शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लाभांश वितरणको कारबाही छल्न एनआईसी एसिया बैंकद्वारा आवासीय कर्जामा अस्वाभाविक वृद्धि

बिहीबार, २५ माघ २०८०, १० : २९
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । एनआईसी एसिया बैंकले ब्यालेन्स सिटमा बदमासी गरेको पाइएको छ । बैंकले तोकिएको प्राथमिक पुँजी कोष मिलाउन र लाभांश वितरणको कारबाहीबाट बच्न आवासीय लगानीमा अस्वाभाविक कर्जा वृद्धि देखाएको हो । २०८० असारमा बैंकले आवासीय कर्जामा ५४ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेको ‘वासल–३’ अनुसारको आफ्नो रिपोर्टमा देखाएको थियो । तर ६ महिना नबित्दै बैंकले २०८० पुसमा सार्वजनिक गरेको वासल–३ अनुसारको रिपोर्टमा यस्तो कर्जा ७९ अर्बले वृद्धि भएर एक खर्ब ३३ अर्ब रुपैयाँ पुगेको देखाएको छ ।

यही अस्वाभाविक लगानी वृद्धिलाई लिएर यतिबेला केन्द्रीय बैंकको ध्यानाकर्षण भएको छ । केन्द्रीय बैंकले यहीँ मुद्दामा बैंकमाथि अनुसन्धान समेत गर्ने भएको छ ।

बैंकको आवासीय कर्जामा उच्च वृद्धि देखिएको छ । कसरी यस्तो भयो ? वास्तविक हो कि फेक बैंकमाथि केन्द्रीय बैंकले अनुसन्धान गर्छ’ राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भने ।

आवासीय क्षेत्रमा प्रवाहित कर्जामा जोखिम भार कम राख्न सकिने हुँदा बैंक यसतर्फ आकर्षित भएको हुन सक्ने सम्भावना समेत उत्तिकै छ ।

मौद्रिक नीतिको व्यवस्था अनुसार हाल आवासीय घर कर्जाको जोखिम भार ६० प्रतिशत मात्र रहेको छ । व्यावसायिक घरजग्गा, रियल स्टेट, तथा सेयर धितो कर्जामा ५० लाख रुपैयाँसम्म १२५ प्रतिशत जोखिमभारको व्यवस्था छ । सोभन्दा माथिको कर्जामा १५० प्रतिशतकै जोखिमभार कायम गर्नुपर्ने हुन्छ । यसैले पनि बैंकहरु आवासीय कर्जामा बढी केन्द्रित भएको हुनसक्छ ।

तर एनआईसी एसिया बैंकले असारदेखि पुस मसान्तसम्म ६ महिनामा नै आवासीय कर्जामा ७९ अर्ब रूपैयाँले कर्जा वृद्धि भएको देखाएको छ । जुन अस्वाभाविक हो । यसले बैंकको नियतमाथि शङ्का उब्जाएको छ ।

 आवासीय कर्जा किन बढी देखाइयो ?

प्रश्न स्वाभाविक उठ्छ, आखिर बैंकले आवासीय कर्जाको अस्वाभाविक वृद्धि किन देखायो ? खास उद्देश्य बैंकको जोखिम भारमा खेलेर प्राथमिक पुँजी कोष पुर्‍याउने खेल खेलेको देखिन्छ ।

समीक्षा अवधिमा अस्वाभाविक वृद्धि भएको ७९ अर्बका लागि बैंकले अन्य कर्जामा राखेको १२५ प्रतिशतका दरले ९९ अर्ब रुपैयाँ बराबरको प्रावधान राख्नुपर्थ्यो । तर, आवासीय कर्जामा देखाउँदा यस्तोमा ४७ अर्ब ४ करोड रुपैयाँ हाराहारी मात्र प्रावधान राखे पुग्यो ।

तथापि, अहिले बैंकले आवासीय कर्जामा देखाएको कूल १ खर्ब ३३ अर्बका लागि जम्मा ८० अर्ब रुपैयाँ बराबरको मात्र प्रावधान राखे पुगेको छ ।

यसरी बैंकले प्रावधानमा राखेको पैसा कर्जा लगानी गर्न पाउँदैनन् । यसमा थप बैंकहरूले यस्तो जोखिममा आधारित सम्पत्ति (कर्जा)का आधारमा समेत निश्चित प्रतिशत पुँजी कोष अनुपात कायम गरेकै हुनुपर्छ ।

बैंकहरूको प्राथमिक पुँजी कोषलाई कुल जोखिम भारले भाग गरेर यस्तो अनुपात निकालिएको हुन्छ । बैंकहरूको सेयर पुँजी, सञ्चित आम्दानी, ऋणपत्रको भुक्तानी दिन राखिएको रकम लगायत जोडेर प्राथमिक पुँजी कोष बनेको हुन्छ ।

बैंकहरूको प्राथमिक पुँजीको आधारमा कुल जोखिम भार कम्तीमा ८.५ प्रतिशत हुनुपर्ने प्रावधान रहेको छ । यसैले पनि एनआईसी एसिया बैंकले बाठो भएको देखिन्छ ।

आर्थिक वर्षको कुनै एक त्रैमासमा यस्तो अनुपात ८.५ प्रतिशत भन्दा कम भयो भने बैंकहरूले लाभांश बाँड्न पाउँदैनन् । यसअघि पनि एनआइसी एसिया बैंकले दुई वर्षसम्म लाभांश बाँड्न पाएको थिएन । त्यसपछि बैंकले गत आर्थिक वर्ष २०७९÷८० को नाफाबाट एकैपटक ३०.५२ प्रतिशत लाभांश बाँडेको थियो । यस पटक पनि सोही घटना दोहोरिने भएपछि बैंकले चलाखीपूर्ण जालसाजी गरेको प्रस्ट हुन्छ । यसैगरी केन्द्रीय बैंकले बैंकमाथि सुक्ष्म अध्ययन गरिने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप