आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
दुध उत्पादन

किसानले सडकमा दुध फाल्नुपर्ने अवस्था कहिलेसम्म ?

बुधबार, ०९ फागुन २०८०, ०६ : १०
बुधबार, ०९ फागुन २०८०

मकवानपुर । अघोषित ‘मिल्क होलिडे’का कारण दुग्ध उत्पादक किसान मर्कामा पर्दै आएका छन् । ‘मिल्क होलिडे’का कारण बिक्री हुन नसकेको दुध सडकमै फालेर कतिपय किसानले विरोध प्रदर्शन गर्दै आएका छन् ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि दुध खरिद नगरेपछि कृषकहरू मर्कामा परेका हुन् । दुध लामो समय राख्दा बिग्रने गरेकाले फाल्नुको विकल्प नरहेको कृषक बताउँछन् ।

बागमती प्रदेशका किसानले उत्पादन गरेको दुध सहकारी संस्थाले किन्ने र सहकारी मार्फत विभिन्न दुग्ध उद्योगमा बिक्री हुने गर्दछ । दुध खरिद गरेबापत उद्योगले सहकारी मार्फत नै कृषकलाई भुक्तानी दिने गरेका छन् । तर, उद्योगहरूले गत असारदेखि दुध खरिद बापतको रकम किसानलाई दिन सकेका छैनन् । दुग्धजन्य पदार्थले बजार पाउन नसकेको भन्दै उद्योगहरूले दुध उठाउन नमानेपछि कृषकले सडकमा पोख्नुपर्ने अवस्था आएको हो ।

कृषकहरूले गत आइतबार चितवनको सडकमा दुध पोखेर विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा प्लेकार्ड र नाराजुलुस गरे । उनीहरूले कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालको राजीनामा समेत माग गरेका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको नेतृत्वमा  विरोध कार्यक्रम भएको थियो । चितवनसहितका जिल्लामा ‘मिल्क होलिडे’ भएकाले कृषकहरू समस्यामा परेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए । उत्पादित दुध बिक्न छाडेपछि किसान र सहकारीसमेत समस्यामा परेको उनको भनाइ छ ।

सरकारले मिल्क होलिडे अन्त्यका लागि ध्यान नदिएपछि आफूहरू सडकमै उत्रिनुपर्ने अवस्था आएको बगाले बताउँछन् । सरकारले नीतिगत रूपमा कृषकहरूको समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । सरकारी स्वामित्वको डीडीसीले नै दुध खरिद नगर्ने र दुधको पैसा भुक्तानी नदिएको उनले बताए ।

त्यसो त कृषकहरूले आफ्ना समस्याका बारेमा प्रधानमन्त्री र मातहतका निकायसँगै स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेश सरकार समक्ष जानकारी पुर्‍याइसकेका थिए । गत माघको अन्तिम साता मात्र कृषकहरूको एक टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरी आफ्नो समस्या र ‘मिल्क होलिडे’का विषयमा ज्ञापनपत्र बुझाएका थिए ।

त्यसअघि कृषकहरूले बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौँडामा तालाबन्दीसमेत गरेका थिए । तालाबन्दीपछि सो विषयमा बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रदेश सरकार र किसानहरूबिच ३ बुँदे सहमति भएको थियो । तर, कृषकहरूको माग अझै पूरा हुन सकेको छैन ।

भारतबाट कच्चा र पाउडर दुधको आयात बढेकाले नेपाली दुधले बजार नपाएको किसानको गुनासो छ । नेपालका केही ठुला निजी डेरीले भारतबाट कच्चा दुध आयात गरिरहेको कृषकहरूको आरोप छ ।

अध्यक्ष बगालेका अनुसार ठुला डेरी उद्योगहरूले मधेसका सीमावर्ती क्षेत्रमा चिस्यान केन्द्र स्थापना गरेर भारतबाट काँचो दुध सङ्कलन गरिरहेका छन् । त्यसो त भारतबाट पाउडर दुध आयात वैधानिक भए पनि काँचो दुध आयातमा प्रतिबन्ध छ । खुला सिमानाबाट हुने यस्तो तस्करी रोक्न नसक्दा नेपाली किसानले उत्पादन गरेको दुध सडकमा पोख्न बाध्य भएको उनले बताए ।

  • कति हुन्छ बागमतीमा दुध उत्पादन ?

बागमती प्रदेशका १३ जिल्लामा ६ लाख मेट्रिक टनभन्दा बढी दुध उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा प्रदेशका १३ जिल्लामा ६ लाख ७७ हजार ५७१ मेट्रिक टन दुध उत्पादन भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौँडाको तथ्याङ्क छ ।

सो वर्ष दोलखामा २३ हजार ७०४ मेट्रिक टन, सिन्धुपाल्चोकमा २३ हजार ६९८ मेट्रिक टन, रामेछापमा ३६ हजार ९३४ मेट्रिक टन र सिन्धुलीमा ४३ हजार ८ मेट्रिक टन दुध उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

यस्तै, काभ्रेमा १ लाख ४७ हजार ३० मेट्रिक टन, भक्तपुरमा २५ हजार ७८७ मेट्रिक टन, ललितपुरमा १ लाख १२ हजार ८९४ मेट्रिक टन, काठमाडौँमा ५१ हजार २७४ मेट्रिक टन, रसुवामा २ हजार २९७ मेट्रिक टन, नुवाकोटमा १९ हजार ३९७ मेट्रिक टन, धादिङमा ४२ हजार ६४४ मेट्रिक टन, चितवनमा ९८ हजार १४३ मेट्रिक टन र मकवानपुरमा ५२ हजार ७०० मेट्रिक टन दुध उत्पादन भएको थियो ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस वर्षमा दुध उत्पादन बढ्ने अनुमान गरिएको छ ।

milk

पछिल्लो समय दुध उत्पादक किसानको संख्या र उत्पादन वृद्धि भएका कारण सो मात्रामा खपत बढ्न नसकेको हेटौँडाका दुग्ध वितरण आयोजनाका प्रमुख राजीव खनालले बताए । उत्पादनको तुलनामा दुग्धजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरूले खपत बढाउन नसक्दा दुग्ध उत्पादक किसान समस्यामा परेको उनको भनाइ छ ।

उत्पादन अनुसारको बजारीकरण र व्यवस्थापनको योजना नबन्दा किसान मर्कामा परेको खनाल बताउँछन् । दुग्ध विकास संस्थानले पनि सीमित क्षमतामा दुग्धजन्य पदार्थ उत्पादन र भण्डारण गर्ने भएकाले खपत दर बढ्न सक्ने अवस्थामा नरहेको उनले बताए ।

दुध उत्पादक किसानले लगानी उठ्ने वातावरण नरहेको बताउँदै आएका छन् । लागत न्यूनीकरण, भण्डारण र बजारीकरणमा सरकारले काम नगर्दा समस्या भोग्नु परेको हेटौँडा–६ हात्तीलेटका कृषक कृष्णप्रसाद दुलाल बताउँछन् ।

कृषि उत्पादनको बजारीकरण नहुँदा लगानी नै डुब्ने अवस्था सिर्जन भइ दुध उत्पादक किसानहरू पलायन हुने अवस्थामा पुगेको उनले बताए । लामो समयसम्म दुधको भुक्तानी नपाउने, लागत अनुसारको मूल्य नपाइने, मिल्क होलिडे जस्ता समस्याले किसानहरू पलायन हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

‘मिल्क होलिडे’ गर्नुपर्ने बाध्यता हटाउने उद्देश्यले बागमती प्रदेश सरकारले धुलो दुध उत्पादन गर्ने उद्योग स्थापना गरे पनि सो उद्योग व्यावसायिक रूपमा सञ्चालन हुन सकेको छैन । उद्योग सञ्चालनमा आएको खण्डमा दुग्धजन्य पदार्थ उत्पादन गरी भण्डारण गर्न सक्ने स्थिति बन्छ । तर, सरकारले सो विषयमा खासै चासो दिएको देखिँदैन ।

निर्देशनालयका निर्देशक गौरीमान श्रेष्ठका अनुसार बागमती प्रदेश सरकार स्थापना पश्चात् दुध उत्पादन वृद्धिका विभिन्न कार्यक्रम सञ्चालन भएर हाल दुध उत्पादनको दर बढ्दो क्रममा छ । प्रदेश सरकार दुध उत्पादन वृद्धिमा लागे पनि बजारीकरणतर्फ भने ध्यान दिन नसकेको उनले बताए ।

पाउडर दुध उत्पादन उद्योग सञ्चालनमा आएको खण्डमा कच्चा दुधलाई प्रशोधन गरी पाउडर दुध बनाएर एक वर्षसम्म भण्डारण गर्न सक्ने उनको भनाइ छ । कृषकहरूको श्रमको उचित मूल्य र बिचौलियाको अन्त्यका लागि सरकारले बजारीकरणका लागि नीति निर्माण गरेर अघि बढ्नुपर्ने उनले प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप