अलैँचीको मूल्य बढेपछि किसान उत्साहित
फुङलिङ । कालो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन् । गत वर्ष प्रतिमन रु २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन रु ८० हजारसम्ममा अलैँची बिक्री गरेका छन् । एक मनमा ४० केजी अलैँची हुन्छ ।
अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले यस वर्ष अधिकांश अलैँची किसानले प्रतिमन रु ७० हजारदेखि रु ८० हजारसम्ममा बिक्री गरेको जानकारी दिए । “सुरुआतमा प्रतिमन रु ६० हजारदेखि अलैँची बिक्री सुरु भएको थियो । दुई साता अघि रु ८० हजारसम्म पनि पुग्यो । अहिले प्रतिमन रु ७१ हजारमा अलैँची बिक्री भइरहेको छ ।”
अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको फुङलिङ नगरपालिका–५ का अलैँची व्यवसायी दिनेश अधिकारीको भनाइ छ । “पछिल्लो समय भारतमा अलैँची उत्पादन कम भएको र अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको हो”, उनले भने ।
अधिकारीका अनुसार यहाँका ८० प्रतिशत किसानले अलैँची बिक्री गरिसकेका छन् । “गत वर्षको तुलनामा यसवर्ष अलैँचीको मूल्य अत्यधिक बढ्दा किसान खुसी भएका छन् । अधिकांश किसानले प्रतिमन रु ७८ हजारदेखि रु ८० हजारसम्म अलैँची बिक्री गरेका छन्”, उनले भने ।
अलैँचीको मूल्य पाँच वर्षयताकै राम्रो भएको उनको भनाइ छ । प्रत्येक वर्ष भदौदेखि मङ्सिरसम्म अलैँची टिप्न सुरु हुन्छ भने त्यसपछि बिक्री सुरु हुन्छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ भने प्रत्येक वर्ष दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । जिल्लाका ६० वडामा अलैँची खेती हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण