शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा कालोपत्रका लागि परीक्षण सुरु

शुक्रबार, १२ माघ २०८०, १९ : ५७
शुक्रबार, १२ माघ २०८०

तनहुँ ।  मुग्लिन–पोखरा सडक आयोजनाले पश्चिम खण्डमा पहिलोपटक कालोपत्रका लागि परीक्षण सुरु भएको छ । पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित हलेदीमा कालोपत्रका लागि परीक्षण गरिएको हो ।

कालोपत्रमा प्रयोग गरिएका इक्युमेन्ट तथा कच्चा पदार्थ ठीक छ कि छैन भनेर परीक्षण गरिएको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इन्जिनियर नारायण पौड्यालले जानकारी दिए । 
जामनुेबाट कोत्रेसम्मको पाँच किलोमिटर दूरी फागुन १५ भित्र कालोपत्र गर्ने कन्टयाक्टरले प्रतिबद्धता जनाएअनुरुप प्रक्रिया अघि बढाइएको हो । पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारका कार्य भइरहेको छ । पश्चिम खण्डमा हालसम्म १५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

राजमार्गको पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी सडक पर्दछ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एण्ड ब्रिज कम्पनीले ठेक्का पाएको छ । पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको हो । विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ ।

त्यसैगरी मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म १९ किलोमिटर दूरीमा एकतर्फी सडक कालोपत्र गरिएको छ । जिल्लाको डुम्रेबाट छिर्कनसम्म दुईतर्फी सात किमीका दरले १४ किमी र एकतर्फी पाँच किमी गरी उक्त दूरीमा कालोपत्र सम्पन्न भएको हो ।

पूर्वी सडकखण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनका अनुसार आँबुखैरेनीको बरादीबाट सत्रसयतर्फ करिब तीन किमी दूरीमा कालोपत्रको कार्य भइरहेको छ । उक्त स्थानमा कालोपत्र सम्पन्न भएलगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेनको सडक कालोपत्र गर्न बेस हाल्ने काम भइरहेको छ ।

पूर्वी खण्डमा ४१ दशमलव ४५ किलोमिटर दूरी रहेको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । उक्त खण्डको काम २०८१ वैशाखसम्ममा सम्पन्न गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप