बताए । 

उनले भने,‘कारागारलाई अब तपाईँहरू सुधार गृहको रूपमा विकास गर्नुपर्छ, यहाँ योगा सञ्चालन गर्नुपर्छ । ताकी कैदीबन्दीहरुमा सकारात्मक परिवर्तन आओस् ।’ सर्लाहीका सीडीओ कोमल प्रसाद धमलाका अनुसार ०६९ सालको माघ महिनादेखि जीर्ण हुँदा कारागार बन्द गरिएको थियो । 

उनले भने,‘ठेकेदारको लापरबाहीका कारण धेरै समय लाग्यो, किनभने कारागार मर्मतका लागि तीन–तीन पटक ठेक्का गर्नुपर्‍यो । अनि बल्ल अहिले आएर काम पुरा सकियो,त्यस कारण ढिलाइ हुन गयो ।’  ठेकेदारकै लापरबाहीले ११ वर्षमा यो जिल्लाका कैदीबन्दीहरुलाई सास्ती खेप्नुपरेको थियो,’उनले भने ।  तर अब त्यो समस्याबाट जिल्लाका कैदीबन्दीहरु छुटकारा मिलेको सीडीओ धमलाले बताए ।  

मलंगवामा रहेको जिल्ला कारागार सञ्चालन आए लगत्तै  रौतहट जिल्ला कारागारबाट ३० जना कैदीबन्दी सारेर सर्लाही कारागारमा ल्याएको सीडीओ धमलाले बताए । सर्लाही कारागार ८ कट्ठा साढे १९ धुर क्षेत्रफलमा फैलिएको छ । 

मर्मत सम्भार भई सञ्चालनमा आएको सर्लाही कारागारमा अहिले पानीको पर्याप्त व्यवस्था हुनुको साथै सुविधा सम्पन्न चमेना गृह, प्रजनन कक्षसहित शौचालयको समेत व्यवस्था गरिएको सीडीओ धमलाले जनाए । 

यो कारागारमा १६० जना पुरुष र ५० जना महिला गरी २१० जना अट्ने क्षमता रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो । कारगारभित्र मर्मत भइरहँदा यहाँ कैदीलाई सिन्धुली, महोत्तरी, झुमका र रौतहट कारागारमा स्थानान्तरण गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप