आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरको आम्दानी १३ प्रतिशत बढ्यो, कुन शीर्षकमा कति उठ्यो ?

आइतबार, १३ फागुन २०८०, १५ : ३१
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको अवधिमा काठमाडौँ महानगरपालिकाको आम्दानी १३ प्रतिशतले बढेको छ । महानगरले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० को यही तुलनामा १३.१३ प्रतिशतले आम्दानी बढेको हो ।

काठमाडौँ महानगरले तीन शीर्षकमा आम्दानी गर्दै आइरहेको छ । महानगरले आन्तरिक राजश्व, बाँडफाँडबाट प्राप्त र आन्तरिक अनुदान गरी तीन शीर्षकमा आय गर्छ । यसमध्ये महानगरको राजश्व सङ्कलनतर्फ भने ठुलो गिरावट आएको छ ।

चालू वर्षको साउन महिनादेखि माघ मसान्तसम्म महानगरले ६१ करोड ३५ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यही अवधिमा महानगरपालिकाले ५४ करोड २३ लाख ३६ हजार रुपैयाँ कूल आम्दानी गरेको थियो ।

तथ्यांकअनुसार यस अवधिमा महानगरले उठाउँदै आएको सम्पत्ति बहाल तथा पट्टाबापतको कर १०० प्रतिशतले घटेको छ । गत वर्ष यस्तो कर १ करोड ४२ लाख ६८ हजार रुपैयाँ सङ्कलन भएको थियो । यसपछि, सम्पत्ति कर २२ प्रतिशतले घटेको छ भने भूमि कर/मालपोत कर समेत १२ प्रतिशतले घटेको छ ।

यसै गरी, नक्सापास दस्तुर ५५ प्रतिशतले घट्दा व्यक्तिगत घटना दर्ता दस्तुर ४ प्रतिशत र धरौटी सदरस्याहा कर ५२ प्रतिशतले खुम्चिएको छ । महानगरले आन्तरिक राजश्वमार्फत माघ मसान्तसम्मको अवधिमा ४० करोड २१ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । 

गत आर्थिक वर्षको यही अवधिमा महानगरपालिकाले आन्तरिक राजश्व शीर्षकमा ४४ करोड ४२ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको थियो । यो चालू वर्षको माघ मसान्तको तुलनामा ९.४७ प्रतिशतको वृद्धि हो । महानगरको आन्तरिक राजश्व ४ करोडले घट्दै गर्दा बेरुजु भने १८३१ प्रतिशतले बढेको छ । गत वर्ष २३ हजार रुपैयाँमा रहेको बेरुजु यो वर्ष ४ लाख ५१ हजार रुपैयाँ पुगेको छ । यस्तै प्रशासनिक दण्ड, जरिवाना र जफत ८१ प्रतिशतले बढेको छ । 

तथ्यांकअनुसार शिक्षा क्षेत्रको आम्दानी २ हजार ८३७ प्रतिशतले बढेको छ । यसबाहेक, अन्य प्रशासनिक सेवा शुल्कतर्फ ३५ हजार ८२८ प्रतिशतले बढेको छ । यसबाहेक, बाँडफाँड तथा प्राप्तितर्फ घरजग्गा रजिस्ट्रेसन दस्तुर ८३ प्रतिशतले बढ्दा बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर १०० प्रतिशतले घटेको छ ।

बाँडफाँडबाट प्राप्त हुने सवारी साधन कर गत वर्ष शून्यमा रहे पनि यो वर्ष ८ करोडभन्दा बढी उठेको देखिएको छ । यस्तै, सर्सत अनुदानमार्फत आउने रकम समेत १०० प्रतिशतले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप