आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

विराटनगर हब अन्तरविद्यालय महिला क्रिकेटको उपाधि सरस्वती स्कुललाई

आइतबार, २० फागुन २०८०, १७ : ३२
आइतबार, २० फागुन २०८०

काठमाडौँ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा सम्पन्न ‘दोस्रो विराटनगर हब अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिता’ को उपाधि सरस्वती स्कुलले जितेको छ । सरस्वती स्कुल प्रतियोगिताको साविक उपविजेता हो ।

विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सरस्वती स्कुलले आर्दश वालिका स्कुललाई ७४ रनको फराकिलो अन्तरले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाई एक सय ४३ रन बनाएको थियो ।

सरस्वती स्कुलका लागि प्लेयर अफ दी म्याच घोषित प्रेरणा पासवानले  ७२ रनको योगदान गरिन् । कृतिसा धामीले पनि १७ रन बनाइन् । आदर्श वालिकाकी बलर कञ्चन राय, सिमा राय र सिम्रिका राजवंशीले एक–एक विकेट लिए ।

जवाफी ब्याटिङमा ओर्लिएको आर्दश वालिकाले १५.२ ओभरमा अलआउट हुनुअघि ६९ रनमात्र बनाउन सक्यो । वालिकाका कुनै पनि ब्याट्रले दोहोरो अंकमा रन बनाउन सकेनन् । सरस्वतीकी बलर कृतिसा धामीले चार विकेट लिइन् । पूर्णीमा राजवंशी र अञ्जली मण्डलले पनि एक–एक विकेट लिए ।

प्लेयर अफ दी सिरिजको पुरस्कार सरस्वतीकी कृतिसा धामीले पाइन् । आर्दश वालिकाकी सकुन्तला सहनी उत्कृष्ट ब्याट्र र सरस्वतीकी चाँदनी यादव उत्कृष्ट बलर घोषित भइन् । विजयी टोली तथा खेलाडीलाई विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निरला कार्की, नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविषेक श्रेष्ठ, क्रिकेट विथआउट वाउण्ड्रीका सार वेगलगायले पुरस्कार वितरण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप