शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जनसम्पर्क समितिका सभापतिहरूसँग शर्मा नेतृत्वको एनआरएनएद्वारा छलफल

बुधबार, ०९ फागुन २०८०, १४ : २५
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आरके शर्मा पक्षको ‘फेस टु फेस’ बैठक अगाडि सरोकारवालासँग छलफल भएको छ । नयाँ कार्यसमितिका अध्यक्ष शर्माले जनसम्पर्क समितिका सभापतिहरूसँग सुझाव लिएका हुन् ।

नेपाली कांग्रेसको महासमिति बैठकमा भाग लिन आएका प्रवासमा रहेका जनसम्पर्क समिति सभापति तथा काठमाडौँमा रहेका अभियन्ताहरूसँग समेत शर्माले छलफल गरेका हुन् । ललितपुरस्थित गोदावरीमा आयोजित छलफलमा महासमिति बैठकमा भाग लिन आएका प्रतिनिधि सहित अन्य एनआरएन अभियन्ताहरू सहभागी थिए ।

अध्यक्ष शर्माले फेस टु फेस मिटिङ र एनआरएन अभियानमा देखिएको अन्योलको विषयमा सुझाव लिन कार्यक्रम आयोजना गरिएको बताए ।

बद्री केसी पक्षले एकलौटी ढङ्गबाट सहमति तोडेपछि हिमालयन होटेलमा  गैरआवासीय नेपाली सङ्घका  तत्कालीन अध्यक्षद्वय कुल आचार्य र रविना थापाले बोलाएको भेलाले महाधिवेशनका सबै प्रक्रिया पूरा गरेर आफ्नो अध्यक्षतामा विधिवत् नयाँ कार्यसमिति निर्वाचित गरेको भन्दै अभियानलाई अगाडि बढाउन  जनसम्पर्क  समितिहरूको ठूलो भूमिका हुने  बताए ।

शर्माले सङ्घका  राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरू स्वायत्त रहेको भन्दै कसैले चाहेर पनि हटाउन नसक्ने बताए । उनले अभियानलाई केही व्यक्तिले मुट्ठीमा लिएर हिँडेको हुँदा त्यसको विरोधमा लडाइ रहेको बताए ।

एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली  नागरिकता प्राप्त भएको र त्यो अनुसार नियमावली र कानुन बनाएर अधिकार प्राप्तिको लागि लाग्नुपर्ने बताए । सरकारले छानबिन समिति गठन गरेको र समितिको छानबिन पछि एनआरएनएको अन्योल हट्ने उनले आशा व्यक्त गरे  । एनआरएनएकी  निवर्तमान अध्यक्ष रविना थापाले गत २ वर्षे कार्यकालमा भएका उपलब्धिहरूको बारेमा जानकारी गराएकी थिइन् । सामाजिक काममा शर्माको नेतृत्व अगाडि बढ्न उनले  सुझाव पनि दिइन्  ।

सङ्घका उपाध्यक्ष गंगाधर गौतमले  गैरआवासीय नेपाली सङ्घ चिराचिरा परेको भन्दै अब घर घरघरमा संस्था दर्ता हुने स्थिति देखिएको बताए । उनले गैरआवासीय नेपाली अभियानमा जनसम्पर्क समितिहरूको महत्त्वपूर्ण योगदान रहेको भन्दै हाल  ४६ वटा देशमा जनसम्पर्क समिति रहेको बताए ।

एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेले  आफूलाई एउटा पक्षले विजेता घोषणा गर्दा पनि त्यो विधिसम्मत नभएकाले त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको र सत्य तथ्य बाहिर ल्याएर अभियानलाई अगाडि बढाउनुपर्ने बताए ।

सङ्घका अर्का उपाध्यक्ष राज रेग्मीले आफूलाई नतिजामा जिताइएको भए पनि चुनावमा व्यापक  कमजोरी देखिएको हुँदा आफूले शपथ नलिएको भन्दै सरकारले गठन गरेको छानबिन समितिको रिपोर्टको आधारमा अगाडि बढ्नुपर्ने र एनआरएनएको साखलाई बढाउनुपर्ने बताए ।

एनआरएनएका महासचिव बुद्धि सुवेदीले आफूहरूले स्वैच्छिक रूपमा सहयोग सङ्कलन गरी  पश्चिम नेपालका  भूकम्प पीडितहरूलाई दैलोमै पुगेर राहत वितरण  गरेको तथा प्रवासमा बस्ने नेपाली र श्रमिकका मुद्दाहरूबारे नेपाल सरकारलाई जानकारी गराउँदै  समस्या समाधान गर्न पहल गरेको जानकारी दिए । एनआरएनएका उपमहासचिव कृष्ण गिरीले चुनावी नतिजामा नियतवश गडबडी गरिएको  र विसङ्गति देखिएको कारणले आफूहरूले विरोध गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप