शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

१ देखि ३ सय शय्यासम्मका सरकारी अस्पतालहरूमा सरकारले नर्सिङ अध्यापन गराउने

सोमबार, ०८ माघ २०८०, १८ : १०
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । सरकारले १ सयदेखि ३ सय शय्यासम्मका सरकारी अस्पतालहरूमा नर्सिङ अध्यापन गराउने भएको छ । 

सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले यस्तो बताएका हुन् । 

सचिव पोखरेलले १ सयदेखि ३ सय बेडसम्मका सरकारी अस्पतालहरूमा नर्सिङ पढाउने बोर्डले पास गरेको उल्लेख गरे । उनले १ सयदेखि ३ सय शय्यासम्मका सरकारी प्रदेश तथा क्षेत्रीय अस्पतालहरूमा राज्यले दायित्व लिएर नर्सिङ पढाउने तयारी गरेको बताए । उनले आगामी तीन दिनभित्र निर्णयको लागि मन्त्रीपरिषद्मा लैजाने जानकारी पनि दिए । 

उनले भने, ‘३ सय बेडमा ठुला अस्पतालहरूले स्टाफ नर्स पढाउन छोड्न नहुने भनेका छौँ । १५ बेड सम्मका अस्पतालहरूमा एमबीबीएस डाक्टर पठाउन सक्दैनौँ । त्यहाँ सरकारले पठाउने भनेकै स्टाफ नर्स हो । स्वास्थ्य मन्त्रालयसँग भएको २६ सय दरबन्दीमा सबै पूरा रहेको छ । त्यो भएकाले नयाँ जनशक्ति लिन सक्दिन । लोकसेवा आयोगमा प्रत्येक वर्ष केन्द्रीय दरबन्दीमा २० जनासम्म मेडिकल अफिसरको लागि भर्ना खालेका छौँ ।’ उनले स्वास्थ्य मन्त्रालयले लोकसेवा आयोगमार्फत प्रत्येक वर्ष केन्द्रीय दरबन्दीमा २० जनासम्म मेडिकल अफिसर लिइरहेको बताए ।

सचिव पोखरेलले चालु आर्थिक वर्षको स्वास्थ्य मन्त्रालयको ४९ अर्ब ८० करोड बजेटमा पछिल्लो ६ महिनामा १० अर्ब ४१ करोड अर्थात् करिब २१ प्रतिशत खर्च भएको बताए । उनले चालु तर्फको ३७ अर्ब रुपैयाँमा ७ अर्ब ९० करोड  र पुँजीगततर्फ १२ अर्ब ७३ करोडमा २ अर्ब ५१ करोड गरी २० प्रतिशत पुँजीगत खर्च भएको उल्लेख गरे । धेरै आयोजनाहरूको टेन्डर प्रक्रिया अगाडि बढिसकेको तर वैदेशिक खर्च २९ प्रतिशत हिस्सा बजेटमा भए पनि खर्च नहुँदा पुँजीगत खर्च कम देखिएको बताए । उनले मन्त्रालयको भौतिक प्रगतिमा कार्यक्रम सम्पन्न भएका ४८.३ प्रतिशत रहेको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप