सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संघीय संसद्‍मा अनौठो सेवा–सुविधा

उपसभामुख, विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतकको तलब सभामुखभन्दा बढी

यस्तो छ संघीय संसद्का जनप्रतिनिधिको तलब र सेवा–सुविधाको नालीबेली
सोमबार, २२ माघ २०८०, ०८ : १३
सोमबार, २२ माघ २०८०

काठमाडौँ । गत आर्थिक वर्षमा संघीय संसद्को कुल खर्च १ अर्ब १५ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा त्यो रकम ह्वात्तै बढ्ने देखिएको छ । चालु आवमा संंसद्‍को बजेट १ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हालै भेटी प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आगामी आर्थिक वर्ष बजेट बढाउन दबाब दिएका छन् ।

यत्रो रकम के मा खर्च हुन्छ ? संघीय संसद् अन्तर्गतका प्रतिनिधि सभा र राष्ट्रिय सभाका पदाधिकारी, सांसदहरू, कर्मचारी तथा विभिन्न संसदीय गतिविधिमा रकम खर्च हुने गरेको छ ।  

त्यसमध्ये ठुलो हिंसा जनप्रतिनिधिको तलब, भत्तालगायतका सेवा–सुविधामा जान्छ । नीति निर्माण गर्ने उपल्लो थलो संघीय संसद्का माननीयहरूले राज्य कोषबाट मासिक तलब, भत्तालगायतका सेवा–सुविधा लिने गरेका छन् । प्रतिनिधि सभामा २७५ र राष्ट्रिय सभामा ५९ सदस्य छन् ।  

  • सभामुख र राष्ट्रिय सभा अध्यक्षको खर्च 

प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभा अध्यक्षको मासिक पारिश्रमिक ६७ हजार ३२० रुपैयाँ, विशेष भत्ता प्रतिमहिना १ हजार, बैठक भत्ता प्रतिदिन १ हजार, सञ्चार सुविधा प्रतिमहिना ३ हजार रुपैयाँ, आवास सुविधा प्रतिमहिना २८ हजार २७५ रुपैयाँ, फर्निचर खर्च एकमुष्ट १५ हजार रुपैयाँ, निजी सचिवालय बन्दोबस्त प्रति महिना २ हजार रुपैयाँ र गार्डघरका लागि प्रतिमहिना २ हजार सुविधाको व्यवस्था गरिएको छ ।

उनीहरूलाई सवारी इन्धनका लागि प्रति महिना २५० लिटर इन्धन, तिन महिनामा १० लिटर मोबिल, बिजुली, धाराको बिल अनुसार प्रति महिना भुक्तानी, दैनिक भ्रमण भत्ता ३ हजार, यात्रा बीमा प्रति भ्रमण १० लाख रुपैयाँको व्यवस्था रहेको छ । पदाधिकारी मृत्यु भएमा परिवारको सदस्यलाई २ लाख रुपैयाँ आर्थिक सहायता र पदाधिकारी अशक्त भएमा एकमुष्ट ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ  । 

सभामुख र अध्यक्षले एकै खाले सहसचिव, उपसचिव, शाखा अधिकृत बराबरको तीन, सुब्बा सरहको एकजना कम्प्युटर अपरेटर, प्रथम स्तरको सवारी चालक २ जना र प्रथम स्तरको कार्यालय सहयोगी २ जना गरी ८ जना कर्मचारी नियुक्त गर्न पाउँछन् ।

  • प्रतिनिधि सभामा विपक्षी नेता, उपसभामुख र उपाध्यक्ष समान  

प्रतिनिधि सभामा विपक्षी दलका नेता, उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको मासिक तलब ७२ हजार ७३० रुपैयाँ, विशेष भत्ता १ हजार, प्रति बैठक भत्ता १ हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा २५ हजार ६०८ रुपैयाँ, फर्निचर खर्च १५ हजार, निजी सचिवालय बन्दोबस्त १ हजार ७५० र गार्डघरका लागि १ हजार ७५० रुपैयाँ सुविधा रहेको छ । 

उनीहरूको सवारी साधनमा लागि मासिक २३० लिटर इन्धन, तीन महिनामा ५ लिटर मोबिल, बिजुली धाराका लागि मासिक २ हजार रुपैयाँ, दैनिक भ्रमण भत्ता २५ सय रुपैयाँ, यात्रा बीमा १० लाख रुपैयाँ, मृत्यु भएमा परिवारका सदस्यलाई २ लाख रुपैयाँ सहायता र असक्त भएमा एकमुष्ट ५० हजार रुपैयाँ आर्थिक सहायताको व्यवस्था रहेको छ । 

निजी सचिवालय अलग अलग अलग छ तर सुविधा एकै प्रकारको छ । उपसचिव स्तरका १ जना, सुब्बा सरहका कम्प्युटर अपरेटर १ जना, सवारी चालक प्रथम स्तरका २ जना  र प्रथम स्तरका २ जना कार्यालय सहयोगी गरी सचिवालयमा ६ जना राख्न पाउने व्यवस्था छ ।

  • राष्ट्रिय सभामा विपक्षी दलका नेता, सत्ता पक्षको नेता र मुख्य सचेतक बराबर 

राष्ट्रिय सभामा विपक्षी दलका नेता, सत्ता पक्षको नेता र मुख्य सचेतकको मासिक तलब ७२ हजार ७३० रुपैयाँ रहेको छ । विशेष भत्ता १ हजार, बैठक भत्ता १ हजार, सञ्चार सुविधा १ हजार, आवास सुविधा २५ हजार ६०८ रुपैयाँ, फर्निचर खर्च एकमुष्ट १५ हजार रुपैयाँ, निजी सचिवालय बन्दोबस्त प्रतिमहिना १ हजार ७५० रुपैयाँ सुविधा छ । यस्तै सवारी साधनका लागि इन्धन मासिक २३० लिटर, मोबिल त्रैमासिक ५ लिटर, बिजुली, धारा प्रतिमहिना २ हजार रुपैयाँ, दैनिक भ्रमण भत्ता २ हजार ५ सय रुपैयाँ, यात्रा बीमा १० लाख रुपैयाँ, मृत्यु भएमा परिवारका सदस्यलाई २ लाख रुपैयाँ आर्थिक सहायता र अशक्त भएका पदाधिकारीलाई एकमुष्ट ५० हजार रुपैयाँ आर्थिक सहायताको सुविधा रहेको छ ।

उनीहरूको सचिवालयका लागि उपसचिव र सुब्बा एक–एक, प्रथम स्तरका सवारी चालक २ जना र एक जना कार्यालय सहयोगी  गरी ५ जना राख्ने सुविधा छ, राज्य कोषबाट ।

  • सत्ता पक्ष र विपक्षी दलका प्रमुख सचेतक तथा संसदीय समितिका सभापतिको सेवा–सुविधा 

प्रतिनिधि सभा र राष्ट्रिय सभामा विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक र १६ वटा संसदीय समितिका सभापतिको पारिश्रमिक र सेवा–सुविधा बराबर छ ।

उनीहरूको मासिक पारिश्रमिक ६९ हजार ३० रुपैयाँ छ भने १ हजार विशेष भत्ता, १ हजार बैठक भत्ता, ३ हजार रुपैयाँ सञ्चार सुविधा, २५ हजार ८०६ रुपैयाँ आवास सुविधा, फर्निचर खर्च एकमुष्ट १५ हजार रुपैयाँ, निजी सचिवालय बन्दोबस्त खर्च मासिक १७ सय ५० रुपैयाँ, मासिक २ सय लिटर इन्धन, त्रैमासिक मोबिल ५ लिटर, बिजुली धारा मासिक २ हजार रुपैयाँ, दैनिक भत्ता २ हजार ५ सय रुपैयाँ, यात्रा बीमा प्रतियात्रा १० लाख रुपैयाँ, मृत्यु भएमा परिवारका सदस्यका लागि २ लाख रुपैयाँ आर्थिक सहायता र असक्त भएमा एकमुष्ट २५ हजार रुपैयाँ आर्थिक सहायताको सुविधा रहेको छ ।

एक जना उपसचिव स्तरको स्वकीय सचिव, एकजना सुब्बा तहको कम्प्युटर अपरेटर, २ जना सवारी चालक र १ जना कार्यालय सहयोगी गरी पाँच जना कर्मचारी राज्य कोषबाट तलब–भत्ता बेहोर्ने गरी राख्ने सुविधा छ ।

सत्ता पक्ष र विपक्षी दलको सचेतकलाई सुविधा 

प्रतिनिधि सभा र राष्ट्रिय सभामा दलको प्रमुख सचेतक, सत्ता पक्ष र विपक्षी दलको सचेतकको मासिक ६९ हजार ३० रुपैयाँ, १ हजार विशेष भत्ता, १ हजार बैठक भत्ता, ३ हजार रुपैयाँ सञ्चार सुविधा, २४ हजार २६८ रुपैयाँ आवास सुविधा, फर्निचर खर्च एकमुष्ट १५ हजार रुपैयाँ, निजी सचिवालय बन्दोबस्त खर्च मासिक १२ सय रुपैयाँ, मासिक १५० लिटर इन्धन, त्रैमासिक मोबिल ५ लिटर, बिजुली धारा मासिक २ हजार रुपैयाँ, दैनिक भत्ता २ हजार ५ सय रुपैयाँ, यात्रा बीमा प्रतियात्रा १० लाख रुपैयाँ, मृत्यु भएमा परिवारका सदस्यका लागि २ लाख रुपैयाँ आर्थिक सहायता र असक्त भएमा एकमुष्ट २५ हजार रुपैयाँ आर्थिक सहायताको सुविधा छ ।

उनीहरूले राज्य कोषबाट तलब–भत्ता दिएर सचिवालयमा एक जना उपसचिव स्तरको स्वकीय सचिव, २ जना सवारी चालक र १ जना कार्यालय सहयोगी गरी ४ जना राख्न पाउने व्यवस्था संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को अनुसूची–१ मा उल्लेख छ । 

  • सांसदहरूको सेवा–सुविधा

संघीय संसद्को दुवै सदनका माननीयहरूको मासिक मासिक पारिश्रमिक ६६ हजार ७० रुपैयाँ रहेको छ । मासिक विशेष भत्ता १ हजार, बैठक भत्ता १ हजार, बैठकमा सहभागी हुन यातायात सुविधा प्रति बैठक १ हजार रुपैयाँ, सञ्चार सुविधा ३ हजार रुपैयाँ, आवास सुविधा प्रतिमहिना १८ हजार रुपैयाँ, फर्निचर सुविधा एकमुष्ट १५ हजार रुपैयाँ, धारा बिजुली प्रतिमहिना २ हजार रुपैयाँ, दैनिक भ्रमण भत्ता २ हजार ५ सय रुपैयाँ, यात्रा बीमा प्रति भ्रमण १० लाख रुपैयाँ, मृत्यु भएमा परिवारका सदस्यलाई २ लाख रुपैयाँ आर्थिक सहयोग र अशक्त भएको अवस्थामा एकमुष्ट ५० हजार रुपैयाँ आर्थिक सहायताको सुविधा रहेको छ । 

प्रत्येक सांसदलाई एक जना शाखा अधिकृत स्तरको एकजना स्वकीय सचिवको सुविधा दिइएको छ । 

  • पदाधिकारीलाई सवारी साधन  

संघीय संसद् सचिवालयसँग ४ पाङग्रे सवारी साधन ८६ वटा रहेको छ । २ पाङग्रे ११० वटा रहेको छ । सभामुख र राष्ट्रिय सभा अध्यक्षका लागि एक–एक वटा गाडी र उनीहरूको सचिवालयका कर्मचारीका लागि एक एक वटा गाडी सुविधा दिइन्छ ।

१६ वटा संसदीय समितिका सभापतिहरूलाई पनि गाडी सुविधा छ । 

विपक्षी दलका नेता, विपक्षी दलका प्रमुख सचेतक, सचेतक, सत्तापक्ष दलका प्रमुख सचेतक र सचेतकलाई सवारी साधनको सुविधा दिइन्छ । संसद्मा प्रतिनिधित्व गर्ने १० सिट भन्दा माथि ल्याएका दलका सचेतकहरूलाई पनि सवारी साधनको व्यवस्था छ । 

सभामुखदेखि सवारी साधनको सुविधा लिने सबैलाई इन्धन र मोबिल बापतको एकमुष्ट रकम बैंक खातामा पठाइन्छ ।

संघीय संसद्का प्रवक्ता एकराम गिरी ऐन बमोजिम नै संसद्का पदाधिकारी, माननीय र उनीहरूका स्वकीय कर्मचारीलाई तलब लगायतका सुविधा दिइएको बताउँछन् ।

सचिवालयले चालु आर्थिक वर्षमा संसद्का पदाधिकारी, सदस्य, तिनका कर्मचारी, इन्धनलगायतका खर्चका लागि ८० करोड रुपैयाँ छुट्टयाएको थियो । ‘बैठक भत्ता, खाजा खर्च, अनुगमन लगायतका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ’ संसद् सचिवालय स्रोतले रातोपाटीसँग भन्यो ।

  • सुरक्षाकर्मी पनि 

प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलको नेता, उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षलाई एक–एक जना अङ्गरक्षकको सुविधा रहेको छ । साथै एकजना बिल्लादार गार्ड र १० सैनिक जवान सुरक्षाकर्मीको सुविधा रहेको छ । 

यस्तै विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूका लागि एकजना अङ्गरक्षक, हेड प्रहरी कन्सटेवल एकजना र प्रहरी जवान ४ जनाबाट सुरक्षा लिन पाउने ऐनमा व्यवस्था गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप