सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘इन्टरनेटको प्रचुर सम्भावना छ, शुल्क घटाउने गरी काम भइरहेको छ’

सेवा विस्तार गर्न सक्ने पर्याप्त ठाउँ छः पहाडी
सोमबार, २२ माघ २०८०

नेपाल दूरसञ्चार संस्थानका रूपमा सेवा सञ्चालन गरिरहेको नेपाल टेलिकम कम्पनीमा परिणत भएको २० वर्ष पुगेको छ । कम्पनीका रुपमा सञ्चालनमा आएयता टेलिकमले तीव्र गतिमा आफ्नो सेवा विस्तार गरिरहेको छ । तर, नेपालसहित विश्वव्यापीरुपमा टेलिकम कम्पनीको भविष्यको चिन्ता हुन थालेको छ । सामाजिक सञ्जालको व्यापक प्रयोगका कारण ‘भ्वाइस’ र ‘टेक्स्ट’मार्फत हुने आम्दानी घट्दो क्रममा छ । यही पृष्ठभूमिका बिच टेलिकमको २०औँ वार्षिकोत्सवको अवसरमा कम्पनीको भावी योजनालगायत विषयमा केन्द्रित रहेर रातोपाटीले प्रबन्ध निर्देशक संगीता पहाडीसँग गरेको कुराकानीको सम्पादित अंश:–

  • पछिल्लो समय टेलिकम कम्पनीको बजार घट्दो अवस्थामा छ । यसले टेलिकममाथि चुनौती थपिएको बताइन्छ, आगामी दिनमा ‘सर्भाइभ’ गर्न के कस्ता योजना बनाउनु भएको छ ?

विश्वव्यापीरुपमा टेलिकम कम्पनीहरूको व्यापार घट्दो अवस्थामा छ । नेपालको स्थितिमा हेर्दा मोबाइल सेवामा दुईवटा सेवा प्रदायक र ‘फाइबर टु होम’ (एफटीटीएच) मा झन्डै ३५ वटा सेवाप्रदायकहरुबीच प्रतिस्पर्धा छ । यसो हुँदाहुँदै पनि नेपालको मोबाइल नेटवर्क र एफटीटीएचमा नेपाल टेलिकम गाउँ गाउँमा पुगेको छ । गाउँमा सर्वसाधारणको जनसङ्ख्या समेत बढ्दो अवस्थामा छ भने सरकारले गाउँगाउँमा ‘हाइ ब्याण्डविथ’ इन्टरनेट प्रदान गर्ने नीति अघि बढाएको छ । यस्तै, देशभरका ४ हजारभन्दा धेरै विद्यालयमा इन्टरनेट जडानको ढोका समेत कोभिड–१९ महामारीले खोलेको छ । विश्वस्तरमा टेलिकमको अवस्था खस्कँदो भएपनि नेपालको हकमा भने काम गर्ने र आफ्नो सेवा विस्तार गर्न सक्ने पर्याप्त ठाउँ देखिएको छ ।

  • तपाईंले अब गाउँगाउँमा इन्टरनेट सेवा विस्तार गर्ने योजना सुनाइरहँदा आगामी दिनमा नेपाल टेलिकमको योजना भ्वाइस कल र म्यासेज लगायत छाडेर इन्टरनेट सेवामा केन्द्रित हुन्छ ?

भावी दिनमा नेपाल टेलिकमको ध्यान भ्वाईस कल र म्यासेजभन्दा वायरलेस डाटा र एफटीटीएचमार्फतको इन्टरनेटमा केन्द्रित हुन्छ । यद्यपि, हामीले प्रदान गरिरहेको सेवामा आबद्ध ग्राहक सङ्ख्या केलाउँदा २९ प्रतिशत सर्वसाधारणले २जी चल्ने सेट प्रयोग गरिरहेका छन् । यस आधारमा ३० प्रतिशत सेवाग्राहीले भ्वाईसलाई मात्रै सम्पर्कको माध्यम बनाएका छन् । भ्वाईसमा पनि उत्तिकै सम्भावना छ । साथसाथै इन्टरनेटको बजारमा समेत प्रचुर सम्भावना देखिएको छ ।

  • तपाईंको भनाइअनुसार नेपाल टेलिकम बिस्तारै इन्टरनेट सेवातर्फ केन्द्रित हुने देखियो । बजार ठुलो भएर वा बाध्यताका कारणले तपाईंहरु इन्टरनेटमा बढी केन्द्रित बन्ने योजना बुन्दै हुनुहुन्छ ?

नेपाल टेलिकमको आन्तरिक आकलन अनुसार अबको बजार वायरलेस डाटा र इन्टरनेटमा केन्द्रित हुने देखिन्छ । पछिल्ला केही वर्षलाई विश्लेषण गर्दा २जीबाट जीपीआरएस आयो र त्यसपछि ३जी, ४जी हुँदै ५जी आइसकेको छ । निकट भविष्यमा ६जी र ७जीमा संसार जाँदै छ । अन्तर्राष्ट्रियस्तरमा नै इन्टरनेट र मोबाइल डाटा केन्द्रित भइरहेको छ ।

  • विश्व डाटामा केन्द्रित बनेर अपार नाफा आर्जन गरिरहँदा नेपाल टेलिकमचाहिँ परीक्षणमा पैसा खन्याउने र लगानी नउठ्दै फेरि अर्को परीक्षणमा जाने गरेको देखिन्छ । यो प्रक्रियाबाट त लगानी खेर जाँदैन र ?

तपाईँले जोड्नुभएको सन्दर्भ सही हो । कम्पनीहरूले गरेको लगानीको प्रतिफल आउनै पर्छ भन्ने हुन्छ । नेपाल टेलिकमले प्रविधिमा लगानी २जीदेखि ४जीसम्म आइपुग्दा ‘रेट अफ रिटर्न’ हेरेर नै गरिरहेको छ । केही सन्दर्भमाचाहिँ सेवाग्राहीलाई सुविधा दिनका लागि पनि नयाँ प्रविधि अपनाइन्छ । यति बेला टेलिकम ५जी प्रविधि परीक्षणमा लागिरहँदा हिमालपारिका जिल्लामा भिस्याट प्रविधिमार्फत टेलिकम सेवा प्रदान गर्दै आइरहेको छ । अर्को दायित्व आफ्ना प्रयोगकर्ता समक्ष नयाँ प्रविधि पनि ल्याउनु हुन्छ । अन्तर्राष्ट्रिय जगतलाई तुलना गर्दा नेपाल टेलिकम क्षेत्रमा पछाडि छैन, यही आधारमा बसेर प्रविधि क्षेत्रमा लगानी गर्ने गरेका छौँ ।

  • तपाईँको कुरा सुनेर त टेलिकम क्षेत्रमा झनै चुनौती बढेको देखियो । भ्वाईस र म्यासेज छाडेर इन्टरनेटमा केन्द्रीतको प्रयास गर्दै हुनुहुन्छ । एलन मस्कको स्टारलिंकले स्याटलाइटमार्फत सस्तोदरमा नै इन्टरनेट उपलब्ध गराउने गरी विश्वव्यापीरुपमा काम गर्दै आइरहेको छ । नेपालमा सेवा सुरु गर्‍यो भने चुनौती थपिँदैन ? sangita pahadi

यो प्रविधि ल्याउन विषय नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति चाहिन्छ । प्राधिकरणले उक्त प्रविधिलाई अनुमति दिएमा नेपाल टेलिकम पनि सोही प्रकारको प्रविधिमा लाग्नुपर्ने अवस्था आउन सक्छ । तर, स्याटलाइटमार्फत दिने इन्टरनेटको लागत एफटीटीएचभन्दा महँगो मानिन्छ । यस कारण, यो प्रकारको प्रविधि नेपाल भित्रिएको खण्डमा हामीले पनि परीक्षण सुरु गर्नुपर्ने र सेवा विस्तार गर्नुपर्ने अवस्था आउन सक्छ ।

  • सम्भावित चुनौतीबाट ‘सर्भाइभ’ गर्दै भावी दिनमा अस्तित्व जोगाइराख्नका लागि कुनै ‘सुपर प्लान’ बनेको छ ? 

नेपाल टेलिकमले ३ वटा चरणमा आफ्नो योजना अघि बढाइरहेको छ । सेवाको गुणस्तरलाई बढाउने, पूर्वाधार विकासमा जोड दिने र भावी दिनमा डाटा सेन्टर सञ्चालनमा ल्याउने योजना टेलिकमको छ । यसबाहेक मध्य पहाडी लोक मार्ग अन्तर्गत १५ सय किलोमिटर दूरीमा अप्टिकल फाइबर राख्ने योजना अघि बढ्दै छ । सञ्चालन खर्च घटाउने र ‘कस्टर्मस् केयर’ लगायतको सेवा समेत चुस्त बनाइएको छ । र, ५जीको परीक्षणलाई तीव्र बनाउँदै देशभर सेवा विस्तारको योजना अघि बढेको छ ।

  • यति बेला तपाईँहरू २०औँ वार्षिकोत्सव मनाइरहनुभएको छ । यस क्रममा तपाईँका सेवाग्राहीलाई केही विशेष अफर लगायतको घोषणा पनि गर्दै हुनुहुन्छ ?

२०औँ वार्षिकोत्सवको उपलक्ष्यमा धेरै अफर सार्वजनिक भइरहेका छन् । मोबाइल सेवाको सुरुवाती चरण १९९९ मा जोडिएका ३०० ग्राहकलाई ‘प्याकेज’ घोषणा गरेका छौँ । यसपछि, २०६३ सालदेखि सुरु प्रिपेडमा सेवामा सुरुदेखि नै जोडिएका सेवाग्राहीलाई एक महिनासम्म अनलिमिटेड भ्वाईस र डाटा दिएका छौँ । यसबाहेक एफटीटीएचतर्फ मूल्य रिभाईस गरिरहेका छौँ ।  आगामी दिनमा अन्य सेवामा पनि शुल्क घटाउने गरी काम भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया