बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

असहायसँग मेयर कार्यक्रम : वडाध्यक्षकै मिलेमतोमा दुरुपयोगको प्रयास

शुक्रबार, २६ माघ २०८०, ०८ : ४६
शुक्रबार, २६ माघ २०८०

रौतहट । पछिल्लो केही वर्षदेखि  मौलापुर नगरपालिकाद्वारा सञ्चालित असहायसँग मेयर कार्यक्रमलाई एक वडाध्यक्षले नै प्रभावित बनाउने गरेको षडयन्त्र असफल भएको छ। वडा अध्यक्षकै सिफारिसमा नक्कली विवाह सिफारिस गरी कार्यक्रम अन्तर्गत नगरपालिकासँग सुविधा लिने प्रयास असफल भएको हो।

मौलापुरकी मेयर रिना कुमारी साहको पहलमा नगरक्षेत्र अन्तर्गत विपन्न परिवारमा छोरीको विवाहका लागि ३० हजार रुपैयाँ सहयोग दिने गरिएको छ । उक्त कार्यक्रम मौलापुर नगरपालिकामा निकै प्रभावकारी देखिएको छ। असहायसँग मेयर कार्यक्रम अन्तर्गत मेयर रिना साह आफैँ विवाह मण्डपमा पुगेर बेहुलीको हातमा ३० हजार रुपैयाँको चेक हस्तान्तरण गर्ने गर्दै आएकी छिन्। सो कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा दर्जनौँ विपन्न परिवारले नगरपालिकाबाट आर्थिक सहयोग लिए । 

सोही कार्यक्रमलाई प्रभावित गर्न एकजना वडा अध्यक्षकै सिफारिसमा वडा ९ मा फर्जी विवाहका लागि नगरपालिकाबाट आर्थिक सहयोग लिने प्रयास असफल भएको छ । घटना विवरण अनुसार मौलापुर ९ का वडा अध्यक्ष श्यामकिशोर साहले एक स्थानीयको विवाह भइरहेको भन्दै कार्यक्रम अन्तर्गत पाइने अनुदान सहयोग उपलब्ध गराई दिन सिफारिस गरेका थिए । 

वडा अध्यक्ष साहले गत पुस १८ गते उक्त  विवाहको लागि सहयोग उपलब्ध गराइदिन पालिकामा सिफारिस गरेका थिए । सिफारिस अनुसार यही माघ २५ गते  विवाह हुने भनिएको थियो।

वडा अध्यक्ष साहको सिफारिसका आधारमा लेखापालले ३० हजार रुपैयाँको  चेक काटे । सो भेक लिएर विवाह हुने भनिएको दिन मेयर रिना साह विवाह स्थलमा पुगेपछि नक्कली सिफारिसबारे रहस्य खुलेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए।

सिफारिस अनुसार कुनै विवाह नै नरहेको र वडाध्यक्ष श्यामाकिशोर साहले विवाहको फर्जी सिफारिस गरी सहयोग  रकम हिनामिना गर्न खोजेको अधिकृत साहले जानकारी दिए।

सहयोगको लागि काटिएको चेक नगरपालिकामा फिर्ता भएको तथा घटना बारे अनुसन्धान भइरहेको मेयर रिना साहले जानकारी दिएकी छिन। 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप