शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बालेन साहप्रति सांसद सिंह आक्रोशित : यस्तो हर्कत नदोहोरियोस्

शुक्रबार, १८ फागुन २०८०, १७ : ००
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले फुटपाथ व्यापारीहरुलाई त्रसित नगराउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहलाई चेतावनी दिएका छन् ।  

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखको दम्भ बढेको बताएका हुन् । उनले काठमाडौँले मधेसका मान्छेका कारणले फल र तरकारी खान पाइरहेको भएपनि मधेसका मान्छेहरुलाई अपमान गरिएको बताए । उनले करमा दर्ता गरेर कवाडी व्यवसाय सञ्चालन गर्दा पनि अपमान गरिएको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गरे । उनले काठमाडौँ संघीय राजधानी भएको भन्दै यहाँ संविधान प्रदत्त अधिकारको उपभोग गर्दै सबैले बस्न पाउने बताए ।

उनले भने,‘महानगरको मेयरको दम्भ बढेको छ । किनभने श्रमिकहरु, तल्लो वर्गको काम गर्नेले यो देशमा बस्न नपाउने ? महानगर व्यवस्थित गर्न नपाउने, महानगरमा विकासको एउटा सिन्को भाँच्न नपाउने, तर कहिले फुटपाथको व्यापारीलाई त्रसित गर्ने, टाउको फुटाउने, कहिले कवाडीहरुलाई हटाउने । आज काठमाडौँको मान्छे फल खाइरहेको छ, तरकारी खाइरहेको छ, त्यो मधेसको मान्छेको कारणले हो । तर आज त्यही मधेसको मान्छे जो कवाडीको रुपमा छ, त्यो अपमानित भइरहेको छ । टाउको फुटिरहेको छ । उनीहरु कर तिरिरहेको छ । प्यानमा दर्ता छ । गैरकानूनी हो भने किन प्यान लिइरहेको छ । सरकार एकातिर कर पनि लिने अर्कोतिर अपमान गर्ने ? संघीय सरकारले यसमा हस्तक्षेप गरोस् । न कि संघीय सरकार, संघको गृहमन्त्री प्रहरी पठाएर महानगरसँग दोस्ती गरेर काम छैन । यो नेपाल हरेक नेपालीको हो । कुनै मेयर र प्रधानमन्त्रीको मात्रै होइन । कवाडीहरुलाई रेगुलेट गर्ने काम गरियोस् । मेयरले बनाएको काठमाडौँ होइन । यो काठमाडौँ संघीय राजधानी हो । यहाँ एउटा गरिब पनि बस्न पाउँछ । एउटा चेपाङ, मुसहर र र दलित पनि बस्न पाउँछ र प्रधानमन्त्री पनि बस्न पाउँछ । यो प्रधानमन्त्री, मन्त्री, मेयर बस्नका लागि मात्रै काठमाडौँ बनेको होइन । काठमाडौँको मेयर यस्ता हर्कतबाट बाजाओस् । नत्र काठमाडौँ कुनदिन संघर्षको मैदान हुन्छ । न संघ सरकारको नियन्त्रणमा हुन्छ । न मेयरको त कुनै औकातमै छैन ।’

उनले श्रमिक वर्गलाई अपमान गरिए काठमाडौँ कुनैदिन संघर्षको मैदान बन्ने भन्दै संघ सरकार र महानगरपालिकाको नियन्त्रणमा नरहने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप