बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
दुग्ध उत्पादन

स्वदेशी दुध सडकमा, विदेशबाट आएको दुध भान्सामा

सात महिनामा करिब डेढ अर्बको दुध तथा दुग्धजन्य वस्तु आयात
सोमबार, १४ फागुन २०८०, ०९ : २७
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । पछिल्लो समय दुधको मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमै दुध पोखे । मूल्य नपाएको भन्दै किसानहरूले सडकमा दुध पोखेर विरोध प्रदर्शन गरिरहँदा नेपाली भान्छामा भने विदेशी दुध र दुग्धजन्य पदार्थ हाबी हुँदै गएको देखिन्छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा करिब डेढ अर्ब रुपैयाँको दुध तथा दुग्धजन्य वस्तु आयात भएको छ । यो अवधिमा १ अर्ब ४८ करोड २२ लाख रुपैयाँको १७ लाख ३४ किलो÷लिटरको दुध तथा दुग्धजन्य वस्तु आयात भएको हो ।

समीक्षा अवधिमा १९ लाख ९९ हजार रुपैयाँको दुग्धजन्य तरल पदार्थ ४ हजार ५५३ लिटर आयात भएको छ । यस्तै, १७ लाख ३० हजार ३९६ किलो ठोस दुग्धजन्य पदार्थ आयात भएको छ । यो बापत १ अर्ब ४८ करोड २ लाख २२ हजार रुपैयाँ निकासी भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले सात महिनामा दुग्धजन्य पदार्थ आयात गर्दा ६१ करोड ५७ लाख १६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।

  • सात महिनामा दुग्धजन्य वस्तु आयात विवरण:

m

 

स्रोतः भन्सार विभाग

  • सरकार र दुग्धजन्य व्यवसायबिच समन्वय हुन सकेन

दुग्ध उत्पादक किसान तथा व्यवसायी र सरकारबिच समन्वय हुन सकेको छैन । ‘भारतबाट दुध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्नसहित १६ बुँदे माग राख्दै दुग्ध उत्पादक किसान तथा व्यवसायीले चरणबद्ध आन्दोलन सुरु गरेका छन् । तर सरकारले बाह्य मुलुकबाट दुध तथा दुग्धजन्य पदार्थ आयात गर्न अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाइसकेको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयले फागुन २ गतेको निर्णयअनुसार दुग्धजन्य पदार्थ पैठारीमा रोक लगाएको हो ।

दुध तथा दुग्धजन्य पदार्थको बढ्दो आन्तरिक उत्पादनसँगै आन्तरिक खपत (उद्योगको समेत) सोही रूपमा हुन नसकेको तथा बाह्य मुलुकमा सम्भाव्य वस्तुको निर्यात हुन नसकेको र निरन्तर आयातको कारणले आन्तरिक दुध तथा दुग्धजन्य पदार्थको मौज्दात भएकाले अर्को निर्णय नभएसम्मका लागि आयात स्थगित गरिएको मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार चिल्लो हटाइएको दुध (स्कीम्ड मिल्क)को पैठारीमा पूर्ण रोक लगाइएको छ । यस्तै चिनी वा अन्य गुलियो पदार्थ नहालिएको (डब्लुएमपी) को पैठारीमा पनि पूर्णरुपमा रोक लगाइएको छ ।

अन्यमा डेरी ह्वाइटेनर, स्किम्ड मिल्क पाउडर र होल मिल्क पाउडरमा रोक लगाइएको छ । यस्तै नौनी (बटर), घिउ, छुर्पी, प्रशोधित, सबै प्रकारको चिज आयातमा पनि पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

  • तथ्याङ्क बिनै मौज्दातको दाबी

दुग्ध उत्पादन संघसंगठनले दुध पाउडर, घिउ, बटर लगायत दुग्धजन्य पदार्थ मौज्दात रहेको दाबी गरेका छन् । तर के–कति मात्रामा मौज्दात छ भन्ने उनीहरूसँग तथ्याङ्क छैन । दुग्धजन्य पदार्थ मौज्दात रहेकाले आफूहरूले किसानलाई दुधको रकम भुक्तानी गर्न नसकेको उनीहरूको दाबी छ ।

किसानले पाउनुपर्ने रकम कति छ भन्ने वास्तविक तथ्याङ्कसमेत सरकारी निकाय र दुग्ध उद्योगीसँग छैन । मन्त्रालयले उद्योगी र किसानसँग आफ्नो प्रत्यक्ष सम्पर्क नहुँदा तथ्याङ्क नभएको जनाएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दुधको करिब ४ अर्ब रुपैयाँ भुक्तानी हुन नसकेको बताए । तर दुधसँग सम्बन्धित विभिन्न संघसंगठनले किसानले करिब ६ अर्ब रुपैयाँ रकम भुक्तानी पाउन नसकेको दाबी गरेका छन् ।

  • कति उत्पादन हुन्छ दुध ?

नेपालमा वार्षिक रूपमा करिब २५ लाख मेट्रिक टन दुध उत्पादन हुँदै आएको तरकारी तथ्याङ्क छ । पछिल्लो समय दुधको उत्पादन केही बढेको पनि तथ्याङ्कमा देखिन्छ ।

सन् २०२०–०२१ मा १० लाख ६० हजार ४ सय ८७ टन गाईको दुध उत्पादन भएकोमा सन् २०२१–०२२ मा ११ लाख १ हजार ८ सय १२ टन पुगेको मन्त्रालयले जनाएको छ ।

भैँसीको दुध पनि सो अवधिमा १४ लाख १९ हजार ४ सय १२ टनबाट बढेर १४ लाख ६४ हजार ८ सय २ टन उत्पादन भएको छ । देशभर एक दशकअघि वार्षिक १६ लाख मेट्रिक टनको हाराहारी दुध उत्पादन हुन्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप