बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री फेरिने चर्चाले संघीय मामिलाका कर्मचारी तरङ्गित

मङ्गलबार, १६ माघ २०८०, १७ : २०
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । संसदीय दलको बैठकबाट निर्णय गर्दै सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकार बाहिरिएपछि त्यसको असर संघमा समेत देखिएको छ । 

संघमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीमा जनमतकै अनिता देवी रहेकी छिन् । उनी अब मन्त्रालयमा निरन्तर नरहने चर्चापछि मन्त्रालयमा त्यसको तरङ्ग उत्पन्न भएको हो । 

 प्रदेश सरकारबाट बाहिरिएपछि जनमतलाई संघीय सरकारमा समेत राख्न नहुने मत गठबन्धन भित्र बलियो देखिन्छ । मन्त्रालयमा केही दिनदेखि कर्मचारीहरू ‘मन्त्री फेरिने र अब को आउने’ भन्ने विषयलाई लिएर ‘कानेखुसी’ गरिरहेका भेटिन्छन् । 

‘सामान्य प्रशासन मन्त्रालयलाई जहिल्यै अस्थिर बनाइयो, यसअघिका मन्त्री अमनलाल मोदी सात महिना टिकेनन्, अनिता आएको पनि ६ महिना भयो । तर सकारात्मक सन्देश छैन,’ मन्त्रालयका एक उच्च अधिकृतले रातोपाटीसँग भने,‘ हाम्रो काम भनेको नयाँ मन्त्री आएपछि मन्त्रालयको ब्रिफिङ गर्ने र कामकारबाहीका बारेमा बुझाउने मात्रै हुने भयो ।’ 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमतलाई गठबन्धनबाट बाहिर राख्नुपर्ने लबिङ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गर्दै आएका छन् । 

राष्ट्रिय सभा निर्वाचनमा जनमतले गठबन्धनको निर्णय बाहिर गएर मधेस प्रदेश र लुम्बिनी प्रदेशमा उम्मेदवारी दिएको थियो भने निर्वाचन अघि नै मधेस सरकारबाट बाहिरिएको थियो । यसलगत्तै जनमतले जसपा नेतृत्वको मधेस सरकार नै फेर्नुपर्ने बताउँदै आएको छ भने गठबन्धन विरोधी गतिविधि पनि जारी नै राखेको छ । यस्तो अवस्थामा जनमतको केन्द्रीय सरकारमा सहभागिता रहिरहने सम्भावना कठिन रहेको सोही पार्टीका नेताहरू बताउँछन् । 

यसैबिच मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अधिकांश सहसचिवहरू कार्यकक्षमा थिएनन् । मन्त्री कार्यकक्षमै रहे पनि अन्य दिनभन्दा भिडभाड कमै देखिन्थ्यो । ‘मन्त्री फेरिने हल्लापछि अलि भिडभाड कम हुन थाल्यो,’ एक शाखा अधिकृतले भने,‘मन्त्रीलाई भेट्न आउनेहरूले पनि मन्त्री फेरिन्छन् कि फेरिँदैनन् भनेर जिज्ञासा राख्छन् ।’ 

तर, मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमल प्रसाद भट्टराईले कर्मचारीलाई मन्त्री फेरिने वा नफेरिनेसँग कुनै मतलब नहुने बताए । उनले भने,‘मन्त्रीज्यूहरु आउने र जाने क्रम चलिरहन्छ । तर, हामी कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्वअनुसार काम गरिरहेका छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप