शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालले पठन संस्कृति ओझेलमा पार्दैछ : अभिनेता हरिवंश

शुक्रबार, ११ फागुन २०८०, १७ : ०५
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । वरिष्ठ अभिनेता हरिवंश आचार्यले साहित्य बिना समाज नबन्ने भन्दै साहित्य संस्कृतिको जगेर्ना जनप्रतिनिधिको कर्तव्य भएको बताए । शुक्रवार ‘बुढानीलकण्ठ सांस्कृतिक साहित्यिक महोत्सव २०८०’को उद्घाटन गर्दै हिजोआज साहित्य र पठन संस्कृतिलाई सामाजिक सञ्जालले ओझेलमा पार्दै लगेको धारणा राखे ।

बुढानीलकण्ठ नगरपालिकाको आयोजनमा आयोजित दुई दिने महोत्सवमा पठन संस्कृतिबारे बोल्दै उनले पठन संस्कृतिको जगेर्ना गर्न भावी पुस्तामा किताब संस्कृतिको महत्त्व बुझाउनुपर्ने बताए । उनले साहित्यकारलाई जुटाएर बुढानीलकण्ठ नगरपालिकाले सांस्कृतिक सद्भाव झल्कने कार्यक्रम गरेकोमा प्रशंसा गरे । 

‘कुनै पनि कला र कलाकार साहित्यभन्दा पर रहन सक्दैन । म र मदनकृष्ण श्रेष्ठको काम पनि सधैँ साहित्यकै नजिक छ’ उनले भने ‘हामी पनि नपत्याउँदो किसिमले साहित्यिक सेवक हौँ ।’ 

शुक्रवार र शनिवार गरेर दुई दिन चल्ने महोत्सवमा कलाकार आचार्यद्वारा लेखक झमक घिमिरेलाई सम्मान समेत गरियो ।

स्थानीय विषय, पहिचान र प्रतिनिधित्वलाई केन्द्रमा राखिएको महोत्सव उद्घाटनमा ७० जना जनप्रतिनिधिहरू सहभागी भएका थिए । स्थानीय सांस्कृतिक झाँकीगाजाबाजाबाट सुरु भएको महोत्सवमा दर्जनौँ राष्ट्रिय कलाकार, ५० जनाभन्दा बढी कवि लेखक र विज्ञहरूको उपस्थिति रहने बताइएको छ । महोत्सवमा डा. भगवान् कोइराला, मल्ल के. सुन्दरदेखि लक्ष्मी बर्देवा, बुद्धि तामाङ र सुबिन भट्टराईसम्म वक्ताका रूपमा सहभागी हुँदै छन् । 

बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित महोत्सवमा ‘आहा बुढानीलकण्ठ’ र ‘बुढानीलकण्ठ महफिल’जस्ता बुढानीलकण्ठ विशेष सत्र पनि समावेश छन् । स्थानीय र पहिचानका कुरा उठाउने र जगेर्ना गर्ने हेतुले महोत्सवमा म्ह फुलारु, सेवारो, भुइँजसी, फल्चा व चिनाखँ, चुनिख्यँ, नांगसाल, म्हेन्दोजस्ता मौलिक शीर्षकका सत्रहरू छन् ।

दोस्रो दिनको कार्यक्रम बुढानीलकण्ठ मन्दिर परिसरमा आयोजना हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप