सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

अबको राष्ट्रिय सभा अध्यक्ष कृष्णप्रसाद सिटौला नै बन्नुहुन्छ : बिडारी

शनिबार, १३ माघ २०८०, १७ : ५२
शनिबार, १३ माघ २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीको मत परिणामलाई लिएर सत्ता गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले राष्ट्रिय सभा सदस्य निर्वाचन पश्चात् सत्तारुढ गठबन्धन दलका नेताहरूसँग समसामयिक विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको भावना विपरीत गडबड गर्नेलाई सम्बन्धित पार्टी र गठबन्धनले उचित दण्डित गर्ने बताउँदै यसकै कारणले सत्ता गठबन्धनमा कुनै फेरबदल नआउने बताएका हुन् । 

जनयुद्धमा सहभागी भएकी माओवादी केन्द्रकी नेतृलाई कोशीमा हराइएको भन्दै उनले दुःख व्यक्त गरे । उनले कोशीमा केपी ओलीले चलाखी गरेको समेत बताए । एमाले अध्यक्ष ओलीलाई रकमी र बडो चलाख मान्छेको संज्ञा दिँदै उनले अनेक तिकडम गरेर आफ्नो पक्षमा एक सिट पारेको टिप्पणी गरे । 

नेता बिडारीले अब राष्ट्रिय सभाको अध्यक्षमा कृष्णप्रसाद सिटौला नै निश्चित प्रायः भएको बताए । राष्ट्रिय सभा सदस्य निर्वाचनमा जाँदै गर्दा पनि सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति भएर नै उम्मेदवार बनाइएको उनको भनाइ छ । सिटौलाको स्वभव, शान्ति प्रक्रियामा पुर्‍याएको योगदान र टुङ्ग्याउन पर्ने शान्ति प्रक्रियाका कामलाई विचार गरेर अहिलेको परिस्थितिमा उनलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन उपयुक्त हुने विडारीको भनाइ छ । 

‘अब राष्ट्रिय सभाको अध्यक्ष को हुन्छ ? यो कुराको निर्णय गर्ने ठाउँमा त म छैन । मेरो विचारमा पहिलो सहमति भएको चाहिँ कृष्णजीलाई अथवा कांग्रेसको उम्मेदवारलाई नै बनाउने हो कि भनेर राम्रोसँग छलफल भएको थियो । अब अलिकति गडबड भएको छ के गर्ने भन्दापनि मेरो विचारमा कृष्ण सिटौलाजीको व्यक्तित्व उहाँको प्रभाव, उहाँको शान्ति प्रक्रियामा योगदान, शान्ति प्रक्रियाको काम बाँकी अझै छ । संवैधानिक परिषद्को सदस्यसमेत हुने पद त्यो । त्यसो भएको हुनाले त्यो सम्भावना अहिले टरिसकेको छ जस्तो मलाई लाग्दैन,’– नेता बिडारीले भने ।  

राष्ट्रिय सभा अध्यक्षका बारेमा पार्टीमा विस्तृत र गठबन्धनमा व्यापक छलफल गरेर टुङ्गोमा पुग्नुपर्ने उनले बताए । साथै, कांग्रेसभित्रको प्रवृत्तिका बारेमा गठबन्धनमा व्यापक छलफल गर्नुपर्ने आवश्यकता उनले औँल्याए । नेता बिडारीले भने, ‘गठबन्धनको बारेमा व्यापक छलफल चाहिँ गर्नपर्ने बेला भएको छ । खासगरी कांग्रेस पार्टीसँग । किनभने यस्तो किन भयो ? कांग्रेस दुईवटा पार्टी त होइन । कांग्रेस पार्टीभित्र कांग्रेस अर्को पार्टी त हुँदैन । त्यस कारणले यो छलफलको विषय हो ।’ 

राष्ट्रिय सभा अध्यक्ष सिटौलालाई बनाउँदै गर्दा प्रचण्ड प्रधानमन्त्रीबाट हटेपछि संवैधानिक परिषद्मा माओवादी शून्य हुने अवस्था बारे पनि पार्टीभित्र छलफल हुनुपर्ने उनको भनाइ छ । उनले यति हुँदाहुँदै पनि सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्ने सम्भावना प्रबल रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप