सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अध्यात्म

ओशो : एक अनौठा बुद्ध पुरुष

शनिबार, २० माघ २०८०, १५ : ३७
शनिबार, २० माघ २०८०

२०औँ शताब्दीको मध्यतिर विश्व आध्यात्मिक आकाशमा एउटा अनौठो फूल फुल्यो । बुद्ध पुरुषहरूको शृंखलामा यस्तो चेतनाको शिखर कहिल्यै प्रकट भएको थिएन, जसले भौतिक दुनियाँलाई पनि उत्तिकै प्रेम गर्न सिकाए, अनि शाश्वत सत्यप्रति मान्छेहरूलाई त्यत्तिकै आकर्षित गराए । ती सबै विशेषता लिएर आएका महान् बुद्ध पुरुष थिए ओशो । 

ओशो विश्वव्यापी रूपमा फैलिरहेको हिंसा, घृणा, चिन्ता लगायत यावत मानवीय समस्याको समाधान थिए । ओशोले जंगल र गुफाहरूमा दरिद्र बनिरहेको अध्यात्मलाई समृद्ध बनाउन चाहे । विज्ञान र प्रविधिको चरम विकास अनि समृद्ध भौतिक दुनियाँमा देखापरेको चरम निराशा, हिंसा र वैमनश्यतामा शान्ति र प्रेम ल्याउन प्रयासरत रहे उनी । 

११ डिसेम्बेर १९३१ मा भारतको मध्यप्रदेश राज्यको कुछवाडा भन्ने गाउँमा अध्यात्मको विशाल सम्भावना बोकेर ओशोको जन्म भयो । ओशोको जन्मसँगै विश्व आध्यात्मिक युग स्पष्ट रूपमा दुई भागमा विभाजन भए— ओशोपूर्व र ओशोपश्चात्का रूपमा । अध्यात्म, धर्म र जीवन दर्शनमा बिल्कुलै नयाँ आयाम दिए महान् बुद्ध पुरुष ओशोले । ओशो एक अत्यन्त अनौठा बुद्ध पुरुष भए यो दुनियाँमा । उनी महान् चिन्तक र रहस्यदर्शी थिए । उनको जीवन रहस्यहरूले भरिएको थियो । यस पंक्तिकारले स्वामी आनन्द अरुणको चरणकमलमा वर्षौंसम्म ती महान् गुरु ओशोको सन्दर्भमा सत्संग गर्ने अवसर पाएको छ । 

ओशोभन्दा अघि धर्म र विज्ञान परस्पर विरोधीजस्ता देखिन्थे । यस धर्तीमा ओशोको आगमनपछि विज्ञान र धर्मबिचको पर्खाल भत्किएको छ । विज्ञान र अध्यात्मको मिलनको दर्शन विश्व सामु ओशोले ल्याए । ओशोको आगमनपछि जंगल र गुफा अनि कुटीमा बस्ने साधुहरू निर्धक्कसँग विज्ञान र प्रविधिको उपयोग गर्न थालेका छन् । आधुनिक सुविधाको उपयोग गर्न हँुदैन भन्ने महात्माहरू आधुनिक गाडी चढ्न थालेका छन्, अनि ल्यापटप र मोबाइल खुसीसाथ चलाउन थालेका छन् । विज्ञान अध्यात्मको विरोधी चिज हो भन्ने भ्रम बिस्तारै हट्दै जान थालेको छ । 

प्रतिभाशाली वैज्ञानिक, लेखक, महान् चिन्तक अनि विद्वानले पनि अध्यात्म अन्धविश्वास र संसारबाट पलायनको दर्शन हो भन्ने विचारबाट माथि उठी अध्यात्म जीवन जिउने कला हो भन्ने बुझ्न थालेका छन् । ओशोले संसारका प्रतिभाशाली व्यक्तिहरू, कलाकारहरू, कविहरू, लेखकहरू, वैज्ञानिकहरूलाई अध्यात्मप्रति आकर्षित गराए । अध्यात्मलाई विज्ञान र तर्कको कसीबाट खरो उतारे । उनले तर्कशीलहरूलाई, विचारकहरूलाई अनि समाजका प्रतिभाशाली व्यक्तिहरूलाई अध्यात्मको विज्ञानमा सहमत मात्र गराएनन्, उनीहरूलाई ध्यान, प्रेम र भक्तिको संसारमा डुबाए । 

ओशोभन्दा अघि धर्म र विज्ञान परस्पर विरोधीजस्ता देखिन्थे । यस धर्तीमा ओशोको आगमनपछि विज्ञान र धर्मबिचको पर्खाल भत्किएको छ । विज्ञान र अध्यात्मको मिलनको दर्शन विश्व सामु ओशोले ल्याए ।

ओशोभन्दा अघि संसार र अध्यात्म परस्पर विरोधी थिए । उनले संसार र अध्यात्म एक अर्काका परिपुरक हुन् भनी बताए । ओशो भन्दाअघि मान्छे सन्न्यासी बन्न घर–परिवार, पेसा, व्यवसाय छोडी जंगल र गुफाहरूमा जानुपथ्र्यो तर ओशोले सन्न्यासलाई बहुत सरल र मिठासपूर्ण बनाए । घर–परिवार, पेसा, व्यवसाय अँगालेरै सन्न्यासी बन्न सकिने उदाहरण प्रस्तुत गर्दै सन्न्यासलाई रोमाञ्चकारी बनाइदिए ओशोले । सांसारिक व्यक्तिहरूको अब सन्न्याससँग दुश्मनी रहेन । 

संसार र सन्न्यासका बिचमा मैत्रेयपूर्ण सुमधुर सम्बन्ध स्थापित गरिदिए । उनले कृष्णमाथि प्रवचन दिँदादिँदै २६ सेप्टेम्बर १९७० मा भारतको मनालीमा भएको ध्यान शिविरमा नवसन्न्यास दीक्षा दिन प्रारम्भ गरे । नवसन्न्यास अध्यात्मको इतिहासमा युगान्तकारी छलाङ हो, जुन ओशोले यो धर्तीमा प्रयोग गराए । यस्तो साहस विगतमा कसैले गर्न सकेको थिएन । आफ्नो पेसा, व्यवसाय, जागिर, घर–परिवारबाट अलग्गिएर होइन, त्यसलाई अझै सुगन्ध थप्दै अझ सम्बन्धहरू सुमधुर बनाउँदै अनि अझै पेसा र व्यवसायमा सिर्जनशीलता थप्दै मान्छेहरू सन्न्यासी पनि बन्न सक्छन् भन्ने प्रयोग ओशोले नवसन्न्यासका रूपमा हिमाञ्चल प्रदेशको मनालीबाट सुरु गरे ।

ओशोले ध्यानको क्षेत्रमा नयाँ आयाम थपे । २१औँ शताब्दीमा प्रविधि, अति महत्त्वाकांक्षा, भौतिक विकासले गर्दा मान्छेहरू धेरै अशान्त र अधैर्य हँुदै गइरहेका छन् । उनीहरू आँखा चिम्लिएर शान्त रूपमा बस्नै नसक्ने भइसकेका छन् । त्यसले गर्दा यसअघि गुरुहरूले सिकाउँदै आएको निष्क्रिय ध्यानले अहिलेको अधिकांश मनुष्यलाई ध्यानमा लैजान मुस्किल हुन थालेको थियो । ओशोले यो सब देखेर अनि अहिलेको मनुष्यलाई नियालेर ध्यानको इतिहासमा यो पृथ्वीमा पहिलोपटक सक्रिय ध्यान आविष्कार गरे । उनले ध्यानमा क्रियाकलाप (एक्टिभिटी) जोडे । मनुष्यलाई ध्यानमा योग, नृत्य, रेचन जोड्दै अन्तिममा ध्यानमा बसाउने विधि यो धर्तीमा उनको नौलो प्रयोग थियो । डाइनामिक मेडिटेसन, कुण्डलिनी ध्यान, मण्डला ध्यान, चक्र ब्रिदिङ इत्यादि उनले आविष्कार गरेका सक्रिय ध्यानहरू हुन् । 

ओशोभन्दा अगाडि ध्यानमा क्रियाकलाप थिएन । ओशोपछि अहिले हरेक गुरुहरूले आफ्नो ध्यानमा क्रियाकलाप जोड्न थालेका छन् । संसारमा सबैभन्दा बढी ध्यान विधि आविष्कार गर्ने गुरु हुन् ओशो । साथै लुप्त भइसकेका धेरै ध्यान विधिहरूलाई पुनर्जागृति गर्ने गुरु पनि हुन् । ओशोले मनुष्यलाई ६ सयवटा ध्यानका विधि दिएका छन् । 

संसारमा विभिन्न कालखण्डमा विभिन्न बुद्ध पुरुष आए । यस धर्तीमा दुई हजार वर्षअघि जिसस आए, आफ्नो प्रेमको सन्देश बाँडेर गए । आजभन्दा २५०० वर्षअघि भगवान गौतम बुद्ध आए अनि शान्ति, अहिंसा र ध्यानको आफ्नो देशना फैलाएर गए । त्यसैगरी शिव, कृष्ण, रामजस्ता महाअवतारहरूले आफ्नो लीला देखाएर गए । अरबको मरुभूमिमा मोहम्मदले आफ्नो देशना बाँडेर गए । हरेक बुद्ध  पुरुषले आफ्नो देशना र सन्देश बाँडेर गएका छन् । तर ओशो यस्ता महापुरुष हुन्, जसले आफ्नो दर्शन, सन्देश र देशना दिएर मात्र गएनन्, उनले यसअघि भएका बुद्ध पुरुषहरूको देशनालाई पुनर्जागृत गरेर गए । उनले आफ्नो सन्देश मात्र बताएर गएनन्, आफूभन्दा अघि भएका बुद्ध पुरुषहरूलाई परिचित गराएर गए । विगतका ती बुद्ध पुरुषहरू जसको दर्शन मनुष्यले भुलिसकेको थियो, उनीहरूको दर्शनको सुन्दर व्याख्या गरे । ओशोले कृष्ण, बुद्ध, जिसस, नानक, कबिर, फरिद, मन्सुर, लाओत्से लगायत अनेकौँ बुद्ध पुरुषहरूको बारेमा मनुष्यलाई परिचित गराएर गए । त्यसले गर्दा विभिन्न धर्म, सम्प्रदाय र पन्थहरूका बिचमा समन्वय ल्याउन ठुलो टेवा पुगेको छ ।

ओशोले हरेक जात, धर्म र सम्प्रदायका व्यक्तिलाई आफ्नो आश्रममा बिनाभेदभाव आफ्नो देशना बाँडे । उनले क्रिस्चियन, हिन्दु, मुसलमान, जैन, शिख, यहुदीबिचको पर्खाल मेट्नुपर्छ भन्दै धर्म र सम्प्रदायले बनाएको मनुष्यको खाडल पुर्दै मानवता हाम्रो एक मात्र धर्म हो भने । उनको आश्रम पुना र रजनिशपुरमा विश्वभरबाट मान्छेहरू आउँथे । त्यहाँ को कुन धर्मको हो, कुन जातको हो, कुन सम्प्रदायको हो, कुन देशको हो केही पत्तै हँुदैनथ्यो । सब मान्छेहरू प्रेमपूर्ण, उत्सव र उल्लासमय रूपले हरेक दिन उत्सव मनाउँथे । 

ओशोले अध्यात्मको क्षेत्रलाई तथाकथित नियमहरूबाट मुक्त गरे । उनले तार्किक र वैज्ञानिक ढंगले प्रवचन दिन्थे । उनको प्रवचनमा धर्ममा मौलाएको पाखण्ड र अन्धविश्वासको कठोर आलोचना हुन्थ्यो ।

ओशो भन्थे, यो मनुष्यलाई विभाजित बनाएका यी सारा धर्म मेटिनुपर्छ । राष्ट्रियताको नाममा यो काल्पनिक सीमारेखाहरू मेटिनुपर्छ । एक धर्म र अर्को धर्मबिचको युद्ध अनि यही धर्मले बनाएको विभाजन मेटिनुपर्दछ । अनि एक राष्ट्र र अर्को राष्ट्र बिचको युद्ध, राजनीतिज्ञहरूले कथित राष्ट्रियताको हबाला दिँदै काल्पनिक सीमारेखाहरू निर्माण गर्दै बनाएको राष्ट्रको परिणाम हो । ओशोले भन्थे, यहाँ साइबेरियाको चरालाई भारत आउन भिसा चाहिँदैन, तर रुसको मान्छे भारत आउन भिसा चाहिन्छ । यो कस्तो स्वतन्त्रता हो ? ओशो एउटा विश्व राष्ट्र र विश्व सरकारको वकालत गर्थे । 

ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण भन्छन्, हरेक बुद्ध पुरुषको आ–आफ्नो विधा हुन्छ । बुद्धले ध्यान गर्न सिकाए । पतञ्जलीले योगलाई आफ्नो विधा बनाए । मीराले भक्तिको कुरा गरिन् । यस धर्तीमा हरेक बुद्ध पुरुषसँग आ–आफ्ना रङ छन् । यस धर्तीमा शिव, कृष्ण र ओशो यी तीन बुद्ध पुरुषहरू यस्ता अवतार हुन्, जोसँग जीवनका सबै रङहरू छन् । मनुष्यको इतिहासमा यी तीनजना व्यक्तिहरू पूर्ण अवतार हुन् । ओशो २१औँ शताब्दीका यस्ता बुद्ध पुरुष हुन्, उनको मार्गमा ध्यान, योग, भक्ति, तन्त्र, सांख्य, सबै समेटिएका छन् । उनले ध्यानको उचाइमा पनि पु¥याउँछन् र भक्तिको गहिराइमा पनि लैजान्छन् । अनि उनी ज्ञानको पनि महासागर हुन् । उनको मार्गमा सबै स्वभावका साधक समेटिन सक्छन् । 

ओशोले आध्यात्मिक इतिहासमा जीवन र जीवनको नियमलाई पूर्ण रूपमा स्वीकार गरे । उनले भने– परमात्माले दिएको स्वभाव भनौँ अथवा प्रकृतिको नियमलाई पूर्ण रूपमा स्वीकार गर । प्रकृतिले दिएको सेक्सलाई सहज रूपमा स्वीकार गर । 

उनले यौन उशृङ्खलताको वकालत कहिल्यै गरेनन्, तर प्राकृतिक र प्रेमपूर्ण रूपले जीवन जिउन प्रेरित गरे । उनले भने– धर्मको जगत्मा अप्राकृतिक रूपमा जबर्जस्ती ब्रह्मचार्यमा रहनुभन्दा प्राकृतिक रूपमा यौनलाई स्वीकार गर । प्राकृतिक रूपमा ब्रह्मचार्य घट्यो भने त्यो सुन्दर हुन्छ तर बलजफ्ती रूपमा ब्रह्मचार्यमा रहँदा त्यसको परिणाम कुरूप हुन्छ । 

ओशोले पुरुष र स्त्रीबिच हुने आकर्षण स्वाभाविक हो भन्दै स्त्री र पुरुषबिच हुने प्रेमको पक्षमा वकालत गरे । उनले प्रेमको पक्षमा वकालत गर्दा परम्परावादी धर्मगुरुहरू अनि पण्डित र पादरीहरू उनको विरुद्धमा उभिए । अध्यात्मको जगत्मा ओशोभन्दा अगाडि यो कठोर सत्य भन्ने साहस कुनै गुरुले जुटाएका थिएनन् । आध्यात्मिक गुरु भएर ओशोले यो धर्तीमा पहिलोपटक अनुशासित प्रेम र यौनको पक्षमा बोले । 

ओशोको सारा जोड ध्यानमा रह्यो । उनले ध्यानको अनिवार्यताबाहेक आफ्ना शिष्यलाई कुनै नियम दिएनन् । यसअघि यो खाने, यो नखाने, यति बजे उठ्ने, यति बजे सुत्ने, यो गर्ने, यो नगर्ने इत्यादि नियमहरूको चाङ भएको धर्मको जगत्मा पहिलोपटक ओशोले अध्यात्मको क्षेत्रलाई तथाकथित नियमहरूबाट मुक्त गरे । उनले तार्किक र वैज्ञानिक ढंगले प्रवचन दिन्थे । उनको प्रवचनमा धर्ममा मौलाएको पाखण्ड र अन्धविश्वासको कठोर आलोचना हुन्थ्यो । धर्मका नाममा शोषण गरिरहेका पण्डित, पुरोहित, पादरी र पोपहरूको कठोर आलोचना गर्थे उनी । उनको प्रवचन सुनेपछि कुनै पनि मान्छे प्रभावित भइहाल्थ्यो । उनी हाँस्दै, खेल्दै, नाच्दै ध्यानमा रमाउने दर्शन दिने गुरु थिए । 

आध्यात्मिक प्रवचनमा जोकहरू भनी पिर र चिन्ताले व्याकुल मान्छेहरूलाई उनले उन्मुक्त तरिकाले हँसाउँथे । अध्यात्मको जगत्मा अनि ध्यानको इतिहासमा हास्य ध्यान उनले पहिलोचोटि प्रयोग गराए । उनले भने– मान्छेमा गम्भीरता रोग हो । उनले आफ्ना प्रवचनहरूमार्फत अथाह बिपुल साहित्य सिर्जना गरे । उनीबाट सात सयभन्दा बढी साहित्यहरू अनि १० हजार वटा रेकर्ड गरिएका प्रवचनहरू मनुष्यका लागि उपलब्ध छन् । 

यस्ता धेरै अनौठा विशेषता थिए महान् बुद्ध पुरुष ओशोमा । यस्ता अनौठा बुद्ध पुरुषलाई यो समाज र विश्वले चिन्न र बुझ्न सकेन । स्वामी आनन्द अरुण भन्छन्, यो शताब्दीको अन्त्यसम्म ओशोलाई विश्वले चिन्नेछ र उनी विश्वव्यापी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

स्वामी ध्यान आशिष
स्वामी ध्यान आशिष
लेखकबाट थप