शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिमरामा एकै रात दुई वटा सहकारी संस्थामा चोरी

शुक्रबार, १२ माघ २०८०, २० : २३
शुक्रबार, १२ माघ २०८०

बारा । बाराको सिमरामा बिहीबार राति दुई वटा सहकारी संस्थामा चोरी भएको छ । जीतपुरसिमरा–२ स्थित सिमरा महिला बचत तथा ऋण सहकारी संस्था र जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो ।

करिब दुई सय मिटरको दुरीमा रहेका दुवै सहकारीमा चोरले सबैतिरको ताला फुटाएको भेटिएको छ । महिला सहकारीकी निवर्तमान अध्यक्ष अनिता लम्सालले सहकारीमा नगद रकम नभएकाले चोरले सबैतिरको ताला फोरेर केही नभेटेपछि सीसी क्यामराको हार्डडिस्क नै चोरी गरेर लगेको बताइन् ।

‘हामीले सहकारीमा नगद रकम राख्ने गरेका थिएनौँ, चोरले केही नभेटेपछि सीसी क्यामराको हार्डडिस्क नै लगेछ,’ उनले भनिन् ।

बिहीबार साँझ ५ बजे कार्यालय समयपछि बन्द भएको सहकारी शुक्रबार बिहान करिब १० बजे खुलेपछि मात्रै चोरी भएको थाहा भएको लम्सालले बताइन् ।

जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थामा पनि चोरले  पैसा खोज्ने क्रममा काउन्टरको लकर फोरेको र कागजपत्र छरिदिएको थियो ।

सिमराको महिला सहकारीमा चोरी भएको यो दोस्रो पटक हो । यसअघि २०७९ साउन १२ गते उक्त सहकारी संस्थामा पहिलो पटक चोरी भएको थियो । सो समयमा पनि सीसी क्यामेराको हार्डडिस्क लगिएको थियो ।

जीतपुरसिमरामा पछिल्लो समय सहकारी र वित्तीय संस्थामा चोरी हुने क्रम बढेको छ । यसअघि मनहर्वाका दुई वटा सहकारी संस्थाबाट लाखौँ रकम चोरी भएको थियो । जीतपुरसिमरा–१८ मनहर्वास्थित साना किसान कृषि सहकारी संस्थाबाट २०७९ असार १९ गते १२ लाख ७४ हजार रुपैयाँ चोरी भएको थियो ।

यसैगरी मनहर्वामै रहेको मौवादेवी बचत तथा ऋण सहकारी संस्थामा गत असोज र कार्तिकमा दुई पटक चोरी भयो । असोज २८ गते तीन लाख १७ हजार र कार्तिक २१ गते १३ हजार रुपैयाँ चोरी भएको थियो ।

यस्तै जीतपुरसिमरा–१८ स्थित उचिडिमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा मङ्सिर ३ गते ताला फोडेर प्रिन्टर र हार्डडिक्स चोरी गरिएको थियो । जीतपुरसिमरा–१५ डुमरवानामा गत मङ्सिर ९ गते राति एटीएम मेसिन फोडेर रकम चोरीको प्रयास भएको थियो ।

चोरीका यी सबै घटनामा संलग्न व्यक्ति कानुनी दायरामा आउन सकेका छैनन् । चोरीका घटना बढ्न थालेपछि वित्तीय संस्थाले असुरक्षित महसुस गर्न थालेका छन् ।

महिला सहकारीकी निवर्तमान अध्यक्ष अनिता लम्सालले यसअघि भएको चोरीको घटनामा प्रहरीमा निवेदन दिए पनि संस्थाले ताकेता नगरेका कारण प्रहरीले पनि अनुसन्धानमा खासै चासो नराखेको बताइन् ।

बिहीबार राति भएको चोरीको घटनापछि दुवै सहकारी संस्थाले ईलाका प्रहरी कार्यालयमा लिखित उजुरी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप