विपक्षी समर्थकले लगाए मेस्सीको नारा, रोनाल्डोले गरे अश्लील इसारा, परे एक खेलको निलम्बनमा
काठमाडौँ । प्रभावशाली पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि साउदी व्यावसायिक लिगमा एक खेलको प्रतिबन्ध लगाइएको छ । उनी साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेल्छन् ।
एक खेलका क्रममा विपक्षी टोलीका समर्थकलाई लियोनल मेस्सीसँग जोडेर अश्लील इसारा गरेपछि रोनाल्डोमाथि एक खेलको प्रतिबन्ध लगाइएको समाचारमा जनाइएको छ । अल नासर र अल–सबाबबिचको खेलका क्रममा उक्त घटना भएको थियो ।
उक्त खेलका क्रममा अल–सबाबका समर्थकहरूले निरन्तर रूपमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीको नाम उच्चारण गर्दै रोनाल्डोलाई गिज्याइरहेका थिए । त्यसपछि आक्रोशित बनेका ३९ वर्षीय रोनाल्डोले अल–सबाबका समर्थकतर्फ अस्वाभाविक इसारा गरेका थिए ।
सोही विषयलाई लिएर रोनाल्डोलाई साउदी व्यावसायिक लिगमा एक खेल खेल्न नपाउने गरी निलम्बन गरिएको हो । उक्त खेलमा रोनाल्डोको क्लब अल नासरले अल–सबाबलाई ३–२ गोलले हराएको थियो । खेलमा रोनाल्डोले पनि एक गोल गरेका थिए ।
अर्जेन्टिनी स्टार मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्छन् । मेजर लिग सकर (एमएलएस) को नयाँ सिजन सुरु हुनुअघि इन्टर मियामी एसिया भ्रमणमा आएको थियो । इन्टर मियामीको एसिया भ्रमणका क्रममा मेस्सीले साउदी अरेबियामा रोनाल्डोको क्लबसँग पनि मैत्रीपूर्ण खेल खेलेका थिए । तर, घाइते भएका कारण उक्त खेलमा रोनाल्डो सहभागी थिएनन् ।
रोनाल्डोले अस्वाभाविक इसारा गरेपछि अल–सबाबका समर्थक थप आक्रोशित बनेका थिए । साउदी फुटबल महासंघको अनुशासन तथा आचरण समितिले रोनाल्डोलाई एक खेलका लागि निलम्बन गर्ने निर्णय लिएको हो ।
यसका अतिरिक्त रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी रोनाल्डोले साउदी फुटबल महासंघलाई १० हजार साउदी रियाल जरिवाना पनि तिर्नुपर्ने भएको छ । साथै रोनाल्डोले अल–सबाब क्लबलाई पनि २० हजार साउदी रियाल क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।
उक्त घटनापछि साउदी फुटबल महासंघको अनुशासन तथा आचरण समितिले रोनाल्डोसँग बयान पनि लिएको थियो । आफ्नो बयानमा रोनाल्डोले अल–सबाबलाई हराएपछि खुशी मनाउने क्रममा त्यो घटना भएको बताएका थिए । उनले युरोपेली फुटबलमा यस्ता घटना सामान्य भएको दाबी पनि उनले गरेका थिए ।
रोनाल्डो साउदी व्यावसायिक लिगको जारी सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । जारी सिजनको लिगमा उनले हालसम्म २२ गोल गरिसकेका छन् । उनी सन् २०२२ को विश्वकप फुटबलपछि म्यानचेस्टर युनाइटेड छाडेर अल नासरमा आबद्ध भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण