सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

फास्ट ट्रयाकमा धरहराभन्दा अग्ला पुल, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, ०४ फागुन २०८०, १४ : ५७
शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । काठमाडौँ र तराई जोड्ने झन्डै ७१ किलोमिटर लम्बाइको फास्ट ट्रयाक (द्रुत मार्ग) को धमाधम काम भइरहेको छ । सो सडक परियोजनाको प्याकेज २ अन्तर्गत मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर १२ स्थित जितपुर खोलामा जमिनको सतहबाट धरहराभन्दा अग्लो उचाइमा पुल निर्माणको काम धमाधम भइरहेको छ ।  

यहाँ पुलका लागि जमिनको सतहबाट ४ वटा पिलर उठाउने काम भइरहेको छ । यी चार पिलरमध्ये एउटा पिलरको उचाइ ८१ मिटर अग्लो हुनेछ, जुन धरहराको उचाइ भन्दा ८ मिटर बढी हो । अन्य ३ वटा पिलरहरूको उचाइ ७१ मिटर रहने छ ।

fast-track (2)

निर्माण भइरहेका पुलका ती पिलरहरू भूकम्प प्रतिरोधी रहेको बताउँदै आयोजनाका पुल सेक्सनका प्रमुख कोरियाली इन्जिनियर किमले जानकारी दिए । उनले सो पुलको पिलर काठमाडौँको धरहराभन्दा अग्लो रहेको बताए । यो पुल जमिनको सतहबाट निकै उचाइमा रहनेछ ।  
धमाधम निर्माण भइरहेको पुलका साथै प्याकेज २ अन्तर्गत रहेको सुरुङमार्ग निर्माणको काम आगामी मङ्सिरसम्म सक्ने नेपाली सेनाको लक्ष्य छ । 

यस्तै प्याकेज २ अन्तर्गत बकैया गाउँपालिकाको चालिसे खोलामा पनि पुल निर्माणको काम धमाधम भइरहेको छ । साथै पुलसँगै जोडिएर धोद्रे सुरुङमार्ग निर्माणको काम पनि भइरहेको छ ।  प्याकेज नम्बर २ मा लेनडाँडा सुरुङमार्ग र धोद्रे सुरुङमार्ग गरी २ वटा सुरुङमार्ग रहेका छन् ।

fast-track (3)

लेनडाँडा सुरुङमार्गको आउने र जाने गरी दुई मुख भएका सुरुङ्गमार्गको प्रगति हेर्दा एउटा सुरुङमार्गमा १ हजार ६५३ मिटर मध्ये १ हजार २२७ मिटर सुरुङ खन्ने काम भएको छ । त्यसकै छेउमा रहेको अर्को १ हजार ७२८ मिटर मध्ये १ हजार १३५ मिटर खन्ने तथा ढलानको काम सँग सँगै भइरहेको आयोजनाका रेजिडेन्ट  इन्जिनियर विनायक शर्माले जानकारी दिए । 


यता लेनडाँडामा रहेको सुरुङमार्ग अन्तर्गत एउटा १ हजार ६३३ मिटर सुरुङको १ हजार २३८ मिटर खन्ने काम सकिएको छ भने सँगै रहेको अर्को १ हजार ६१२ मिटर लम्बाइको सुरुङ मध्ये १ हजार १८८ मिटर खन्ने काम सकिएको छ । आगामी वैशाख जेठ भित्रमा यी सुरुङ खनेर सक्ने लक्ष्य लिइएको शर्माले जानकारी दिए । 

fast-track (4)

धोद्रे–लेनडाँडा प्याकेज अन्तर्गतको खण्डमा सुरुङमार्गको लम्बाई धेरै रहेको छ । सुरुङ्गमार्गको लम्बाई ७२ प्रतिशत, पुलको लम्बाई १२ प्रतिशत रहेको छ भने सडकको लम्बाई १६ प्रतिशत रहेको छ । यो खण्डमा ५ ठाउँमा पुल निर्माणको काम धमाधम भइरहेको छ ।

fast-track (5)fast-track (6)fast-track (7)fast-track (8)fast-track (9)fast-track (10)    


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप