सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेनेटरी प्याडमा सामुदायिक र संस्थागत विद्यालयबिच उपमहानगरको विभेद

सामुदायिक विद्यालयका छात्राका लागिमात्रै बजेट आएको हुन्छ, निजीलाई दिन मिल्दैन  ः उपमहानगर
शुक्रबार, ११ फागुन २०८०, १३ : २७
शुक्रबार, ११ फागुन २०८०

बारा । जीतपुरसिमरा उपमहानगरले सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याडको व्यवस्था गर्दा संस्थागत विद्यालयमा अध्ययनरत छात्रा भने उक्त सुविधाबाट वञ्चित भएका छन् ।

उपमहानगरको १५ नम्बर वडास्थित राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनकी शिक्षिका शोभा केसीले सुरुमा विद्यालयले विद्यार्थीहरुसँगै पैसा उठाएर सेनेटरी प्याडको व्यवस्था गरे पनि पछिल्लो समय विद्यालय आफैँले किनेर दिने गरेको बताइन् ।

‘सामुदायिक विद्यालयहरुमा नगरपालिकाबाट सेनेटरी प्याड आउँछ तर हामीकहाँ अध्ययन गर्ने छात्रालाई विद्यालयले नै व्यवस्था गर्दै आएको छ,’ शिक्षिका केसीले भनिन्, ‘कहिलेकाहीँ हामीकहाँ एकैदिन ४०÷५० जना छात्रा महिनावारी हुन्छन् ।’

ग्रामीण भेगका विद्यालयमा विशेष गरी दलित, जनजाति समुदायका  किशोरीहरु लाज मान्ने र अभिभावहरु पनि सचेत नहुँदा प्याड माग्न संकोच मान्ने, डराउने, फेर्न नजान्ने समस्या हुने गरेको शिक्षकहरु बताउँछन् ।

नेशनल प्याब्सनका केन्द्रीय सदस्य तथा लोटस एकेडेमीका सञ्चालक  रामप्रसाद अधिकारी नगरपालिकाले संस्थागत विद्यालयहरुमा पनि सेनेटरी प्याडको व्यवस्था गर्दा विद्यार्थीहरुले आफ्नो नगरपालिकाप्रति गर्व गर्ने बताउँछन् । ‘स्थानीय तहले संस्थागत, सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई दिने सुविधामा सेनेटरी प्याडमा मात्रै होइन, कुनै पनि कुरामा भेदभाव गर्न भएन,’ अधिकारीले भने, ‘निजी संस्था र सामुदायिक संस्थाले पाउने सुविधाको कुरा फरक होला तर विद्यार्थीले पाउने कुरा संघीय र स्थानीय तहबाट पाउनुपर्ने कुरा समान हुनुपर्छ ।’

जनता मावि प्राविधिक शिक्षालयका प्रधानाध्यापक राजु अधिकारीले विभेदकारी व्यवहार गर्न नमिल्ने बताए । ‘यो नगरपालिकाभित्र सबै जनता बराबर हुन्, सबैले बराबर कर तिरेका छन्, कुरा गर्दा संस्थागत विद्यालयलाई दिने कार्यविधिमै छैन, भोलि बेरुजु हुन्छ, अप्ठ्यारो पर्छ भन्छन्,’ अधिकारीले भने, ‘बेरुजु हुने कुरालाई कार्यविधि बनाएर दिन सके राम्रो, नगरपालिकाले चाहेमा कार्यविधि बनाएर कर उठाउन सक्छ भने कार्यविधि बनाएर आफ्ना विद्यार्थीलाई सेनेटरी प्याड दिन सक्दैन ?’

bb2

राष्ट्रिय विभूति शिक्षा सदनको २२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले यस्तो गुनासो व्यक्त गरेका हुन् ।

जीतपुरसिमरा उपमहानगरले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई २०७७ सालदेखि निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरेको छ  । जीतपुरसिमरा उपमहानगरभित्र ६१ वटा सामुदायिक र ५० वटा संस्थागत विद्यालय छन् ।

सामुदायिक विद्यालयहरुको हकमा नेपाल सरकार, शिक्षा मन्त्रालयले नै सेनेटरी प्याड खरिदका लागि कार्यविधि बनाएको छ ।

जीतपुर सिमराभित्रका ६१ वटा सामुदायिक विद्यालयका महिनावारी हुने समूहका छात्राका लागि सेनेटरी प्याड खरिद गर्न संघीय सरकारले वार्षिक ४० देखि ५० लाख बजेट विनियोजन गर्ने गर्दछ । उपमहानगरले गत वर्ष १८ लाखको सेनेटरी प्याड खरिद गरेको शिक्षा महाशाखाले जनाएको छ  ।

उपमहानगर शिक्षा महाशाखाका प्रमुख हरिसप्रसाद भट्टले संघीय सरकारको बजेटबाट संस्थागत विद्यालयका छात्राहरुका लागि सेनेटरी प्याड खरिद गरेर वितरण गर्न नमिल्ने बताए ।

‘उपमहानगरले दिन चाहेमा कार्यपालिकाबाट निर्णय गरेर कार्यविधि बनाएर आफ्नै बजेटबाट खरिद गरेर दिनसक्छ, यसमा हाम्रो कुनै आपत्ति छैन, तर संघीय सरकारले तोकेर पठाएको बजेटबाट सेनेटरी प्याड खरिद गरेर निजी स्कुललाई दिन मिल्दैन,’ भट्टले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप