शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

लघुवित्तमाथि संकटको वर्ष : निक्षेपसँगै कर्जा लगानी समेत घट्यो

खराब कर्जाको दरमा १८५ प्रतिशतको वृद्धि !
आइतबार, ०६ फागुन २०८०, १७ : ४५
आइतबार, ०६ फागुन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार लघुवित्त वित्तीय संस्थाहरूको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन (अफ साइड रिपोर्ट) सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०/८१ को अध्ययन प्रतिवेदन सार्वजनिक गरेको बैंकले २०८० पुस मसान्तसम्म लघुवित्त वित्तीय संस्थाहरूको ऋणी र ऋण प्रवाह दुवैको आकार घट्न पुगेको हो ।

राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तसम्म कूल ५७ लघुवित्त वित्तीय संस्थाका ६० लाख १६ हजार सदस्यहरूमध्ये २९ लाख ८४ हजार ऋणी रहेका थिए । तर, चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा यस्तो ऋणीहरूको सङ्ख्या ८.३३ प्रतिशतले घटेर २७ लाख ३७ हजारमा झरेको हो । 

यस्तै समीक्षा अवधिमा यता कर्जा लगानी समेत ८.३१ प्रतिशतले नै घट्दै जम्मा ४६ अर्ब ६२ करोड ३१ लाख रुपैयाँ मात्र लगानी भएको केन्द्रीय बैंकको अफ साइड रिपोर्टले देखाएको छ । 

२०८० असार मसान्तसम्म ५७ लघुवित्त वित्तीय संस्थाहरूले २९ लाख ८४ हजार ऋणीलाई ५० अर्ब ८९ करोड ७ लाख रुपैयाँ कर्जा सापटी दिएका थिए । 

यस्तै समीक्षा अवधिमा यता निक्षेप संकलन (बचत) ६.१७ प्रतिशतले घट्दै १ अर्ब ७४ करोड ११ लाख रुपैयाँ मात्र संकलन हुन सकेको राष्ट्र बैंकले जनाएको छ । २०८० असार मसान्तसम्म लघुवित्त वित्तीय कम्पनीहरूले कूल १ अर्ब ८५ करोड ५६ लाख रुपैयाँ बराबर बचत संकलन गरेका थिए । 

खराब कर्जाको दरमा १८५ प्रतिशतको वृद्धि !

समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा तथा सापटीमध्ये निष्क्रिय कर्जा १ अर्ब २२ करोड अर्थात २.२५ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ०.७१ प्रतिशत रहेको थियो भने २०७९ पुस मसान्तमा यस्तो अनुपात ०.८७ प्रतिशत मात्र रहेको थियो । 

समीक्षा अवधिमा निष्क्रिय कर्जा १८५.६५ प्रतिशतले बढेको छ भने सक्रिय कर्जा ११.७१ प्रतिशतले घटेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा निष्क्रिय कर्जा १२१.०२ प्रतिशतले बढेको थियो भने सक्रिय कर्जा २.६९ प्रतिशतले बढेको थियो । २०८० पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक संस्थाहरूले पुनरतालिकीकरण गरेको कर्जा रकम रु २६ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप