मन्त्रीमण्डल विस्तारप्रति एकीकृत समाजवादी असन्तुष्ट
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विस्तार गरेको मन्त्रीमण्डलप्रति सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ । उसले मुख्यमन्त्री विगतको सहमतिबाट पछि हटेको भन्दै नसच्चिए विकल्प सोच्ने चेतावनीसमेत दिएको छ ।
मुख्यमन्त्री कार्कीले आज चार जना मन्त्री तथा दुई जना राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डलको संख्या १० पुर्याएका थिए । जसमा कांग्रेसका २ मन्त्री तथा २ राज्यमन्त्री र माओवादी केन्द्रबाट २ जना मन्त्री नियुक्त भएका छन् । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले भने आफूहरुलाई थप एक मन्त्रालय दिने सहमति मुख्यमन्त्रीले उल्लङ्घन गरेको बताए ।
‘उहाँले हामीलाई थप मन्त्रालय दिने भन्नुभएको थियो । कांग्रेसले मन्त्रालय थप नपाउने तर, मन्त्रीमात्रै थप्ने भन्ने सहमति यसअघि नै भएको थियो । तर, मन्त्रीमण्डल बनाउँदा उहाँले त्यो सहमति उल्लङ्घन गर्नुभयो,’ राईले भने ।
उनले मुख्यमन्त्रीले कदम नसच्याए विभिन्न विकल्पमा जाने पनि बताए । ‘उहाँलाई हामीले अहिलेको कदम सच्याउन भनेका छौँ । नसच्याएको खण्डमा हामी सरकारलाई दिएको समर्थन फिर्ता लिने, मन्त्रीलाई फिर्ता बोलाउने, अर्को सरकार बनाउने, गठबन्धन परिवर्तन गर्ने, आफैँ मुख्यमन्त्री बन्नेसम्मका विकल्पमा जान सक्छौँ,’ राईले भने ।
मुख्यमन्त्री कार्कीले सहमति विपरीत अध्यादेश ल्याएको पनि राईले बताए । ‘अध्यादेश बिना सल्लाह ल्याउनु भयो । एउटा मन्त्रीका लागि सरकारमा टाँसिइरहन कुनै जरुरी छैन,’ उनले भने ।
मुख्यमन्त्री कार्कीले आफू नियुक्त भएको चार महिना पुग्नलाग्दा सरकार विस्तार गरेका हुन् । जसमा स्वास्थ्य मन्त्रालयमा प्रदिपकुमार सुनुवार, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीमा नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की, आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिताकुमारी गुरुङ (राम) छन् ।
मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी भने आफैँले राखेका छन् । नवनियुक्त मन्त्रीहरु सुनुवार, खत्री, राज्यमन्त्रीद्वय थापा र राम कांग्रेसका हुन् । उनीहरुमध्ये सुनुवार मात्रै कांग्रेस संस्थापन पक्षका हुन् भने अन्य तीन जना कार्कीलाई मुख्यमन्त्री बनाउनका लागि विद्रोह गर्ने ८ सांसदमध्येकै हुन् ।
यस्तै माओवादीबाट भने राजेन्द्र कार्की र मगर मन्त्री नियुक्त भएका हुन् ।
यसअघि कार्कीले कांग्रेसबाट शमशेर राई, माओवादीबाट गणेशप्रसाद उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमल प्रसाद जबेगुलाई मन्त्री नियुक्त गरिसकेका छन् । जसमध्ये राईलाई आन्तरिक मामिला तथा कानुन, उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र जबेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी दिइएको छ ।
कार्की गत असोज २७ गते संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा कोलम्बियालाई स्तब्ध पार्दै स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण