नामिबियाले जितका लागि नेपाललाई दियो २०७ रनको विशाल लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नामिबियालाई हराउन नेपालले दुई सय सात रन बनाउनु पर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनाएको हो ।
प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको नामिबियाका एक ब्याट्सम्यानले कीर्तिमानी शतक र अर्का ब्याट्सम्यानले अर्धशतक बनाए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका जन निकोल लफ्टी ईटनले कीर्तिमानसहित एक सय एक रन बनाए ।
निकै आक्रामक ब्याटिङ गरेका उनले केवल ३६ बलमा आठ छक्का र ११ चौका पनि प्रहार गरे । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा पारे । उनी नेपाली ब्याट्सम्यान कुशल मल्लको कीर्तिमान तोडदै सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका हुन् ।
ईटनले केवल ३३ बलमा शतक पुरा गरे । कुशल मल्लले भने सन् २०२३ को सेप्टेम्बर २७ तारिखमा खेलिएको मंगोलियाविरुद्धको खेलमा ३४ बलमा शतक बनाएका थिए । चीनमा सम्पन्न एसियाली खेलकुदअन्तर्गत खेलिएको उक्त खेलमा कुशल मल्लले केवल ५० बलमा अविजित एक सय ३७ रन बनाएका थिए ।
नामिबियाका लागि ओपनर ब्याट्सम्यान मलान क्रुगरले पनि अविजित ५९ रनको योगदान गरे । उनले ४८ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काए । नामिबियाले ६२ रनको कुल स्कोरमा तीन विकेट गुमाएको थियो ।
त्यसपछि क्रुगर र ईटनले टोलीको स्कोरलाई एक सय ९७ रनको बलियो स्थितिसम्म पु¥याएका थिए । नामिबियाको रन रेट १०.३० रह्यो । नामिबियाले अतिरिक्त रुपमा पनि नौ रन पायो । नामिबियाका कप्तान जोहानेस जोनाथन स्मित एक रनमा अविजित रहे । नेपाली टोलीका बलर रोहित पौडेलले दुई विकेट लिए । करण केसी र अविनाष बोहराले पनि एक–एक विकेट हात पारे ।
नामिबियाको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका थिए । उनले नामिबियाका ओपनर ब्याट्सम्यान माइकल भान लिनगेनलाई २० रनको ब्यक्तिगत स्कोरमा आउट गरेका थिए । करणले उनलाई गुलसन झाद्वारा क्याच गराएका थिए । ३२ वर्षीय करणले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लिएको यो ८०औँ विकेट हो । छैटौँ ओभरको अन्तिम बलमा माइकल आउट हुँदा नामिबियाले ३६ रन बनाएको थियो ।
नामिबियाको दोस्रो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले नामिबियाका तेस्रो नम्बरका ब्याट्सम्यान जिन पियर कोट्जीलाई बिवेक यादबद्वारा क्याच गराएका थिए । बिवेकले बाउन्ड्री रोपनजिकै उत्कृष्ट क्याच लिएका थिए । पेभेलियन फर्किनुअघि कोट्जीले ११ रन बनाएका थिए । ८.२ ओभरमा उनी आउट हुँदा नामिबियाले ४९ रन बनाएको थियो ।
नामिबियाको तेस्रो विकेट पनि कप्तान रोहित पौडेलले नै लिएका थिए । उनले नामिबियाका चौथो नम्बरका ब्याट्सम्यान जन फ्राइलिंकलाई पाँच रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका थिए । रोहितले लिएको यो दोस्रो विकेट हो । २१ वर्षीय रोहितले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लिएको विकेट सँख्या पाँच पुगेको छ । १०.४ ओभरमा फ्राइलिंक आउट हुँदा नामिबियाले ६२ रन बनाएको थियो ।
नामिबियाको चौथो विकेट अविनाष बोहराले लिएका थिए । उनले मैदानमा जमिसकेका जन निकोल लफ्टी ईटनलाई पेभेलियन फर्काएका थिए । उनले ईटनलाई गुलसन झाद्वारा क्याच गराएका थिए । १९.२ ओभरमा ईटन आउट हुँदा नामिबियाले एक सय ९७ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी
-
देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिबद्ध छु : शिक्षामन्त्री
-
छलफलका लागि गएका शिक्षक नेताहरू सिंहदरबार गेटबाटै किन फर्किए ?
-
एक पुरुष मृत फेला
-
चैत १५ को घटनाले तात्यो संसद्, राजावादीको हर्कतबारे सत्तापक्ष र विपक्षीका आ–आफ्नै तर्क