सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

क्यानडाविरुद्ध नेपालको ४५ ओभरमा सात विकेट गुमाएर १९६ रन

बिहीबार, २५ माघ २०८०, १२ : ३४
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले ४५ ओभरमा सात विकेट गुमाएर एक सय ९६ रन बनाएको छ । नेपालका लागि आठौँ नम्बरका ब्याट्सम्यान सोमपाल कामी १४ र नवौँ नम्बरका ब्याट्सम्यान सूर्य तामाङ दुई रन बनाउँदै क्रिजमा छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सूर्यको यो ‘डेब्यू’ खेल हो । नेपालले अतिरिक्त रुपमा १२ रन पाएको छ ।

त्यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । उनी २४ बलमा आठ रन बनाउँदै आउट भएका थिए । ९.१ ओभरमा आशिफ आउट हुँदा नेपालले ४८ रन बनाएको थियो । विकेटकिपर ब्याट्सम्यान आशिफलाई क्यानडाका बलर उदय भगवानले नवनित धलिवलद्वारा क्याच गराएका थिए ।

नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहितलाई गुमाएको थियो । उनी १७ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भएका थिए । रोहितको विकेट इश्वरजोत सोहीले लिएका थिए । उनले नेपाली टोलीका कप्तानलाई हर्ष थाकेरद्वारा क्याच गराएका थिए । रोहित आउट हुँदा नेपालले १४.३ ओभरमा ७१ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी ६२ रन बनाउँदै आउट भएका थिए । उनले ५८ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । कुशल भुर्तेलले १३.४ ओभरमा ४४ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले अर्धशतक पुरा गरेका थिए ।

कुशल भुर्तेल क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान पनि बनेका छन् । कुशल भुर्तेलको विकेट क्यानडाका बलर साद बिन जाफरले लिएका थिए । जाफरले उनलाई विकेटकिपर श्रेयस मोभाद्वारा स्टम्पिङ गराएका थिए । १८.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले ९८ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो । उनी १७ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनले २६ बलमा दुई चौका पनि हिर्काएका थिए । उनलाई क्यानडाका बलर साद बिन जाफरले एलबीडब्लूको धरापमा पारेका थिए । २२.३ ओभरमा भीम आउट हुँदा नेपालले एक सय १२ रन बनाएको थियो ।

नेपालले पाँचौँ विकेटका रुपमा कुशल मल्ललाई गुमाएको थियो । उनी ३२ बलमा एक छक्का र एक चौकाको मद्दतले २० रन बनाउँदै पेभेलियन फर्किएका थिए । हर्ष थाकरले लिए । थाकरले उनलाई निकोलस किर्टनद्वारा क्याच गराएका थिए । २९.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ४१ रन बनाएको थियो ।  

नेपालले छैटौँ विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो । उनी ३८ रन बनाउँदै आउट भएका थिए । उनले ५० बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । उनलाई क्यानडाका बलर उदय भगवानले बोल्ड गरेका थिए । ३८.५ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ७३ रन बनाएको थियो ।

नेपालले सातौँ विकेटका रुपमा पवन सर्राफलाई गुमाएको थियो । उनी ३४ बलमा एक चौकाको मद्दतले १५ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई क्यानडाका बलर साहिद अमहदजाईले एलबीडब्लूको धरापमा पारेका थिए । ४१.१ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ८१ रन बनाएको थियो ।

क्यानडाविरुद्धको पहिलो खेलमा नेपालका दुई ब्याट्सम्यान रिजन ढकाल र सूर्य तामाङले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । क्यानडा र नेपालबिच तीनवटा एकदिवसीय खेलको शृंखला हुनेछ । नेपाल र क्यानडाबिचको दोस्रो खेल शनिबार खेलिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप