सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी संकट

महासंघका वरिष्ठ नेता र अभियन्ताले नै डुबाए सहकारी

शुक्रबार, १८ फागुन २०८०, ०६ : १५
शुक्रबार, १८ फागुन २०८०

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा दर्ता रहेको विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघ संकटग्रस्त अवस्थामा पुर्याउने भूमिकामा सहकारीका अभियन्ता र सहकारी महासंघका केन्द्रीय नेताहरुकै संलग्नता देखिएको छ ।

उक्त सहकारी संघको १ करोड ३ लाख रुपैयाँ जोखिममा छ । उक्त सहकारी संघको सल्लाहकारमा रहेका रमेश प्रसाद पोखरेल स्टार बहुउद्देश्यीय सहकारी संस्था लि.का सञ्चालक हुन् । पोखरेल केही महिना अगाडि सम्पन्न राष्ट्रिय सहकारी महासंघको भेलाबाट वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् । उनको सहकारीले विशिष्टीकृतमा ४ लाख रुपैयाँ लगानी गरेको छ । विशिष्टीकृत सहकारी गठन गर्ने बेलामा पनि उनै पोखरेलले पहल गरेका थिए ।

यस्तै सहकारी संघका सेयर सदस्य रहेका वीरेन्द्र प्रसाद यादव मोरङको सहकारी संघको अध्यक्षमा पराजित भएका थिए । उनको गोपाल बहुउद्देश्यीय सहकारी संस्थाले पनि ४ लाख रुपैयाँ विशिष्टीकृत सहकारीमा लगानी गरेको छ ।

यस्तै महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट ३ लाख रुपैयाँ लगानी गरेर सेयर सदस्य बनेका लक्ष्मी सापकोटा नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य हुन् ।

विशिष्टीकृतमा १ लाख रुपैयाँ लगानी गरेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाका राकेश दाहाल मोरङ जिल्ला सहकारी संघका सचिव हुन् । मोरङ सहकारी संघका कोषाध्यक्ष रहेका अमृत गुरुङको सहकारी कृपालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.ले पनि विशिष्टीकृत सहकारीमा ४ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै, ४ लाख रुपैयाँ नै लगानी गरेको सहकारी संस्था लि. झोराहाटका विजयकुमार माझी जिल्ला सहकारी संघ मोरङका वरिष्ठ उपाध्यक्ष हुन् । अर्को लगानीकर्ता संस्था हो पब्लिक स्टार बहुउद्देश्यीय सहकारी संस्था लि. । उक्त सहकारीले विशिष्टीकृतमा ४ लाख रुपैयाँ नै लगानी गरेको छ भने उक्त सहकारीका सञ्चालक उद्धव पोखरेल हुन् । पोखरेल पनि सहकारी अभियन्ता र नेता हुन् ।

उक्त सहकारी संघका अध्यक्ष देवेन्द्र पौडेल, सचिव राकेश दाहालको मिलेमतोमा ३२ वटा सहकारीको झण्डै १ करोड ३ लाख ८४ हजार ८४४ रुपैयाँ जोखिममा परेपछि अहिले उक्त मुद्दा भित्रभित्रै चर्किरहेको छ । यो विषयको किनारा लगाउन पोखरेल परिवारलाई कठिन पर्ने एक सहकारी नेता बताउँछन् ।

४ लाख नै लगानी गरेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाका कमलेश्वर ठाकुर पनि जिल्ला सहकारी संघ मोरङका सञ्चालक समिति सदस्य हुन् । यस्तै राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाका जीवन काफ्ले, सृष्टि बचत तथा ऋण सहकारी संस्था लि.का बुद्धिबहादुर थापा, ग्रामलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सन्तोषकुमार मण्डल पनि सहकारीका नेता तथा अभियन्ता हुन् ।

अहिले डुबेको विशिष्टीकृत सहकारी संघ गठन गर्न पहल गर्ने रमेश पोखरेल, उद्धव पोखरेल र जिल्ला सहकारी संघ कोशी प्रदेशका अध्यक्ष र मोरङको अध्यक्ष रहेका डिल्ली पोखरेल सहोदर दाजुभाइ हुन् ।

उनीहरुको परिवारै सहकारीमा जोडिएका छन् भने मोरङ र कोशी प्रदेशमा उनीहरुकै प्रभाव बढी रहेको सहकारी क्षेत्रका जानकारहरु बताउँछन् । विशिष्टीकृत सहकारी संघ पनि पोखरेल परिवारकै पहलमा स्थापना गरिएको थियो ।

उक्त सहकारी संघका अध्यक्ष देवेन्द्र पौडेल, सचिव राकेश दाहालको मिलेमतोमा ३२ वटा सहकारीको झण्डै १ करोड ३ लाख ८४ हजार ८४४ रुपैयाँ जोखिममा परेपछि अहिले उक्त मुद्दा भित्रभित्रै चर्किरहेको छ । यो विषयको किनारा लगाउन पोखरेल परिवारलाई कठिन पर्ने एक सहकारी नेता बताउँछन् ।

२०७७ असार ९ गते स्थापना भएको उक्त सहकारीले कटहरीको कृषि तथा थोक बजार बिक्री केन्द्र सञ्चालन गर्ने जिम्मा लिएको थियो । १८ प्रतिशतसम्म नाफा हुने दाबी गरेर खोलिएको सहकारी संघ अहिले बन्द अवस्थामा छ ।

२०७८ कार्तिक ३ र ४ गते बेमौसमी वर्षा भएपछि गोदाममा रहेको ९० हजार किलो प्याज डुबेको झुटो विवरण दिएर घाटा देखाइएको सहकारीकै सञ्चालकहरु बताउँछन् ।

विशिष्टीकृत सहकारी संघमा आवद्ध सहकारी र लगानीको तथ्याङ्क

Sahakari Sankat (4)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप