आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बालबालिकाको मानसिक स्वास्थ्यमा के हुन्छ अभिभावकको भूमिका ?

आइतबार, १४ माघ २०८०, १३ : ०९
आइतबार, १४ माघ २०८०

काठमाडौँ । बालबालिकाको मानसिक स्वास्थ्यबारे अभिभावकको भूमिका महत्त्वपूर्ण हुने सरोकारवालाहरूको भनाइ छ । राजधानीमा शनिवार आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने धारणा राख्दै मानसिक रूपमा अस्वस्थ भएमा विभिन्न समस्या निम्तिने भएकाले समयमै ध्यान दिन जोड दिइयो  । ग्लोबल पिस फाउन्डेसन नेपालसँगको सहकार्यमा राजधानीको बालाजु-नेपालटारस्थित बालबाटिका इन्टरनेशनल स्कुलले आयोजनामा गरेको ‘अभिभावक तथा बालबालिकाको मानसिक स्वास्थ्य’ विषयक कार्यक्रममा बालबालिकाको मानसिक स्वास्थ्यमा अभिभावकको भूमिका महत्त्वपूर्ण हुने कार्यक्रम सहजकर्ता तथा अभिभावक शिक्षक प्रशिक्षक सावना भट्टले जानकारी दिइन् । 

उनका अनुसार हरेक अभिभावकले बालबालिकाले गरेको कामको प्रशंसा र समर्थन गरी उनीहरुको प्रोत्साहनमा ध्यान दिन जरुरी छ । यस्तै अभिभावकले बालबालिकाले पर्याप्त समय दिने, गल्ती लुकाउनका लागि प्रोत्साहन नगर्ने, उनीहरूको समस्या समाधानमा ध्यान दिने जस्ता क्रियाकलाप पनि गर्नुपर्ने पनि उनको भनाइ थियो । 

‘बालबालिकाले गरेको कामको प्रशंसा र समर्गन गरी उनीहरूलाई प्रोत्साहन गर्नुपर्छ’, उनको भनाइ थियो, ‘कहिलेकाहिँ गल्ती हुनु सामान्य हो भनेर उनीहरूलाई गल्ती नलुकाउनका लागि प्रोत्साहित गर्नुपर्छ । बालबालिकालाई आफ्नो अभिभावकको आवश्यकता भएको बेला उपस्थित हुने पनि गरिदिनुपर्छ ।’

यस्तै अभिभावकले बालबालिका जन्माउनका लागि मानसिक तथा शारीरिक रूपमा तयार भएर मात्रै जन्माउने योजना बनाउनुपर्छ । बालबालिकाको समस्या समयमै समाधान गरिदिने, उनीहरूको कुरा सधैँ प्राथमिकता दिएर सुन्ने, बालबालिका रिसाएर सामान फाल्ने जस्ता क्रियाकलाप गरेमा पनि अविभावक शान्त बन्दै उनीहरूको चाहना बुझ्ने कोसिस गर्नुपर्ने बताइएको छ । 

यस्तै अभिभावकले विभिन्न संवेगका बारेमा सिकाउने गर्नुपर्छ भने विभिन्न अवस्थामा कस्तो –कुर्सी, दुखी, रिस उठेको, चित्त दुखेको आदि)लागेको छ कारणसहित व्यक्त गर्नुपर्ने भट्टको भनाइ थियो । यस्तै अभिभावकले घरमा विभिन्न नियमहरू बनाई पहिले आफूले पालना गर्ने र बालबालिकालाई पनि पालना गर्न उत्प्रेरित गर्नुपर्छ । यस्तै बालबालिकालाई सजाय भन्दा पनि सकारात्मक अनुशासनमा राख्नुपर्ने हुन्छ । कतिपय अभिभावकले बच्चालाई सजाय दिने वा सकारात्मक माहौल नबनाइदिँदा बालबालिकाको मानसिक स्वास्थ्यमा असर पुग्न सक्ने बताइएको छ । 

418799012_916448073016000_5468389412468509952_n

बालबालिकाको मानसिक स्वास्थ्यका लागि केही विशेष क्रियाकलाप पनि गर्नुपर्ने हुन्छ । जसअनुसार परिवारले समय दिनुपर्छ भने सबैलाई माया गर्न पनि सिकाउनुपर्छ । यसबाहेक गुणस्तरीय समय दिनुपर्नेमा पनि जोड दिइएको छ । उक्त अवसरमा अभिभावक मानसिक रूपमा स्वस्थ भए मात्रै बच्चा पनि सही वातावरणमा हुर्किन सक्ने बताइएको थियो । 

साथसाथै तनाव व्यवस्थापनका क्रियाकलापहरूमा अभिभावक लाग्नुपर्ने, मोबाइलको प्रयोग कम गरेर बालबालिकालाई समय दिने, बालबालिकालाई सकारात्मक अनुशासन लागू गर्न सङ्कल्प लिनुपर्नेमा पनि जोड दिइएको छ । 

विश्व स्वास्थ्य सङ्गठनले मानसिक मानसिक समस्याहरूलाई साधारण तथा दैनिक आइपर्ने तनावहरू व्यवस्थापन गर्न कठिनाइ भई दैनिक, घरायसी तथा समाजमा योगदान गर्न बाधा भएको अवस्थालाई मानसिक स्वास्थ्यको रूपमा परिभाषित गरेको छ ।  जसले मनोवैज्ञानिक, संवेगात्मक तथा सामाजिक तन्दुरुस्तीलाई पनि बुझाउँछ । प्रसवअघिपघिको मनोसामाजिक समस्या, प्रारम्भिक बाल्यावस्थाको हुर्काइ, धरासयी हिंसा, गरिबी, तनावपूर्ण कार्यक्षेत्र, मोबाइल स्क्रिनको प्रयोगलगायतले मानसिक स्वास्थ्यमा असर पर्ने गर्छ । 

अभिभावकको मानसिक स्वास्थ्य समस्याले बालबालिकामा समेत प्रत्यक्ष असर पुग्न सक्ने भएकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । 

कार्यक्रममा बालबाटिका स्कुलकी प्रिस्कुल कोअर्डिनेटर सुशीला मानन्धरले बालबालिकालाई माया र हेरचाह गर्ने सबै अभिभावक भएको भन्दै सम्बन्धितले बालबालिकामा उत्प्रेरणा भन रहेको बताइन् । ‘२–३ वर्षमा बालबालिकाको लिडरसिप लिने अवस्था हो । त्यतिबेला उनीहरूलाई उत्प्रेरणा र इनिसिएसन लिनका लागि माहौल बनाइदिनुपर्छ’, उनले भनिन्, ‘ तिमीले बिगार्छ भनेर भनिदिनु हुँदैन । त्यतिबेला कुनै काम गर्दा बिगार्छ वा अरू कुनै बहानामा हुँदैन भनेको खण्डमा ३ वर्षपछि उसले गर भने पनि रुचि नराख्ने हुनसक्छ ।’  उनले  बच्चाहरूको आवश्यकता बुझेर सोहीअनुसार उचित वातावरण बनाउनुपर्नेमा समेत जोड दिएका थिए । 

यस्तै प्रधानाध्यापक राजेश खकुरेलले विद्यालयमा पढ्नु वा बढाउनु मात्र ठुलो नभएको भन्दै बच्चाको हेर बिचारमा सबैले आ–आफ्नो ठाउँबाट ध्यान दिनुपर्नेमा जोड दिए । बालबालिकालाई सकारात्मक माहौल बनाएको खण्डमा उनीले आफूलाई विकास गर्न पनि सोहीअनुसार सक्ने उनको धारणा थियो । 

419025045_1039686637107160_4819204903580564532_n

सो अवसरमा विद्यार्थीहरूले आफ्नो विभिन्न कला प्रदर्शन गर्नुका साथै रक्तदान कार्यक्रम समेत आयोजना गरिएको विद्यालयका अध्यक्ष रमेश प्रसाईँले जानकारी दिए । लाइन्स क्लब अफ काठमाडौँ इन्द्रयणी खुसिबुँसँगको समन्वयमा भएको रक्तदान कार्यक्रममा ३२ सहभागी भएको बताइएको छ ।  

417699141_206662505801915_2569415394386498250_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप