बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
समाजवादी मोर्चा

एमालेसँग पनि सहकार्य हुनसक्छ : विप्लव

सोमबार, ०७ फागुन २०८०, १६ : १७
सोमबार, ०७ फागुन २०८०

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाका संयोजक एवं नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बृहत् समाजवादी मोर्चाका लागि एमालेसँग पनि सहकार्य गर्नुपर्ने स्थिति आउन सक्ने बताएका छन् ।

आइतबार बसेको मोर्चाको बैठकले आलोपालो प्रणाली अनुसार विप्लवलाई संयोजक बनाएको थियो । मोर्चालाई थप गतिशील र शक्तिशाली बनाउन समान विचार भएका वामपन्थी दलहरूसँग छलफल भइरहेको उनले जानकारी दिए ।

‘वामपन्थी तथा समाजवादी विचार भएका पार्टीहरूलाई मोर्चामा ल्याउन पहल भइरहेको छ । नेकपा मशाल, नेपाल समाजवादी पार्टी, वामदेव गौतमको पार्टीसँग छलफल भइरहेको छ । अब छलफल नेकपा एमालेसम्म लैजानुपर्ने स्थिति बन्न सक्छ,’ उनले रातोपाटीसँग भने ।

सबै वामपन्थी शक्तिहरू बिच छलफललाई तीव्रता दिनुपर्छ भन्ने कुरा भएको विप्लवको भनाइ छ ।

यस्तै मोर्चालाई गतिशील बनाउने विषयमा आइतबार बसेको बैठकमा गम्भीर छलफल भएको विप्लवले जानकारी दिए । मोर्चाले जसरी गति लिनुपर्ने हो, त्यसमा प्रगति नभएको उनले स्वीकारे ।

‘मोर्चाले गति नलिएकोमा बैठकमा गम्भीर छलफल भएको छ । गति नलिनुमा दुई कुरा छन् । पार्टीका सबै नेताको  कार्यव्यस्तता, प्रधानमन्त्रीको पनि यो बिचमा कार्यव्यस्तता बढ्यो,’ उनले भने, ‘त्यसले समयमै गर्ने भन्ने कार्यक्रम पूरा हुन सकेन । त्यसकारण अलि शिथिलता भयो ।’

दोस्रो कारणका रुपमा उनले मोर्चाको अवधारणा र नीति अनुसार राजनीतिक गतिविधि अगाडि बढाउन संयुक्त पहल अपेक्षाकृत हुन नसकेको औँल्याए 

यसैगरी सडकमा अहिले व्यवस्था विरोधी गतिविधि भइरहेकोप्रति मोर्चामा गम्भीर समीक्षा भएको भन्दै विप्लवले छिटै जनपरिचालनको कार्यक्रम ल्याउने बताए ।

‘नेपालको राजनीतिमा अहिले एक प्रकारले परीक्षित भइसकेको धारा आक्रामक जस्तो देखिएको छ । जनताको मत नै प्रयोग हुन नपाएको या चाहना नै पूरा हुन नपाएको समाजवादी धारा अलि रक्षात्मक बन्न पुगेको जस्तो देखिएको छ’, उनले भने, ‘मोर्चाको शक्तिलाई जनतामा छिटोभन्दा छिटो पुर्याउनुपर्छ भन्ने निष्कर्ष निकालिएको छ ।’

त्यसअनुसार नै अब मोर्चाले छिटै जनपरिचालनको कार्यक्रम अगाडि बढाउने संयोजक विप्लवको भनाइ छ ।

सत्तामा रहेका दलहरू सरकार र सदनमा व्यस्त भएकाले आफूले नेतृत्व गर्दा मोर्चाको गतिविधि अगाडि बढाउन सजिलो पर्ने दलहरूको निष्कर्षका आधारमा नेतृत्व लिएको उनले बताए । मोर्चालाई गतिशील बनाउन एक दुई दिनमै बैठक बसेर कार्यक्रम घोषणा गर्ने उनको जिकिर छ ।

‘अन्य मित्र पार्टीहरूलाई मोर्चामा सहभागी गराउन पहल पनि गर्ने, राजनीतिक परिचालनको कामहरूलाई अगाडि बढाउने र भविष्यमा एउटा शक्तिशाली समाजवादी आन्दोलन निर्माण गर्नेबारेमा पहल बढाउने कुरा भएको छ । त्यही अनुसार म पहल गर्छु’, उनले भने ।

विप्लवले बाहिर आएजस्तो मोर्चामा कुनै गडबड नभएको जिकिर गरे । तर काममा अलि गति पैदा नभएपछि अनेक खालको प्रतिक्रिया आएको हुनसक्ने भन्दै उनले यसलाई छलफलबाटै हल गर्ने बताए ।  

पछिल्लो राजनीति स्थितिको चित्रण गर्दै उनले नेपाल चुनौतीपूर्ण मोडमा उभिएको बताए ।

‘व्यवस्थामा जब समस्या आउँछ, त्यसमा विरोधीहरू ओगट्न आएका हुन्छन् । तर समग्रमा हेर्ने हो भने अग्रगामी प्रवृत्ति भनेको समाजवादी प्रवृत्ति नै हो । त्यसबारे छलफल चलिरहेको छ । त्यसबारे सबै मित्र शक्तिहरूलाई लिएर जान पहल गर्छौँ’, उनले भने, ‘म आफ्नो तर्फबाट कुनै संकुचन, आग्रह पूर्वाग्रह बिना सबै मित्रहरूसँग छलफल गर्ने र त्यही अनुसार राजनैतिक तथा जनपरिचालनका कामहरूलाई अगाडि बढाउने योजना छ ।’

समान राष्ट्रिय एजेण्डा र विचारधाराबिच एउटै मोर्चामा आबद्ध भएर समाजवादी क्रान्तिको आधार तय गर्ने लक्ष्यसहित गत असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेकपा आबद्ध मोर्चा गठन भएको थियो । आलोपालो प्रणाली अन्तर्गत पहिलो चरणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका थिए । मोर्चाले अहिलेसम्म सातै प्रदेशमा सन्देश सभा गर्नुका साथै ५५ जिल्लामा संगठन विस्तार गरेको छ ।

असोजदेखि निष्क्रिय रहेको मोर्चालाई फेरि सक्रिय बनाउने योजनामा चार दल देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप