शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले नै सिँचाइ योजना तुहाउन खोजेपछि उपभोक्ता आक्रोशित, बनाए सङ्घर्ष समिति

बुधबार, २३ फागुन २०८०, ०८ : ५७
बुधबार, २३ फागुन २०८०

धनगढी । विभिन्न बहानामा करोडौं बजेटको सिँचाइ योजना तुहाउन खोजिएपछि उपभोक्ताहरू विरोधमा उत्रिएका छन् । उपभोक्ताहरूले योजना निर्माणमा दबाब दिनंसंघर्ष समिति नै बनाए छन् ।

कैलालीको कैलारी गाउँपालिका २ स्थित गुरगी सिँचाइ योजना निर्माणमा सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले बहानाबाजी गर्न थालेपछि स्थानीय उपभोक्ताहरू सङ्घर्षमा उत्रिएका हुन् ।

उनीहरू कैलारी गाउँपालिका वडा नं. ७ का पूर्व वडाध्यक्ष कमल प्रसाद चौधरीको संयोजकत्वमा ९ सदस्यीय सङ्घर्ष समिति नै बनाएका हुन् । जसको सदस्यमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, गाउँका बरघर, भलमन्सा, गुरगी बाँध सिँचाइ जल उपभोक्ता संस्थाको प्रतिनिधि, टेंढी सिँचाइ योजना जल उपभोक्ता संस्थाका प्रतिनिधिसहित रहेका छन् ।

बहुवर्षीय योजनाको रूपमा लिइएको सो योजना निर्माणको लागि चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट १२ करोड बजेट विनियोजन गरिएको छ । जसको लागि ठेक्का आह्वान गर्न बाँकी छ ।

तर निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको बेला पानीको मुहानको स्रोत सुनिश्चितको बखेडा झिकेर प्रक्रिया नै रोक्न खोजिएपछि स्थानीय उपभोक्ताहरू आक्रोशित भएका हुन् ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कैलालीले प्रस्तावित गुरगी सिँचाइ योजना भन्दा करिब ४ किलोमिटर माथि सोही कटैनी नदीमा बनेको अर्को टेंढी सिँचाइ योजनासँग सहमति लिनुपर्ने र नदीमा पानीको स्रोत सुनिश्चितता नै नभएको भन्दै प्रक्रिया नबढ्ने अडानमा थियो । त्यसको प्रतिवादमा आमउपभोक्ताहरु उत्रिएको गुरगी बाँध सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष भीष्मराज चौधरीले बताए ।

त्यस्तै, टेंढी सिँचाइ योजना जल उपभोक्ता संस्थाका उपाध्यक्ष वसन्त चौधरीले दुई योजनाबिच कुनै विवाद नरहेको र आफू गुरगी योजना निर्माणमा सहयोग गर्न तत्पर रहेको स्पष्ट पारे ।

त्यस्तै, योजना निर्माणमा कैलारी गाउँपालिकाले व्यवस्थापकीय सहयोग गर्ने भएको छ । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले योजनाको निर्माणको प्रक्रियागत तथा व्यवस्थापकीय सहयोग गर्ने बताए ।

संविधान सभा सदस्य तथा कैलाली क्षेत्र नं. ३ (क) का पूर्व सांसद वीरमान चौधरीले सो क्षेत्रमा सिँचाइको कुनै विकल्प नरहेकोले योजना बन्नुको विकल्प नरहेको बताउँछन् । उनले ६ हजार बढी किसानको भविष्यसँग योजना जोडिएको बताउँदै उनले पछिल्लो समय केही व्यक्तिहरुले सो योजना फेलर योजनाको रूपमा उपल्लो निकायमा बिफ्रिंग गरेर योजना तुहाउने खेलमा लागेको त्यसको प्रतिवाद जनस्तरबाट गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, कैलाली क्षेत्र नं. ३ (क) का सांसद घनश्याम चौधरीले सो योजना निर्माणले मात्रै कृषि क्षेत्रको विकास तथा जनस्तर उकास्न सकिने भएकोले आफु योजना निर्माणको लागि पहल गर्दै आएकाले विद्यमान समस्या हलको लागि सङ्घर्ष गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप