सोमबार, १४ जेठ २०८१
ताजा लोकप्रिय

चौथो सन्तान छोरी नै जन्मिएपछि आमा र सासू शिशु अस्पतालमै छाडेर फरार

आइतबार, १३ फागुन २०८०, २० : २८
आइतबार, १३ फागुन २०८०

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा नवजात शिशु छाडेर आमा भागेको घटना बाहिरिएको छ । चौथो सन्तानको रूपमा फेरि छोरी जन्मिएपछि आमा र सासुआमाले एकदिने शिशुलाई छाडेर फरार भएको पाइएको हो ।

नारायणी अस्पतालका अनुसार शनिबार बिहान साढे ६ बजे सीता देवी नाम लेखाएकी महिलाले ३ केजी तौल भएकी शिशुलाई जन्म दिएकी थिइन् । बच्चा जन्मिने बित्तिकै छोरी जन्मियो भनेर सासू आमा बेडी देवीले बुहारी सीतालाई फेरि छोरी जन्माएको भन्दै रिसाएकी भावले कुरा गरिरहेकी देखिएको पाइएको स्वास्थ्यकर्मीहरुले जनाउँछन् ।

नारायणी अस्पताल प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाले भनिन्,‘बच्चा जन्मिँदाकै बखत सासू आमा मुख खुम्च्याउँदै गाली गर्न थालिन् । दुई जनाबिच भनाभन पनि भएको थियो । त्यसपछि साँझ एकैचोटी हामीलाई बच्चाको अभिभावक नभएको खबर आयो । अनि हामीले अभिभावकको खोजबिन गर्दा सबै टिपोट गलत लेखाएको पायौँ ।’

उनका अनुसार एक दिने शिशु अहिले स्वस्थ रहेको छ, उनलाई एनआइसीयूमा राखिएको छ । जन्मेको १२ घण्टामै आमा र सासू आमा एक दिने नवजात शिशुलाई छाडेर फरार भएको घटना बाहिरिएपछि पर्सा प्रहरीले खोजी तीव्र बनाएको छ । तर अस्पतालमा ती महिलाहरूले गलत सूचना लेखाएकाले खोजीमा कठिनाइ भइरहेको पर्सा प्रहरीले जनाएको छ । 

पर्सा प्रहरीका प्रवक्ता कुमार विक्रम थापाले भने,‘ती महिलाहरू आफ्नो ठेगाना गलत लेखाएका छन्, नाम पनि गलत टिपोट गराएका छन् । त्यहाँ मोबाइल नम्बर त लेखाएकै छैनन् । त्यसकारण यो नियतवश गरिएको हुनाले खोजीमा हामीलाई कठिनाइ भइरहेको छ ।’ प्रहरीका अनुसार उनीहरूले आफ्नो ठेगाना वीरगन्ज–६ भनेर रानीघाट लेखाएका छन्, जुन गलत रहेको पाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप