सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी खोज

EXCLUSIVE : संसद्का प्रस्तावित महासचिव पाण्डेयको ३ नागरिकता र २ राहदानी

यस्तो छ नागरिकता र पासपोर्टसम्बन्धी गृह मन्त्रालयले तयार पारेको प्रतिवेदन (कागजातसहित)
शुक्रबार, १२ माघ २०८०, १७ : ०४

काठमाडौँ । नीति निर्माणको दायित्व बोकेको संघीय संसद् सचिवालयको महासचिवमा प्रस्तावित पद्मप्रसाद पाण्डेयले किर्ते गरी तीन वटा नागरिकता लिएको पुष्टि गर्ने कागजात  गृह मन्त्रालयले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको छ ।  मन्त्रालयले तयार गरेको छानबिन प्रतिवेदनमा पाण्डेयले दुई वटा राहदानी समेत लिएको उल्लेख छ ।

‘मन्त्रालयको सम्बन्धित शाखाबाट नागरिकता सम्बन्धी विवरण समितिमा पठाइसकिएको छ,’ शुक्रवार गृह प्रवक्ता नारायण प्रसाद भट्टराईले रातोपाटीसँग भने । पाण्डेयले नागरिकता र राहदानीमा किर्ते गरेको उजुरी परेपछि पुस २४ गते समितिले गृहलाई पत्राचार गर्दै ‘विभिन्न मितिमा जारी भएका नेपाली नागरिकताको प्रमाणपत्रसँग सम्बन्धित कागजातहरू’ माग गरेको थियो । गृहले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट प्राप्त कागजातहरू समितिमा पठाएको हो । प्रतिवेदनले राहदानीका सम्बन्धमा परराष्ट्र मन्त्रालय मातहतको  राहदानी विभागबाट यकिन गर्न उपयुक्त हुने सुझाव दिएको छ ।

‘राहदानी हाम्रो कार्य क्षेत्रभित्र नपर्ने भएकाले हामीले नागरिकताको विवरण मात्र पठाएका हौँ,’ भट्टराईले भने, ‘राहदानी सम्बन्धी विवरणका लागि राज्य व्यवस्था समितिले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्ला ।’

रातोपाटीलाई प्राप्त गृह मन्त्रालयले तयार पारेको पाण्डेयको नागरिकता सम्बन्धी ‘विवरण तथा कागजात’ मा उनले फरक फरक मितिमा तीन वटा नागरिकता लिएको उल्लेख छ । 

प्रतिवेदनमा पाण्डेयले २०४६ असार २८ गते जन्म मिति २०२६ असोज १५ कायम गरी पहिलो नागरिकता लिएको उल्लेख छ । यसैगरी २०६६ भदौ ८ गते जन्म मिति २०३२ पुस २६ गते कायम गरी दोस्रो नागरिकता लिएको र नागरिकता हराएको बहाना 

बनाई २०७६ मंसिर २२ गते फेरि जन्म मिति २०२६ असोज १५ गते नै कायम गरी तेस्रो नागरिकता लिएको खुलासा गरिएको छ ।  

पाण्डेले पहिलो पटक लिएको नागरिकताको प्रमाणपत्र नम्बर ३५  रहेको छ भने दोस्रो पटक लिएको नागरिकताको नम्बर ३९१०११/१५५ रहेको छ । यस्तै तेस्रो पटक लिएको नागरिकता नम्बर ३९–०१–७६–०५५१५ रहेको छ । प्रतिवेदन अनुसार २०४६ साल असार २८ गते लिएको ३५ नम्बरको नागरिकता प्रमाणपत्रको विवरण कायम गरेर ३९–०१–७६–०५५१५ नम्बरको नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिएको उल्लेख गरिएको छ । 

bibaran-final

पाण्डेयले पहिलो पटक लिएको नागरिकताका आधारमा राहदानी समेत प्राप्त गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै दोस्रो पटक लिएको नागरिकताको आधारमा पनि राहदानी बनाएको देखिएको प्रतिवेदनमा लेखिएको छ । तर उक्त राहदानीको सम्बन्धमा आधिकारिकता यकिन हुन नसकेको कारण राहदानी विभागबाट यकिन गर्नु पर्ने देखिएको उल्लेख गरिएको छ । गृहको रिपोर्टमा तेस्रो नागरिकताका आधारमा राहदानी लिए /नलिएको भने खुलाइएको छैन ।

विवरणमा पहिलो नागरिकताकै आधारमा ‘निजको शैक्षिक प्रमाणपत्रमा समेत जन्म मिति २०२६/०६/१५ उल्लेख भएको’ भनिएको छ ।

nagarikta-pandey

पाण्डेयको नागरिकता र पासपोर्ट काण्ड 

मंसिर २४ मा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संसद्को महासचिवका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष उनको नाम सिफारिस गरे । उनी वैशाखमा मात्र घिमिरेको सिफारिसमा प्रतिनिधि सभा सचिव नियुक्त भएका थिए । पाण्डेयलाई रहस्यमय तरिकाले महासचिव नियुक्त गर्ने ध्येयले सभामुख घिमिरेले करिब एक वर्ष कार्यकाल बाँकी हुँदै महासचिवबाट भरतराज गौतमलाई राजीनामा गर्न बाध्य पारेको सार्वजनिक भइसकेको छ । जसअनुसार उनले मंसिर २४ मा राजीनामा दिए ।

पाण्डेयको नियुक्ति सिफारिस अहिले राष्ट्रपति पौडेलले होल्डमा राखेका छन् भने सभामुख र राष्ट्रिय सभा अध्यक्षले नियुक्तिका लागि ताकेता गरिरहेका छन् ।

bibaran

थप छानबिनमा समिति

समितिका सभापति रामहरि खतिवडाले गृहबाट विवरण प्राप्त भएको अस्पष्ट भएको विवरणहरू अन्य निकायसँग पनि मागिने जानकारी दिए ।

‘हामीले पाण्डेयले कुन मिति राखेर सरकारी सेवामा प्रवेश गरेका हुन् भनेर बुझ्न निजामती किताबखानालाई पत्राचार गरेका छौँ,’ उनले सुनाए, ‘त्यससँगै अब परराष्ट्र मन्त्रालय, राहदानी विभाग र अध्यागमन विभागसँग उनले कुन कुन राहदानी बनाए र प्रयोग गरे भनेर विवरण माग्दैछौँ ।’ ‘ती विवरण प्राप्त हुनासाथ छानबिन टुङ्ग्याउने हाम्रो तयारी छ,’ खतिवडाले रातोपाटीसँग भने ।

third-radda-nirnayaraddako-tippaninibedanharaeko-nibedan

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामप्रसाद दाहाल
रामप्रसाद दाहाल

दाहाल रातोपाटीका सम्पादक हुन् ।

लेखकबाट थप
लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप