आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

केरुङ र तातोपानी नाकामा व्यवसायीलाई अस्थायी पासको व्यवस्था गर्न माग

मङ्गलबार, २३ माघ २०८०, १८ : ५१
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । मंगलवार महासंघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालको चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गर्ने सरकारसँग माग गरेको हो । 

महासंघले चीनसँगका नाकाबाट आयात हुने सामान सहज रूपमा नेपाल भित्र नभित्रने र चीन जान नपाउँदा नेपाली व्यवसायीहरूको अर्बौँ रुपैयाँको सामान जोखिममा परेकाले व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेको गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएको थियो । महासंघले व्यवसायीहरूलाई सहज रूपमा व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ । 

महासंघका अध्यक्ष कुमार कार्कीले चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकाबाट एउटा जिल्लाका व्यवसायीहरू मात्रै जान पाउने सिन्डिकेट हटाएर सबै व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था मिलाउन गृहमन्त्रीसँग माग गरिएको बताए । उनले धेरै सामान चीनबाट आयात हुने तर व्यवसायीहरू आफैँ जान नपाउँदा व्यवसायीहरू समस्यामा रहेको बताए । 

उनले  चीनबाट आयात हुने सामानहरू नाकामा फुट्ने,लामो समयदेखि आएर कुहिने हुँदा पनि व्यवसायीहरू नाका पारी जान नपाउने बताए । उनले समान ढुवानी गर्न,ट्रकमा सामान लोड गर्न समेत सम्बन्धित जिल्ला र स्थानीय सवारी साधन लैजानुपर्ने एकाधिकार हटाउन माग गृहमन्त्रीसँग गरिएको उल्लेख गरे । 

चीनसँग पारवहन सम्झौता भएको लामो समय हुँदा पनि कार्यान्वयन हुन नसकेको उनको भनाई थियो । अध्यक्ष कार्कीले गृहमन्त्रीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको जानकारी दिए ।

महासंघ उपाध्यक्ष लक्ष्मी खड्काले काठमाडौँमा व्यापार व्यवसाय गरिरहेका ७५ जिल्लाका व्यवसायीहरूले चीनबाट आयात गरेका सामान नाकामा उपस्थित भएर ल्याउनको लागि समस्या भएको बताइन् । उनले सरकारले चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गरी नाका पारी जान पाउने व्यवस्था गर्न गृहमन्त्रीसँग माग गरिएको जानकारी दिइन् । 

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकामा रसुवा र सिन्धुपाल्चोक जिल्लाका व्यवसायीहरूले मात्रै नाकापारि जान पाउने व्यवस्था रहेको भन्दै त्यसलाई अन्य व्यवसायीहरूलाई पनि अस्थायी पासको व्यवस्था गरी आवतजावत गर्न माग गरिएको बताए । उनले चीनबाट आयात गरिएको सामान व्यवसायीहरूले हेर्न र लिन जान नपाएको बताए । २०१६ सालमा चीनसँग भएको पारवहन सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने उनको जिकिर थियो ।

व्यवसायीहरूले चीन नाकामा रहेका भन्सार तिर्न समेत झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले भन्सारमा सहज बनाउन र नाकामा सामान सहज रूपमा नेपालमा ल्याउने व्यवस्था गर्न बारम्बार ध्यानाकर्षण गर्दा समेत नभएको बताएका छन् । उनीहरूले रसुवा नाकामा सुख्खा बन्दरगाह तत्काल सञ्चालनमा ल्याउन समेत माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप