सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
स्थानीय सरकार

सुदूरपूर्वको फक्ताङलुङ गाउँपालिकाबाट केही सिक्ने कि ?

अध्यक्षको गाडी एम्बुलेन्सका रूपमा प्रयोग, अध्यक्षको पारिश्रमिक पालिकाको विकास निर्माणमा खर्च
शनिबार, २० माघ २०८०, ०६ : १०
शनिबार, २० माघ २०८०

विराटनगर । सुदूरपूर्वको दुर्गम फक्ताङलुङ गाउँपालिकाको अध्यक्ष हुन् ३८ वर्षे राजन लिम्बू । सिङ्गापुरे पूर्वलाहुरे उनी ३४ वर्षको उमेरमा पेन्सन पकाएर नेपाल फर्के । त्यसपछि काठमाडौँमा विभिन्न पेसा व्यवसाय सञ्चालन गर्दै आएका उनलाई राजनीतिमा लाग्ने हुटहुटी जाग्यो ।

लिम्बूले २०७९ साल वैशाखमा भएको स्थानीय तह निर्वाचनमा माओवादीबाट फक्ताङलुङ गाउँपालिकाको अध्यक्षको टिकट लिए । जीवनको लामो समय लाहुरे भएर बिताएका उनलाई राजनीतिमा हुने भित्री÷बाहिरी षडयन्त्रपूर्ण चलखेल थाहा थिएन ।

तर, उनलाई पालिकाको अध्यक्ष बन्नुपर्छ भन्ने हुटहुटी थियो । एमालेले निवर्तमान अध्यक्षलाई नै उम्मेदवार बनाएको थियो । माओवादीका पुराना कार्यकर्ताहरूले लिम्बूलाई अस्वीकार गरे । युद्धमा सहभागी भएकाहरूका लागि अप्रत्याशित ढंगले लिम्बूले टिकट ल्याएको रत्तिभर चित्त बुझेको थिएन । प्रायजसो पुराना र स्थापित माओवादीहरू एमालेतिर लागे ।

‘त्यसबेला गठबन्धनचाहिँ हामीले गरेका थियौँ । तर, एमालेको उम्मेदवार जिताउन भित्रभित्रै महागठबन्धन भयो,’ उनी त्यसबेलाको अनुभव सुनाउँछन्, ‘तर, जनताले मलाई पत्याए ।’

जनताले पत्याएर जितेपछि उनले पालिकाको सुधारको काम सुरु गरे । अध्यक्षले चढ्ने गाडीलाई एम्बुलेन्स बनाए । पालिकाभरिका लागि निःशुल्क एम्बुलेन्स सेवा दिए । पालिका बाहिर जानुपरे पनि ५० प्रतिशत छुटमा एम्बुलेन्स सुविधा दिइरहेका छन् उनी ।

उनले आफ्नो पारिश्रमिक र सेवा सुविधा पनि पालिकाकै विकास खर्चमा समावेश गरे । ‘मलाई पेन्सनबाटै ७०–७५ हजार रुपैयाँ मासिक आइहाल्छ, पालिकाको पैसा मैले किन खानुपर्‍यो,’ उनले भने, ‘गाडी पनि मैले मेरै प्रयोग गरेको छु । सेवा सुविधा पनि लिएको छैन ।’

उक्त पालिका चीन र भारतसँग जोडिएको छ । ११ हजार ७९१ जनसङ्ख्या रहेको पालिकाको उत्तरमा चीन र पूर्वमा भारतले छोएको छ । पालिकामा लिम्बू, शेर्पा, भोटे, राई, तामाङ, ब्राह्मण, क्षेत्री, दलितलगायतको बसोबास छ । कञ्चनजंगा हिमशृङ्खला, कुम्भकर्ण हिमाल, ओलाङचुङगोला, सिङ्जेमा ताल, साम्दो पोखरी र घुन्सा जस्ता पर्यटकीय क्षेत्र यही पालिकामा छन् ।

पालिकामा जडीबुटी प्रशोधन केन्द्र सञ्चालन गर्न सक्ने सम्भावना प्रशस्त छ । ‘सिमी, आलु, मकै, कोदो, फापर, जौ, चिनो, कागुनो, लगायतका तेलहन, दलहन, खाद्यान्न तथा नगदे बालीको पर्याप्त मात्रामा उत्पादन गरी निर्वाहमुखीबाट व्यावसायिक कृषितर्फ उन्मुख हुने योजना छ,’ लिम्बूले सुनाए, ‘हामी अर्ग्यानिक उत्पादनको पालिका घोषणा गर्ने तयारीमा छौँ । पालिकामा इ गभर्नेन्स कार्यक्रम लागू गर्ने लक्ष्य लिएका छौँ ।’

पालिकाले उत्पादन गरेको वस्तुको लागि बजारको अभाव छैन । पालिकामा भौगोलिक विकटताका कारण यातायात सञ्जाल विस्तार गर्न र सञ्चारको पहुँच पुर्‍याउन सकिएको छैन । तर तमोर करिडोरमा बन्दै गरेको यातायातले अहिले केही सहज हुन थालेको छ ।

यो पालिकामा पूर्वधरहरूको यथेष्ट मात्रामा विकास र विस्तार भएको छैन । शैक्षिक अवस्थामा राष्ट्रियस्तरभन्दा न्यून छ । विद्यालय छाड्ने, अनुपस्थित हुने र कक्षा दोहोर्‍याउने विद्यार्थीको सङ्ख्या बढ्दो छ । प्रभावकारी स्वास्थ्य सेवाको प्रत्याभूति गर्न अझै सकिएको छैन । यही कुरालाई मध्यनजर गर्दै अध्यक्ष लिम्बूले विद्यार्थीलाई दिवा खाजा खुवाउँदा जङ्क फुडलाई पूर्ण प्रतिबन्ध लगाएका छन् । स्थानीय उत्पादित खाद्य वस्तुहरूको परिकार खुवाउनु पर्ने व्यवस्था लागू गरेका छन् ।

संघीय सरकारबाट दिने दिवा खाजाको १५ रुपैयाँमा पालिकाले ५ रुपैयाँ थप गरेर दिएको छ । ‘कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीहरूलाई निःशुल्क पठनपाठनको व्यवस्था छ । कक्षा १ देखि ७ कक्षासम्म अङ्ग्रेजी माध्यमबाट निःशुल्क पठनपाठन सुरु भएको छ । कक्षा ९ र १० का विद्यार्थीलाई अङ्ग्रेजी, गणित र विज्ञान विषयको निःशुल्क कोचिङ कक्षाको व्यवस्था गरिएको छ,’ उनले भने ।

पालिकाले अनेकौँ सम्भावना बोकेको पनि उनी बताउँछन् । ‘पालिकालाई अलैँचीको पकेट क्षेत्रको रूपमा विकास गर्न सकिने अवस्था छ । कञ्चनजङ्घा आधार शिविर, मानाभारा पर्वतसम्मको पदयात्रा तथा साहसिक पर्यटनको विकास र विस्तार गर्न सकिने अवसर छ,’ अध्यक्ष लिम्बूले भने, ‘सयौँ मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने सम्भावना छ ।’

चालु आर्थिक वर्षमा ४१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको पालिकाको बजेट अनुमान भने ४२ करोड ९४ लाख ४५ हजार रुपैयाँ छ । ‘कृषि, जलविद्युत्, जडीबुटी र पर्यटनः समृद्ध फक्ताङलुङ निर्माण हाम्रो अभियान’ भन्ने मुख्य नारा पालिकाको छ ।  पालिकाले टेलिमेडिसिन सेवा विस्तार गरेको छ । २ वटा एम्बुलेन्सले २४ सै घण्टा सेवा दिइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बे बताउँछन् ।

पालिकाले प्राथमिक स्वास्थ्य चौकीमा आवश्यक औषधि उपकरणको व्यवस्था गरेको छ । पालिकाको दुई स्थानमा सरकारले दिने ९८ प्रकारका औषधि बाहेक अन्य औषधि पनि विशेष सहुलियत दरमा उपलब्ध गराउँदै आएको छ ।

‘गाउँपालिकाभित्र बर्थिङ सेन्टरहरूमा प्रसूति सेवा लिनेलाई प्रतिव्यक्ति ७ हजार रुपैयाँको दरले प्रसूति स्याहार खर्च उपलब्ध गराइरहेको छ । सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्‍याइदिने व्यवस्था गरिएको छ,’ लिम्बू भन्छन् ।

लिम्बूले आफ्नो मासिक सेवा सुविधा बापतको वार्षिक रकम ५ लाख ८६ हजार ८ सय रकम फक्ताङलुङ डेभलपमेन्ट फाउन्डेसन नामक संस्था स्थापना गरी पालिकावासीको हितमा खर्च गर्ने व्यवस्था मिलाएका छन् । पालिकाले उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहनस्वरुप पुरस्कारको पनि व्यवस्था गरेको छ ।

भारत र चीन जोड्ने ओलाङ्चुङ गोला नाका सञ्चालन हुने र तमोरमा क्षमता अनुसारको जलविद्युत् उत्पादन हुने हो भने आफ्नो पालिकाको विकास र समृद्धि चाँडै आउने लिम्बूको विश्वास छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप