बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा राष्ट्रिय सभा निर्वाचनका लागि कस्तो छ तयारी ?

बुधबार, १० माघ २०८०, १२ : १०
बुधबार, १० माघ २०८०

 सुर्खेत । बिहीबार हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कर्णालीमा आवश्यक तयारी भइरहेको छ । राजधानी वीरेन्द्रनगरको प्रदेश निर्वाचन कार्यालय क्षेत्रमै मतदान केन्द्र तयार गरिँदै छ । प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दुर्गा चालिसेका अनुसार निर्वाचन अधिकृतको कार्यालयभित्रनै दुई वटा मतदान केन्द्र हुने छन् । मतदान केन्द्र बुधवार बेलुकासम्म बनाइसक्ने गरी काम भइरहेको उनले बताए ।

उनका अनुसार ‘क’ मतदान केन्द्रमा ४० जना प्रदेश सभा सदस्यहरूले मतदान गर्ने छन् भने ‘ख’ मतदान केन्द्रमा स्थानीय तहका जनप्रतिनिधिहरूले मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ । कर्णालीमा ७९ वटा स्थानीय तहका १५८ मध्ये १५६ जना पालिका प्रमुख तथा उप्रमुखहरुले मतदान गर्ने छन् । 

मतदाता रहेका जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंह र दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको भने मृत्यु भइसकेको छ । प्रदेश सभा सदस्यको मतभार सङ्ख्या ५३ छ भने स्थानीय तहको १९ रहेको छ । निर्वाचन अधिकारी चालिसेका अनुसार मतदान स्थलको अनुगमन गरी पूर्वाधार निर्माण तथा व्यवस्थापकीय कार्यका लागि आवश्यक काम भइसकेका छन् । 

निर्वाचन सामाग्रीको व्यवस्थापन प्रदेश निर्वाचन कार्यालयले गर्ने भएकाले त्यो काम पनि भइसकेको छ भने कर्मचारीलाई जिम्मेवारी तोक्ने काम पनि भइसकेको चालिसेले रातोपाटीलाई बताए । ‘मतपत्र पनि आइसकेको छ, आयोगबाट, नामावली, ब्याटेल बक्स लगायतका सामाग्रीहरुको पनि व्यवस्थान भएर तयारी अवस्थामा छ,’ उनले भने, ‘त्यो हामीले उहाँ (मतदान अधिकृतहरू)लाई दिन्छौँ ।’ उनका अनुसार दुई वटा मतदान केन्द्रमा ९/९ जना कर्मचारी खटाइने छ । कर्णालीमा दलित, महिला र अन्य कोठामा निर्वाचन हुने भएकाले दुई वटै मतदान केन्द्रमा ३/३ वटा मत पेटिका राखिने छ । मतपत्रको रङ पनि फरक छ । प्रदेश सभा सदस्यका लागि हरियो मतपत्र छ भने पालिकालाई गुलाबी रङको छ ।

सुरक्षाका लागि पाँच जनाको टोली कार्यालय सुरक्षाको लागि बसिरहेकै छ । भोलिको लागि जिल्ला प्रहरीबाट छुट्टे खटाइन्छ । ‘यहाँ ट्राफिक व्यवस्थापन गर्नुपर्ने होला, मतदान केन्द्रको वरपरको क्षेत्रमा भोलि गाडी चल्दैनन्,’ उनले भने, ‘त्यो व्यवस्थापन जिल्ला प्रहरी र ट्राफिकले गर्छ ।’

मतदान बिहीबार ९ बजेबाट सुरु भई ३ बजे सम्पन्न हुने छ भने सकेसम्म भोली नै साँझ नै नतिजा आइसक्ने उनले बताए । 

कर्णालीमा तीन वटा कोटाका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेशमा गठबन्धन भर्सेस एमालेबिच प्रतिस्पर्धा हुँदै छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप