सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरले बढाएको करविरुद्ध कास्की कांग्रेस, मेयरलाई बुझायो ज्ञापनपत्र

सोमबार, ०८ माघ २०८०, १८ : ४१
सोमबार, ०८ माघ २०८०

पोखरा । पोखरा महानगरपालिकाले चालू आर्थिक वर्षदेखि बढाएको मालपोत तथा भूमिकरको विरुद्धमा कांग्रेस कास्कीले ज्ञापनपत्र बुझाएको छ । मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेसले अस्वाभाविक रुपमा बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको हो । 

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको नेतृत्वमा टोलीले राजश्व प्रशासनलाई व्यवस्थित र वैज्ञानिक बनाउन सुझाब दिएको छ ।

कांग्रेसले अहिले बढेको कर घटाएर राजश्व वृद्धिका लागि १२ बुँदे सुझाव दिइएको हो । परम्परागत घेराभन्दा बाहिर निस्कन, धेरै कर उठाउने नभई धेरै करदाता सिर्जना गर्ने नीति अवलम्बन गर्न,  कर बढाएर मात्रै राजस्व बढ्दैन भन्ने महसुस गर्न कांग्रेसको सुझाव छ ।  

यस्तै, लगनशीलता र मितव्ययिताको परम्परालाई स्थापित गर्न र पोखराका निम्ति सपना देख्न तथा सपना देखाउन सुझाव दिइएको बरालले बताए । उनका अनुसार दक्ष जनशक्तिको व्यवस्थापन गर्न, सबै तहका सरकारसँग समन्वय गर्न, कम लगानीमा देखिने गरी विकासका काम गर्न माग गरिएको छ ।

विकासको योजना प्राथमिकताको आधारमा तय गर्न, जनतालाई नवप्रवर्धनात्मक उद्यमशीलता र उत्पादनसँग जोड्न, बेरुजु र बाँकी बक्यौता उठाउन इमानदार भएर प्रयास गर्न, करको दायरा वृद्धिका लागि व्यवस्थित अध्ययन÷अनुसन्धान गर्न, पर्यटन मैत्री शिष्टाचार र संस्कारको निर्माण गर्न पनि सुझाव दिइएको छ । कांग्रेसले विज्ञहरुसँग समन्वय गरेर सुझावपत्र तयार गरेको हो ।

‘जनताबाट उठेका प्रश्नहरुप्रति नेपाली कांग्रेसको उच्च सम्मान छ । आफ्ना जनप्रतिनिधिहरुले गरेका निर्णयहरु कहिले काहीँ जनताको हित अनुकूल हुन नसकेको जनगुनासो आएपछि कांग्रेस परिमार्जित गर्दै अगाडि बढ्ने राजनैतिक संस्कारलाई स्थापित गराउन चाहन्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप