शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सरकार आर्थिक अपचलन गर्न अग्रसर भयो : थपलिया

बिहीबार, २५ माघ २०८०, १५ : ५८
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार आर्थिक अपचलन गर्न अग्रसर रहेको आरोप लगाएका छन् । बिहीबार नेकपा एमाले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै नेता थपलियाले सरकारले स्वइच्छाचारी ढंगबाट राज्यकोषको दुरुपयोग गर्दै बजेट विनियोजन गरेर अपचलन गरिरहेको बताएका हुन् ।

प्रदेश सरकारले सिमित व्यक्ति र क्षेत्रमा बजेट किताबमा समावेश नभएका योजनाहरुमा बजेट विनियोजन गर्ने काम गरिरहेको उनको भनाई छ । प्रदेश सरकारको दायित्व बढाउने काम गरिरहेकाले मन्त्रिपरिषद बैठकको निर्णयप्रति एमालेले संवेदनशील रुपमा लिएको उनले बताए ।

‘सरकार बजेट अपचलन गर्ने तर्फ अग्रसर भएको छ । बहुवर्षे ठेक्काका नाममा बजेट अपचलन गर्ने सरकार अघि बढिरहेको छ’ उनले भने, ‘बजेट किताबमा समावेश न भएका निश्चित व्यक्ति र क्षेत्रमा राज्य कोषबाट बजेट लगानी गर्ने काम सरकारले गरिरहेको छ । मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर असन्तुलित र एकलौटी ढंगबाट बहुवर्षे ठेक्काका नाममा प्रदेश सरकारको दायित्व बढाउन पाइन्न । मन्त्रिपरिषद निर्णयमा एमाले संवेदनशील बनेको छ । भरतपुरको क्रिकेट रंगशाला बन्नुपर्छ । तर, स्रोत सुनिश्चितता गर्दाका आधार के हो ? प्रदेश सरकारले ७५ करोड रुपैयाँको ७० प्रतिशत रकम कसरी व्यवस्थापन हुन्छ ?’

नेता थपलियाले अस्पतालका उपकरण खरिदमा सरकारले आर्थिक चलखेल गरेको र प्रशासनिक क्षेत्रमा पनि असर पर्ने गरी वरिष्ठतम तहका कर्मचारीलाई पाखा लगाएर कनिष्ठलाई सम्पूर्ण अधिकारसहित प्रमुखको जिम्मेवारीमा पठाउने काम गरिरहेको बताए । सरकारका गतिविधिहरुले नागरिकका हक अधिकारलाई बञ्चित बनाएको उनले टिप्पणी गरे ।

वर्तमान गठबन्धन नेतृत्वको सरकारले काम गर्न नसकेको भन्दै उनले नागरिकहरुले सडकबाट दवाव बढाउन खवरदारी गर्नुपर्ने बताए । सरकार अभिभावक बन्नु पर्नेमा गैरजिम्मेवार र लाचारीपन देखाइरहेको उनको भनाई छ । सरकारले बारबन्देज गरेर संसद बैठकसंचालन नगर्ने र छल्ने काम गरिरहेको नेता थपलियाले बताए । संसदीय समितिको नेतृत्वको सरकार बेखबर बनिरहेको र टार्न खोजिरहेको उनको भनाई छ ।

सरकारको क्रियाकलापमा सकारात्मक नभएको खण्डमा एमालेले शसक्त प्रतिवाद गर्ने नेता थपलियाले बताए । सरकारले माघ महिनाको अन्त्य सम्ममा समेत संसद अधिवेशन आह्वान नगरे २५ प्रतिशत सांसदको हस्ताक्षर संकलन गरी बैठक आह्वान गर्न दवाव दिने उनले बताए । सरकारले विपक्षी दलहरुले दिएको सुझाव र सम्झौताहरु कार्यान्वयन नगरे अन्य कदमहरु चाल्ने उनको भनाई छ ।

अघिल्लो कार्यकालको तुलनामा दोस्रो कार्यकालमा सरकारले उत्साहजन काम गर्न नसहेको नेता थपलियाले बताए । उनका अनुसार प्रदेश सरकारको सुरुवाती चरण (पहिलो कार्यकाल) मा संघीयता संस्थागत गर्न महत्वपूर्ण काम गरेको थियो । संस्थागत संरचना निर्माण तथा विकास, जनशक्ति व्यवस्थापन लगायतका काम अघिल्लो कार्यकालमा नै भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप