पाँच वर्ष अघि उद्घाटन भएको परियोजनाको बल्ल पूरक ईआईए हुँदै

बुटवल । २०७५ साल चैत १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, नयाँमिलमा बुटवल मेडिकल कलेज परियोजनाको उद्घाटन गरेका थिए । प्रदेशस्तरको मेडिकल कलेज निर्माणका लागि अझैसम्म परियोजनाको नाममा जग्गाको भोगाधिकार प्राप्त भएको छैन ।
एक पटक वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) भएको परियोजनाका लागि फेरि ईआईए गर्नुपर्ने निर्देशन आएपछि त्यसको प्रक्रिया अघि बढाउने तयारी भइरहेको बुटवल मेडिकल कलेज परियोजनाका निर्देशक नारायण प्रसाद पोखरेलले रातोपाटीलाई बताए ।
पाँच ५ वर्षमा के के काम भयो ?
२०७५ सालमा ठुलो तामझामका साथ उद्घाटन गरिएको परियोजनाको हालसम्म डीपीआर सकिएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेर तिलोत्तमा–१ र ८ मा पर्ने सामुदायिक वनको ५० बिघा जग्गामा मेडिकल कलेज निर्माण गर्न अनुमति दिएको छ ।
परियोजनाको गुरुयोजना निर्माणको काम समेत सम्पन्न भएको छ । निर्देशक पोखरेलले सुरुमा २ सय बिघामा निर्माण गर्ने भनिए पनि पछि त्यसलाई घटाएर ५० बिघा क्षेत्रमा झारिएको बताए ।
उनले पूरक ईआईए भएपछि अर्थ मन्त्रालयले स्रोतको सुनिश्चितता गर्ने छ । अनि रुख कटानको प्रक्रिया जाने उनको भनाइ छ ।
सरकारले अहिले मेडिकल कलेजको लागि ७ करोड बजेट छुट्याएको छ । परियोजना इन्जिनियर उमेश सिंहका अनुसार मेडिकल कलेजको भौतिक पूर्वाधार १० बिघामा निर्माण हुनेछ भने बाँकी ४० बिघामा बगैँचा, सडक लगायतका संरचना बन्नेछन् ।
मेडिकल कलेजको डीपीआरका लागि ३ करोड ४१ लाख रुपैयाँ खर्च भएको थियो । यसअघि ईआईएका लागि २० लाख खर्च भएको थियो । अहिले पूरक ईआईएका लागि १६ लाख रुपैयाँ लाग्ने छ ।
ईआईए सम्पन्न गरेर अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएपछि मात्रै बुटवल मेडिकल कलेजले जग्गाको भोगाधिकार पाउने छ । त्यसका लागि अझै केही महिना लाग्ने छ ।
अहिले रुपन्देहीको भैरहवामा युनिभर्सल मेडिकल कलेज र देवदहमा देवदह मेडिकल कलेज गरी दुई वटा निजी क्षेत्रका मेडिकल कलेज सञ्चालनमा छन् । बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल छ । यो मेडिकल कलेज बनेमा तिलोत्तमाको स्वास्थ्य क्षेत्रमा पनि फट्को मार्ने तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन क्याम्पसको स्ववियु निर्वाचनबाट अलग हुने अनेरास्ववियुको घोषणा
-
सिंहदरबारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बैठक, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निर्देशन
-
आरआरको स्ववियु निर्वाचन प्रक्रिया सुरु गर्न माग
-
पोखरा बेलुन विस्फोट घटना : छानबिन समितिले बुझाएको प्रतिवेदनमा के छ ?
-
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले
-
अर्जुन घर्तीको उत्कृष्ट अर्धशतकसँगै कर्णाली विजयी, कोशी प्रदेशको पाँचौँ हार