शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण सम्पन्न भइसकेको सडकमा फेरि वडाध्यक्षको डोजर

आइतबार, २१ माघ २०८०, १४ : ४४
आइतबार, २१ माघ २०८०

चितवन । चितवनको भरतपुरमा एक वडाध्यक्षले निर्माण सम्पन्न भएको सडकमा फेरि जथाभाबी डोजर चलाएको आरोप लागेको छ । वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालले परिस्थितिको मूल्यांकन नगरी राष्ट्रिय गौरवको निर्माणाधीन आयोजनामा डोजर चलाएका हुन् । 

उनको कार्यको सडक डिभिजन भरतपुरले आपत्ति जनाएको छ । सडक विभागको स्वीकृति बिना महेन्द्र राजमार्गको (पुल्चोक–गोद्राङ) हाल ६ लेन सडक बनिरहेको र चितवन मेडिकल कलेजको मिडियनलाई उनले भत्काउने कार्य गरेका हुन् । सो कार्य सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को उपदफा २ को नियमविपरीत भएको सडक डिभिजनको भनाइ छ । 

सडक डिभिजन भरतपुरको सूचनामा भनिएको छ, ‘सडक हामी सबैका साझा सम्पत्ति हो । यसका उपभाग मात्र नभई संरक्षण गर्नु हामी सबै नागरिकको दायित्व पनि हो । सडक विभागको स्वीकृति बिना महेन्द्र राजमार्गका (पुल्चोक–गान्द्राङ) हाल ६ लेन सडक बनिरहेका चितवन मेडिकल कलेज अगाडिको बाटाका मिडियनलाई केहि जनप्रतिनिधिहरू समेतको नेतृत्वमा भत्काउने कार्य भएको हुँदा सार्वजनिक सडक ऐन २०३१ का दफा १९ का उपदफा (२) का नियम ध्यानाकर्षण हुने जानकारी गराइन्छ ।’

यस्तै प्रवक्ता चन्देश्वर साहले माघ १९ मा भरतपुर महानगरपालिकासहित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई पत्राचार गर्दै स्वीकृति नलिई सार्वजनिक सडक वा सडक सीमामा कुनै पनि किसिमको काम गर्न नपाइने व्यवस्था रहेको स्मरण गराएका छन् । राष्ट्रिय राजमार्गको सीमाभित्र घर टहरा निर्माण गर्न, नाली पुरेर प्रवेश मार्ग बनाउन, सडक संरचना भत्काउन, ढल तथा पानी तथा सडक किनाराको नाला मिसाउन, कुनै पनि प्रकारको स्वीकृति बिना बनेको संरचना तथा यस्तै प्रकृतिका अन्य यातायात सञ्चालन एवम् सडक प्रयोगकर्तालाई अवरोध पुग्ने गरी कार्य गर्न सडक ऐनले निषेध गरेको उनको भनाइ छ । 

तर, निर्माण सम्पन्न भइसकेको सडकलाई फेरि खनालको नेतृत्वमा भत्काउने कार्य भएपछि सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अनुरोध गरिएको जनाइएको छ । विभागले खनालमाथि अनुसन्धान गरी सार्वजनिक सडक ऐन २०३१ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्न अनुरोध गरिएको छ । 

तर, प्रशासनले यसबारे कुनै कदम चालेको छैन । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले यसबारे बुझ्ने कार्य भइरहेको बताए । जिल्ला प्रहरी कार्यालयले पनि ठोस जवाफ दिएको छैन । शक्तिको आडमा उनले भरतपुर महानगरपालिकालाई नै चुनौती दिएको बताइएको छ  ।

यसैबीच खनालले भने सडक भद्रगोल भएपछि आफूले नभएर स्थायीयले डोजर ल्याएर काम गरेको दाबी गरे । यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै भने उनले बरु आफूले डोजर लगाएर नखन्न आग्रह गरेको बताए । विरेन्द्र क्याम्पस चोकदेखि विशाल चोकसम्म बाटो पनि लगभग तीन महिना अबरुद्ध जस्तै बनेपछि त्यहाँ समेत स्थानीयले नै काम गरेको उनले बताए ।

चौबिस कोठीमा पनि त्यस्तो काम गरेको भन्दै उनले त्यतिबेला बरु वडाध्यक्षले सहयोग नगरेको भनेर गुनासो स्थानीयबाट आएको बताए । उनले भने, ‘बाटो तीन महिनासम्म नबनेपछि समस्या भएको थियो । उहाँहरुले गर्नुभएको हो । बरु मैले गएर यसो नगर्नुहोला चाहिँ भनेको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप