शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालका विश्वविद्यालय र कलेजहरुमा विद्यार्थीको खडेरी, विदेशी विद्यार्थी ल्याउन सकिएला ?

‘हाम्रा विश्वविद्यालयलाई स्रोत–साधन सम्पन्न बनाऔँ, गुणस्तरीय शिक्षामा जोड दिऔँ’
शुक्रबार, २६ माघ २०८०, २१ : २४
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । नेपाली विद्यार्थीहरु विदेश पलायन भइरहेकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेश पलायन हुने क्रम बढेसँगै नेपालका विश्वविद्यालय तथा कलेजहरुमा विद्यार्थीको खडेरी लाग्न थालेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन् ।

खबर एजुकेशन मिडियाले शुक्रबार आयोजना गरेको स्टडी इन नेपाल (शैक्षिक गन्तव्य नेपाल) कार्यक्रममा सरोकारवालाहरुले विद्यार्थी पलायन हुनुको कारण खोज्नुपर्ने र त्यसको समाधान निकाल्नुपर्नेमा जोड दिएका हुन् ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले नेपाललाई शैक्षिक गन्तव्यको हब बनाउन नीतिगत लगायतका विषय सुधार गर्नुपर्ने बताए । काठमाडौँ विश्वविद्यालयले विदेशी विद्यार्थी ल्याउन विभिन्न पहल गरिरहेको भन्दै उनले नीतिगत समस्याका कारण अप्ठ्यारो परिरहेको बताए ।

काठमाडौँ विश्वविद्यालयमा गत वर्षको तुलनामा यो वर्ष १७ प्रतिशत विद्यार्थी बढेका छन् । अघिल्लो वर्षको तुलना विश्वविद्यालयको सिट क्षमता समेत बढाएका कारण विद्यार्थी समेत बढेको उपकुलपति थापाको भनाइ छ ।

विदेशी विद्यार्थीहरुलाई नेपालमा ल्याउन विश्वविद्यालयले कन्सल्टेन्सीहरुसँग समेत सहकार्य गरेर अघि बढ्न खोजिरहेको उनले बताए । विश्वविद्यालयलाई स्रोत साधन सम्पन्न बनाउने र गुणस्तरीय शिक्षामा जोड दिने हो भने विद्यार्थी पलायन नहुने र विदेशी विद्यार्थी नै नेपाल पढ्न आउने दाबीसमेत उनले गरे ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले विद्यार्थीको पलायन रोक्न विश्वविद्यालयहरु सक्षम हुनुपर्ने बताए । विश्वविद्यालय आफैँ स्रोत साधन सम्पन्न हुनुपर्ने उनको भनाइ थियो ।

‘विश्वविद्यालय आफ्नै लगानीमा बाँच्न सक्नुपर्छ । सरकारले बजेट दिएपछि मात्रै काम गर्छु भन्ने छुट विश्वविद्यालयहरुलाई हुँदैन । त्यसका लागि विश्वविद्यालय आफैँ सक्षम हुनुपर्छ,’ उपकुलपति सिंहले भने ।

मध्यपश्चिम विश्वविद्यालयले विभिन्न कार्यक्रममार्फत वार्षिक २८ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको उनको भनाइ थियो । शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेपमुक्त हुनुपर्नेमा जोड दिँदै उनले शिक्षा क्षेत्रमा जबसम्म राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन तबसम्म गुणस्तरीय शिक्षा दिन नसकिने प्रस्ट पारे ।

खुला विश्वविद्यालयकी उपकुलपति प्राडा शिलु ब्रजाचार्यले नेपाल जस्तो गरिब देशले धनी देशमा लगानी गरिरहेको बताइन् । नेपाली विद्यार्थीहरु विदेश जाँदा अर्बौं रुपैयाँ बाहिरिएको भन्दै उनले विद्यार्थीहरु पलायन हुने क्रम रोक्न एनओसी जारी गर्न कडाइ गर्नुपर्ने बताइन् ।

एनओसी खुकुलो बनाएकै कारण नेपालीहरु पढ्नभन्दा पनि उतै बस्न जाने गरेको उनको भनाइ छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले नेपाली विद्यार्थी पलायन हुन रोक्न र विदेशी विद्यार्थी नेपालमा ल्याउन देखा परेका समस्या समाधान गर्ने जिम्मेवारी सबैको भएको बताए । राज्यको भरमात्रै परेर कुनै पनि समस्या समाधान नहुने भन्दै उनले नेपालको शिक्षा क्षेत्र सुधार गर्न र विदेशी विद्यार्थी नेपाल ल्याउन सबै सरोकारवालाको अहम् भूमिका हुने जिकिर गरे ।

कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरुले विदेशी विद्यार्थीलाई अध्ययनका लागि नेपालमा ल्याउन सकिने बताएका थिए ।

फेकनका सल्लाहकार रामशरण ढकालले विदेशी विद्यार्थी ल्याउन सकिने तर त्यसका लागि राज्यले वातावरण बनाइदिनुपर्ने बताए । शैक्षिक परामर्श व्यवसायीहरु नेपाली विद्यार्थीलाई विदेश पठाउने मात्र नभइ विदेशी विद्यार्थी नेपाल ल्याउन पनि सक्षम रहेको उनको भनाइ छ ।

आईरिनका अध्यक्ष हेमन्त भट्टराईले विदेशी विद्यार्थी त्यत्तिकै नेपाल आउन नसक्ने भन्दै त्यसका लागि राज्यको लगानी, शैक्षिक संस्थाहरुको भौतिक पूर्वाधार लगायत विषय सुधार गर्नुपर्ने बताए ।

कार्यक्रममा शिक्षाविद् डा कृष्ण प्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्दै बेरोजगार नभइ दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए । उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई खोज तथा अनुसन्धानमा लगाउन नसकिएको भन्दै त्यसका लागि विश्वविद्यालयहरु सक्षम हुनुपर्ने उनले बताए ।

नेपाली विद्यार्थी कहाँ गए ? विदेशी विद्यार्थी किन ल्याउन सकेनौँ ? लगायतका विषयमा गहन अध्ययन हुनुपर्ने उनको भनाइ थियो ।

नेपालले आफ्नो परम्परागत, नेपालीपन झल्काउने खालको पाठ्यक्रम निर्माण गरेर त्यही आधारमा पठनपाठन गराउन सके विद्यार्थीहरु बेरोजगार बन्नु नपर्ने उनले बताए ।

हिसान अध्यक्ष रमेश सिलवालले नेपालको समस्या संख्यात्मक रुपमा नभइ गुणात्मक रुपमा रहेको बताए । गुणस्तरीय शिक्षा दिन नसक्दा विद्यार्थीहरु बाहिरिएको उनको भनाइ थियो । उनले भने, ‘के कति कारणले हाम्रा विश्वविद्यालय समस्याग्रस्त छन्, ती सुधार गर्नुपर्छ । शैक्षिक क्यालेण्डर लागु गर्नुपर्छ । त्यसमा कहिले भर्ना हुने ? कहिले परीक्षा हुने ? कहिले नतिजा निकाल्ने स्पष्ट हुनुपर्छ । त्यो कार्यान्वयन गर्न नसकेको खण्डमा के गर्ने भन्ने पनि स्पष्ट रुपमा उल्लेख गर्नुपर्छ ।’

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले शिक्षा क्षेत्रमा थुप्रै खालका समस्या रहेको भन्दै ती समस्या समाधान गर्न सबै सरोकारवालाको महत्त्वपूर्ण भूमिका हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप