सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सहिद दिवस

ओलीले पहिलो सहिद मानेका ‘बाँकावीर’ को हुन् ?

मङ्गलबार, १६ माघ २०८०, २० : ३५
मङ्गलबार, १६ माघ २०८०

‘बाँकावीरले पहिलोपल्ट राणाशासनका विरुद्ध लड्नुपर्छ भनेर सेना नै संगठन गरेका थिए । उनलाई पछि राणाशासनले गिरफ्तार गरेर हत्या गर्‍यो । उनी पहिलो सहिद हुन् । पहिलो सहिदका सम्बन्धमा अलिकति कन्फ्युजन पनि छ । बाँकावीर नेपालको राजनीतिक जागरण र स्वतन्त्रता प्राप्तिको, अधिकार प्राप्तिको आन्दोलनको, संगठित आन्दोलनको पहिलो सहिद हुन् ।’ २०७८ चैत १८ गते आयोजित अनेरास्ववियु केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए ।

उनको यस अभिव्यक्तिले एक खालको तरंग र बहस उठायो– के पहिलो सहिदका सम्बन्धमा राज्यलाई कन्फ्युजन नै हो ? 

ओलीको यस्तो अभिव्यक्ति आउनुभन्दा ६ वर्षअघि (२०७२ असोज ३ गते) सरकारले लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरेको थियो । सरकारले २०५६ सालमै लखनलाई सहिद घोषणा गरेको थियो तर प्रथम सहिद भनेको थिएन । मगर संघ–संस्था र बुद्धिजीवीहरूको पहलमा सरकारले २०७२ मा आएर लखनलाई प्रथम सहिद घोषणा गरेको थियो । 

२०५६ सालमा लखनलाई सहिद घोषणा गरेको केही महिनापछि अर्थात् २०५७ जेठमा सुरतबहादुर शाहले सानो पुस्तिका लेखे, ‘नेपालका प्रथम अमर सहिद बाँकावीर’ नाम दिएर । यसको एक वर्षपछि अर्थात् २०५८ सालमा डा. राजाराम सुवेदीले ‘अछामको इतिहास’ लेखे । जसमा सुवेदीले ‘प्रथम अमर शहीद बलदेव शाह उर्फ ‘बाँकावीर’को विद्रोह’ शीर्षकमा बाँकावीरको चर्चा गरेका छन् । 

ओलीको अभिव्यक्तिपछि लखन थापा र बाँकावीरका सम्बन्धमा थुप्रै आलेख आएका छन् । 

  • बाँकावीर को हुन् ? 

अछामी राजखलकका बलदेव शाहले राणाशासनविरुद्ध विद्रोह गरेर ‘बाँकावीर’को उपनामले कहलिएका थिए । बलदेव अछामी राजा रणभीम शाहका छोरा हुन् । श्री ५ सुरेन्द्रबाट १९०४ वैशाख १ गते लेखेको एक पत्रमा ‘अछामीराजा रणभीमसाहा’ भनिएको छ । उनका पिता श्रीमोहर शाहले यसरी राजाको पद पाएको प्रमाण फेला परेको छैन । डा. राजाराम सुवेदीको उपरोक्त पुस्तक अनुसार, रणभीमले १८९४ आसपासतिरबाट राजाको पद पाएको केही प्रमाण भेटिन्छन् । रणभीमका रानीपट्टिका टीकाभूप शाह र अर्कीपट्टिका बलदेव शाह नामक दुई पुत्र रत्न थिए । 

‘दाइ (टीकाभूप)को विवाह सम्बन्धले गर्दा बलदेवको पनि श्री ५ राजेन्द्रसँग भित्रभित्रै घनिष्ट सम्बन्ध थियो । यिनी कडा तथा स्पष्ट मिजास सत्य बोल्ने र श्री ५ महाराजाधिराजका शुभचिन्तक भएकाले उनलाई हनुमानढोका दरबार खुला थियो,’ सुवेदी लेख्छन्, ‘अछामबाट दरबारमा पढाइने सौगात पनि यिनै जिम्मा पठाइन्थ्यो । बझाङतिर पनि यिनै जान्थे । राणाशासकका संस्थापक जंगबहादुर कुँवर क्षेत्रीले आफू प्रधानमन्त्री पदमा पुगेपछि बलियो बन्ने उद्देश्यले आफ्ना समर्थकहरू तयार गर्न थाले । त्यसै प्रसंगमा अछाममा पनि ठाना राखी आफ्ना समर्थक र विरोधीहरूको सूची तयार पार्न लगाए । अछामीहरू अरु ठाउँका झैँ झारा स्वरुप भारी खेप्नुपर्दथ्यो । त्यसै परम्पराको आडमा अछाममा भएको २–३ पटकको विद्रोहका कारण पनि अछामीलाई हेपेर बढी दुःख दिई अनेक शोषण गर्दथे । त्यसमा जंगबहादुरको उदयले झन् आगोमा घिउ थपिएको थियो ।’

सुवेदीका अनुसार, सरकारले तोकेको भन्दा बढी दुःख अछामीहरूलाई नदिन अनुरोध गर्दै बलदेव नेपाली पल्टन रहेको ठाउँ बान्नीगढीमा गएका थिए । बान्नीगढीमा उनको अनुरोधउपर कुनै सुनुवाइ नभएपछि उनले जंगबहादुरलाई नै बिन्तीपत्र लेखे । यद्यपि त्यो पत्रको व्यहोरा कस्तो थियो भन्ने पत्ता लागेको छैन । 

कतैबाट सुनुवाई नभएपछि नेपाली पल्टनले गरेको ज्यादतीका विरुद्ध बलदेवले गाउँगाउँमा प्रचार गरे । यसले गर्दा अछाममा पल्टनको व्यवहार अझ कडा हुन गयो, जनताले अझ बढी मार सहनुपर्ने भयो । बलदेवले आफ्नो समर्थकहरूलाई समेटेर गोप्य संगठन गर्न आरम्भ गरे । ‘अछामका गाउँ पसेका एक्लै दुक्लै नेपाली पल्टनका मानिसलाई पक्री काटकुट गरी टुक्रा टुक्रा पारी लास गायब गरिदिन थाले । नेपाली पल्टनको पक्षमा बोल्ने, मद्दत गर्नेलाई पनि गोप्य तरिकाले हत्या गर्न थाले । त्यसपछि नेपाली पल्टनले पनि छापामार युद्ध गर्ने नीति लिनुपर्ने भयो,’ सुवेदीले लेखेका छन् । 

नेपाली सिपाही राणाहरूले खटाएको हो, राजाले खटाएको होइन भन्ने प्रचार बलदेवले गरेका थिए । यसपछि राणा पक्षहरूले बलदेवलाई नयाँ नाम दिए– ‘बाँकावीर’ । ‘बाँकावीर अर्थात् एउटा बहादुर बाँकी रहेछ भन्ने अर्थले प्रचार गर्न थालियो । त्यसको अछामी अर्थ वनमा हुने मुख कोक्याउने बाँको खाएर जनमुक्तिको काममा लाग्ने व्यक्तिको रुपमा बलदेव शाहलाई लिन थालिएको पनि बुझिन्छ,’ सुवेदीको पुस्तक भन्छ, ‘बाँकावीर पूरा राणाहरूका विरोधी भएर श्री ५ महाराजधिराजका परमभक्त थिए । अछामीलाई पनि उनले कुरा बुझाए ।’ 

१९०६ सालमा जंगबहादुर हात्ती चढी अछाम रिडीकोट पुगेका थिए । त्यतिबेला बलदेव शाहले गरेको विद्रोहबारे जानकारी लिएपछि जंगबहादुरले स्वाँरहरूलाई हात लिई बाँकावीरलाई खत्तम गर्ने अख्तियार प्रदान गरेका थिए । कर्णेल खड्गबहादुर कुँवर राणाजीबाट प्रसारण गर्न लगाइएको पत्रमा स्वरुपसिंह स्वारलाई सम्बोधन गरिएको थियो । कोतपर्व, भण्डारखाल पर्व र अलौ पर्वहरूमा मर्नबाट बचेका भगुवा भारदारका मद्दतले राणाहरूमाथि दगा गर्न आएको अछामको बलदेव शाहीलाई काटी खतम गर्न भवानीसिंह स्वार, कालुसिंह स्वार र रुद्रवीर स्वारलाई खटाइएको पत्रमा उल्लेख थियो । 

यता बाँकावीरले १९०६ सालको वर्षाऋतुमा बान्नीगढीलाई ध्वस्त पार्ने योजना बनाएका थिए । रातभर घुमफिर गरी काफलखेतको धारामा नुहाउन लागेको मौका पारी रुद्रवीर स्वाँरले खुकुरीले छप्काएर बाँकावीरको हत्या गरे । रुद्रवीर बाँकावीरलाई मद्दत गर्न भनी साथमा हिँडेका थिए । 

सुरतबहादुर शाहले २०५७ जेठमा प्रकाशित गरेको पुस्तिकामा लेखेका छन्, ‘नेपालमा सर्वप्रथम नागरिकको तर्फबाट राणाशासनको निरंकुशताको विरुद्ध शंखनाथ गर्ने ‘छापामार आन्दोलन’का प्रणेता बाँकावीरलाई जसरी राणाशासनले अन्त गर्‍यो, त्यसबाट उहाँलाई नेपालको ‘प्रथम अमर सहिद’ को रूपमा प्रतिष्ठापित गर्नु न्यायका हिमायति सम्पूर्ण नेपाली जनता, जनप्रतिनिधि एवं श्री ५ को सरकारको महानत कर्तव्य हुन आउँछ । अतः बाँकावीरलाई अविलम्ब अमर सहिद घोषणा गर्न श्री ५ को सरकारसँग माग गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप