बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘गठबन्धन दलमा आबद्धताकै कारण मेयर सिंहको नागरिकता प्रकरण छानबिनको दायरामा आउन सकेन’

शनिबार, २० माघ २०८०, १५ : ३३
शनिबार, २० माघ २०८०

वीरगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन दलमा आबद्धता रहेकै कारण वीरगन्जको चर्चित किर्ते नागरिकता प्रकरणले मूर्तरूप लिन नसकिरहेको जिकिर गरेका छन् । वीरगन्जका मेयर राजेशमान सिंहको नागरिकता प्रकरण अहिलेसम्म छानबिनको दायरमा नआएकोमा आश्चर्य व्यक्त गरेका हुन्् ।

वीरगन्जबाट प्रकाशित हुने अङ्कुश दैनिक पत्रिकाको रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले पछिल्लो समय राज्यले व्यक्ति र पद हेरेर फरक–फरक व्यवहार गरिरहेको घटनाक्रमले देखाइरहेको बताए । ‘एउटा कुनै व्यक्तिले नागरिकतामा किर्ते गर्‍यो भने, त्यो नागरिकता किर्ते गर्ने व्यक्ति कहाँ पुग्छ ? तर कुनै व्यक्ति कुनै एउटा राजनीतिक दलमा छ, पदमा छ । त्यो राजनीतिक दल अहिले गठबन्धनको दलको बैठकमा बस्ने हैसियत राख्छ भने उसले त्यही कारणले २ वटा नागरिकता बनाउने छुट पाएको छ, कोहीले जेलबाट छुट पाएको छ ।’

‘यस्तो पनि स्टेट हुन्छ ?’ पूर्वमन्त्री थापाले प्रश्न गरे, ‘राज्यका लागि त सबै बराबर हुन्छन् नि । त्यसकारण राज्यले जब यस्तो सवालमा गलत गर्छ, त्यसमा प्रश्न गर्ने मिडियाको काम हो । ताकि मैले नक्कली नागरिकता बनाउनेलाई छुट दिएमा, मलाई सञ्चारमाध्यमले छोड्दैनन् । यो डर हुनुपर्छ, यो वातावरणको सिर्जना मिडियाले गर्नुपर्छ ।’ 

राजनीतिक, प्रशासनिकसहितका हरेक क्षेत्रमा देखिएका समस्याहरूबारे मिडियाले कलमबाट घच्घच्याइरहनुपर्ने जरुरी रहेको उनको भनाई छ । महामन्त्री थापाले राजनीतिक दलले गर्नुपर्ने सुधारका विषयहरूबारे चर्चा गरेका थिए । सबैलाई आ–आफ्नो ठाउँबाट सुधारको प्रयासको थालनी ग¥यो भने देशमा व्यापक परिवर्तन उनको ठहर थियो ।

कार्यक्रममा सहभागी प्रतिनिधि सभा सदस्य प्रदीप यादवले मिडिया स्वतन्त्र नभएको जिकिर गरेका थिए । मिडिया कुनै दलको हुनुपर्छ भन्ने परिपाटीको अन्त्य हुनुपर्ने उनले सुझाव दिएका थिए ।  

२५ वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा सांसद अजय चौरसियासहित वरिष्ठ पत्रकार हरिहर विरही, कबीर राणालगायतले आफ्नो देशको अवस्थाबारे आ–आफ्नो धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप