सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई जोडेर फेसबुक पेजमा अफवाह फैलिएपछि दैलेख प्रहरी तनावमा

एक जना पक्राउ, अर्काको खोजी जारी
शुक्रबार, १८ फागुन २०८०, २० : ३८
शुक्रबार, १८ फागुन २०८०

सुर्खेत । ०७९ वैशाख ११ गते प्रकाशित ‘काभ्रेको नमोबुद्धमा मेयरका आकांक्षी पाण्डे’ कुटिए’ शीर्षक समाचारको तस्बिर प्रयोग भई विगत चार दिनदेखि सामाजिक सञ्जालमा  एउटा पोष्ट भाइरल छ ।

एक वर्षअघि प्रकाशित समाचारको तस्बिर प्रयोग गरी ‘हाम्रो दैलेख’ नामक फेसबुक ग्रुपमा माओवादी केन्द्रका एक कार्यकर्ता बैंक लुट्न गएको र स्थानीयले पक्राउ गरी कुटपिट गरेको प्रचार गरिएको छ । एक पुरुषको नीलडामसहितको तस्बिर र प्रहरीले नै उक्त विषय जानकारी गराएको भन्दै पोष्ट गरिएको उक्त सामग्रीले सबैको ध्यानाकर्षण गर्ने नै भयो ।

त्यसमा पनि प्रधानमन्त्रीसहित माओवादी नेताहरुको नाम जोडिएको र गृहमन्त्रीको समेत आदेश भएको लेखिएपछि एकाएक जताततै आगोसरी उक्त सामग्री फैलियो । उक्त सामग्री ‘आई एम डा. भीम रावल’ नाम गरेको पेजबाट अझ धेरै सेयर भइरहेको छ ।

पोष्टमा भनिएको छ, ‘दैलेखको डुङ्गेश्वरमा आईएमई बैँक लुट्न आएका एक माओवादी कार्यकर्तालाई स्थानीयले पक्राउ गरी कुटपिट गरेर प्रहरीलाई जिम्मा लगाएका छन्, पक्राउ पर्नेमा दैलेख जिल्ला सेक्रेटरी रहेका छन् । उनको बयान अनुसार प्रचण्ड, रेनु दाहाल र जनार्दन शर्माको आदेशमा पार्टीको आर्थिक स्थिति कमजोर हुँदै गएको र चुनावी खर्च उठाउनको लागि गरेको हुँ भनेर स्वीकार गरेका छन् । उनलाई रिहा गर्न गृहमन्त्रीको आदेश आएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।’

यद्यपि प्रहरीलाई यो विषयमा कुनै जानकारी नै थिएन । उक्त सूचनालाई गलत सावित गर्न माओवादी दैलेखका नेताहरु प्रहरी कार्यालय नै धाउनुप¥यो । प्रहरी र गृहमन्त्री समेतलाई जोडेर प्रचार गरिएको उक्त पोष्टले प्रहरी नै अचम्मित भयो ।

बाध्य भएर दैलेख प्रहरीले एउटा विज्ञप्ति जारी गरेर उक्त सूचना गलत रहेको बतायो । यो विषयमा दैलेख प्रहरीले अनुसन्धान अघि बढायो ।

अनुसन्धान अघि बढ्दै गर्दा बुधबार त्यस्तै अर्को सनसनीपूर्ण सामग्री ‘कर्णाली दैलेख मिडिया’ नामक फेसबुक पेजमा फैलियो । कुनै घटनामा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका अभियुक्तहरुको तस्बिर प्रयोग गरी उक्त पेजमा पुनः माओवादी कार्यकर्तालाई जोडेर अफवाह फैलाइएको हो ।

उक्त सामग्रीमा दैलेखको दुल्लु नगरपालिकामा मोबाइल चोरी गर्ने ६ जना माओवादी कार्यकर्ता पक्राउ परेको उल्लेख छ । उक्त अफवाहले प्रहरीलाई थप तनाव दियो नै । त्यसपछि अनुसन्धान गर्दा उक्त अफवाह फैलाउने व्यक्ति दुल्लू नगरपालिका–३, नेपा भन्ने ठाउँमा १८ वर्षीय तपेन्द्र खनाल रहेको पत्ता लाग्यो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक किशोर लम्सालले ती व्यक्तिलाई तत्काल पक्राउ गरिएको बताए । खनालले आफ्नो फेसबुकमा आफूलाई पत्रकारका रुपमा चिनाएका छन् ।

प्रहरी नायव उपरीक्षक लम्सालले खनाललाई बिहीबार पक्राउ गरिएको बताए । ‘हामीले रितपूर्वक पक्राउ गरी यस कार्यालयको हिरासत कक्षमा राखेर झुठा अफवाह फैलाउन नहुने कसुरमा मुद्दा दर्ता गराएका छौँ,’ उनले भने, ‘पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढिरहेको छ ।’

उनका अनुसार ‘हाम्रो दैलेख’ पेजबाट अफवाह फैलाउने व्यक्तिको पनि खोजी कार्य भइरहेको छ । साइबर ब्यूरोसँग समन्वय गरेर अनुसन्धान भइरहेको उनले रातोपाटीलाई बताए ।

‘पक्राउ परेका व्यक्तिले पेजमा मोबाइल नम्बर राखेको थियो,’ उनले भने, ‘हामीले फोन गर्दा दुल्लूमै रहेछ ।’

उनका अनुसार यी पेज कुनै पनि दर्ता भएका छैनन् । लम्साल एक्कासी प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई जोडेर भ्रमपूर्ण सामग्री फैलाइएको विषयले प्रहरीलाई समेत तनाव दिइरहेको बताउँछन् ।

‘सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ, यस्ता खालका फेक समाचारले गर्दा समाजमा सन्देश पनि राम्रो जाँदैन, पक्राउ गरेर कारबाही गरेपछि सचेत रहन्छन्,’ उनले भने, ‘फेक कुराहरु सामाजिक सञ्जालमा लेखेको खण्डमा कारबाही हुने रहेछ भन्ने थाहा हुन्छ ।’

प्रहरीकाे विज्ञप्ति

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप