बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट कम्प्युटर अपरेटरको मृत्यु, ट्रकमा आगजनी

आइतबार, २८ माघ २०८०, ११ : १७
आइतबार, २८ माघ २०८०

विराटनगर । विराटनगरको बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट  इलाका प्रशासन कार्यालयमा कम्प्युटर अपरेटरको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा बिहान ९ः४५ बजेतिर दुर्घटना भएको हो ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहबी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको छ । 

गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै आक्रोशित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको छ । 

दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । आगजनीमा संलग्न भएको आशङ्कामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । विराटनगर–४ का प्रल्हाद रायसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

दुर्घटनापछि केहीबेर कोशी लोकमार्ग अवरुद्ध बनेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट डिएसपी छेदीलाल कामती, वडा प्रहरी कार्यालयबाट डिएसपी विजय श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट इन्स्पेक्टर सुमन न्यौपानेको नेतृत्वमा खटिएको संयुक्त टोलीले लोकमार्ग खुलाएको छ । अहिले लोकमार्ग सुचारु रहेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप