शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फर्जी कागजात तयार गरेर साढे ८ करोड ऋण

आइतबार, २८ माघ २०८०, १४ : ००
आइतबार, २८ माघ २०८०

काठमाडौँ । फर्जी कागजात तयार गरेर ऋण लिई क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ९ करोड रुपैयाँभन्दा बढी हानी पुर्‍याएर फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका–६ बस्ने ६७ वर्षीय रामभक्त थापा रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार थापाले कम्पनीका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी काभ्रे ब्रोइलर सप्लायर्स नामक निजी फर्मको कागजात तयार गरी आठ करोड ५० लाख रुपैयाँ कर्जा लिएका थिए । उनले सो कर्जा दुरुपयोग गरी कम्पनीलाई ९ करोड ७ लाख ६ हजार ३ सय ७८ रुपैयाँ ७४ पैसा बिगो बराबर हानी पुर्‍याएका थिए ।

यस बैंकिङ कसुर मुद्दामा साबिक पुनरावेदन अदालत पाटनले २०७१ साल वैशाख २९ गते फैसला गर्दै थापालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा १५(२) (घ) बमोजिम ३ वर्ष कैद र बिगो असुल गरी बिगो बमोजिम जरिवाना हुने ठहर गरेको थियो । तर, उनी फरार रही उक्त सजाय बेरुजू रहेको थियो । 

सीआईबीको टोलीले थापालाई शुक्रबार काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि आइतबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप